सिद्धार्थको खाना क वर्गमा निर्धारण
Wednesday, September 9th, 2026, 7:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ भदौं
सिद्धार्थ कटेज नेपालगन्जको खानालाई अतिउत्तम स्तर प्रमाणपत्र प्रदान गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको ३ सदस्यीय खाद्य प्राविधिक टोलीले कटेजमा भान्सामा खाना तयार पार्दा अपनाएका स्वच्छताका मापदण्डहरुको स्थलगत अनुगमन गरेर खानालाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।
खाद्य स्वच्छतामा स्तरीकरणका लागि भान्साको सरसफाइ र फोहर व्यवस्थापन, भान्सामा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको, खाद्य सामाग्रीहरु ताजा र विषादी रहित भए नभएको खानाका परिकारहरु तयार भएपछि ती खानाहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको, फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सूचांकहरु राखिएको छ ।
अनुगमन टोलीले तिनै सूचांक अनुसार सिद्धार्थ कटेजलाई ९० अंक सहित तीन तारा क सहित अति उत्तम स्तरीकरणको वर्गीकरण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत एवं सूचना अधिकारी रामहरि लामिछानेले बताउनु भयो । तीन तारा क सहित अति उत्तम स्तरीकरणको वर्गीकरणमा पर्ने सिद्धार्थ कटेज नेपालगन्जको पहिलो रेष्टुरेन्ट भएको कटेजका प्रबन्धक सीताराम पोखरेलले दाबी गर्नु भएको छ ।
विगत २५ वर्षदेखि सञ्चालन हुदै आएको सिद्धार्थ कटेज नेपालगन्ज सिद्धार्थ गु्रपकै पहिलो कटेज हो । करिब १० करोड लगानी रहेको सिद्धार्थ कटेज ३० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । कटेजमा ३ सय जनालाई एक साथ खाना र खाजा खुवाउन सक्ने क्षमताको रेष्टुरेन्ट रहेको छ । त्यसै गरी पार्टी तथा विशेष समारोहका अवसरमा एक साथ ५ हजार जनालाई सेवा प्रदान गर्ने क्षमता रहेको छ । कटेजमा १ हजार क्षमताको एउटा, ३ सय क्षमताको ३ वटा हलका साथै साना ठूला गरी ८ वटा रेष्टुरेन्ट हलहरु रहेका छन् ।