नेपालगन्जमा एसियन पेन्टस च्याम्पीयन्स कप यु–१८ सुरु, उद्घाटन खेलमै युनाइटेडको फराकिलो जित
Monday, September 7th, 2026, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ भदौ
नेपालगन्जमा विद्यालयस्तरीय फुटबलको माहोल तताउँदै एसियन पेन्टस च्याम्पीयन्स कप यु–१८ अल नेपाल इन्टर– स्कुल फुटबल च्याम्पीयन्स आजदेखि औपचारिक रूपमा सुरु भएको छ । महेन्द्र रंगशालामा आयोजित समारोहमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरख बहादुर थापाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नेपालगन्ज–११ स्पोर्टिङ क्लबको समन्वय तथा एसियन पेन्टस को मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन समारोहमा क्लबका स्पोट्र्स कोअर्डिनेटर घनश्याम थापा, फुटबल प्रशिक्षक, विभिन्न विद्यालयका प्रतिनिधि, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।

…………………..
विद्यालय तहबाटै फुटबल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटनसँगै महेन्द्र रंगशालामा युवा खेलाडीको जोश र प्रतिस्पर्धा देखिएको छ । प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन भएको उद्घाटन खेलमा युनाइटेड एजुकेशनल एकेडेमीले सिद्धार्थ विद्याशदन, फुल्टेक्रामाथि ५–० को शानदार जित हात पारेको छ । युनाइटेडको जितमा जर्सी नम्बर ९ का प्रसिद्ध कँडेल नायक बने । उनले खेलको ३२औँ, ३९औँ, ४१औँ र ६४औँ मिनेटमा गरी व्यक्तिगत चार गोल गरे। त्यस्तै, जर्सी नम्बर १० का शैलेन्द्र बीसीले ५०औँ मिनेटमा एक गोल थपे ।

……………….
उद्घाटन खेलमै पाँच गोलको फराकिलो जित निकाल्दै युनाइटेड एजुकेशनल एकेडेमीले प्रतियोगितामा दमदार सुरुवात गरेको छ ।
त्यसैगरी, प्रतियोगिताको दोस्रो खेलमा जेनिथ इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले अरुणोदय माध्यमिक विद्यालयलाई २–० गोलले पराजित गरेको छ । जेनिथका जर्सी नम्बर ६ का कवि रावतले २४औँ मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । खेलको ५४औँ मिनेटमा जर्सी नम्बर ८ का सुवास बीसीले दोस्रो गोल गर्दै जेनिथको जित सुनिश्चित गरे ।
प्रतियोगितामा विभिन्न विद्यालयका १८ वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाइरहेका छन् । युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै उनीहरूको प्रतिभा राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोट्र्स कोअर्डिनेटर घनश्याम थापाले बताए ।
प्रतियोगिताको पहिलो दिनका खेलले नै युवा खेलाडीको उत्साह, प्रतिभा र प्रतिस्पर्धाको स्तर देखाएको छ । नेपालगन्जमा जारी प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई थप चलायमान बनाउने र आगामी दिनमा नयाँ फुटबल प्रतिभा जन्माउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।