युरोकपको क्वाटरफाइनल आजदेखि
Friday, July 2nd, 2021, 8:20 am
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १८ असार
दुई दिन विश्रामपछि युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएको दुई दिनपछि आज दुई क्वाटरफाइनल खेल हुन लागेका हुन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।
स्वीट्जरल्याण्ड र स्पेन बिचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । स्वीट्जरल्याण्ड पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको हो भने स्पेन सर्वाधिक ३ पटकको विजेता हो ।
प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो भने स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५-३ ले पराजित गरेको थियो । स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।
स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो । स्पेन सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन हो भने २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।
बेल्जियमले इटली बिचको खेल राति १२ः४५ बजे जर्मनीको म्युनिखमा हुनेछ । दुवै टोली अहिलेसम्म अपराजित रही क्वाटरफाइनल पुगेका छन् । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ ।
लगातार ३१ खेलमा अपराजित इटलीले पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि लगातार ११ खेलमा क्लिनसिट राखेको थियो । समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो । पाच वर्षअघि फ्रान्समा भएको युरोमा भने इटली क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
यस्तै विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । बेल्जियमको अहिलेको टोलीलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर केही जित्न सकेको छैन । उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
बाँकी दुई क्वाटरफाइनल खेल शुक्रबार हुनेछन् । जसमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।