नेपालगन्जमा यसियन पेन्टस च्याम्पियन कप यु–१८ अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै
Thursday, September 3rd, 2026, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ भदौ
नेपालगन्जमा विद्यालय तहका युवा फुटबल प्रतिभालाई लक्षित गर्दै ‘‘यसियन पेन्टस च्याम्पियन कप यु–१८ अल नेपाल इन्टर–स्कुल फुटबल च्याम्पियन’’ आयोजना हुने भएको छ ।
नेपालगन्ज–११ स्पोर्टिङ क्लबको समन्वय तथा यसियन पेन्टसको मुख्य प्रायोजनमा आयोजना हुन लागेको प्रतियोगिता द हिमालयले आयोजना गर्न लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन २०८३ भदौ २२ गते बिहान ७ बजे नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुनेछ । यसअघि भदौ १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण समयतालिका परिवर्तन गरी भदौ २२ गतेदेखि सञ्चालन गर्न लागिएको जनाइएको छ ।
विद्यालय तहमा फुटबल खेलको विकास गर्ने, युवा प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्ने र खेलाडीमा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । त्यस्तै, खेलकुदमार्फत विद्यार्थी तथा युवा खेलाडीमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकासमा समेत सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी खेलाडी, विद्यालय, प्रशिक्षक तथा आयोजकलाई थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोट्र्स कोअर्डिनेटर घनश्याम थापाले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई निमन्त्रणा गरेका छन् ।
विद्यालयस्तरबाटै नयाँ फुटबल प्रतिभाको खोजी र विकास गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यसियन पेन्टस च्याम्पियन कप यु–१८ प्रतियोगिताले नेपालगन्जको खेलकुद क्षेत्रमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ ।