‘वडालाई उप-महानगरको दाँजोमा पुर्याउन लागिपरेका छौँ’
Friday, July 2nd, 2021, 10:00 am
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर १७ साविकको परशपुर गाविस क्षेत्र हो । २०७३ सालमा उप-महानगरपालिकामा गाभिएको उक्त क्षेत्रमा विकासका पूर्वाधारहरु निर्माणको चरम आवश्यकता थियो भने सामाजिक विकासको पाटो पनि त्यत्तिकै पिछडिएको थियो । उक्त वडालाई उप-महानगरपालिकाका अन्य वडाको दाँजोमा पुर्याउने जिम्मेवारी जनाताले वडाध्यक्ष अजय कुमार पाठकलाई दिएका थिए । यसै सन्दर्भमा विगत ४ वर्षमा नेपालगन्ज वडा नम्बर १७ मा वडा तहबाट भएका कामका विषयमा अध्यक्ष पाठकसँग गरिएको कुराकानीः
वडाध्यक्षको रुपमा ४ वर्ष कस्तो रह्यो ?
संघीय व्यवस्था हामी सबैका लागि नयाँ थियो । यतिबेला व्यवस्था परिवर्तनसँग काम गर्ने शैली र प्रकृयामा पनि थुप्रै परिवर्तन भए । ४ वर्षमध्ये पहिलो वर्ष हामी सबैलाई बुझ्नमै लाग्यो । विस्तारै विस्तारै बुझ्दै गयौँ । धेरै ऐन नियम परिवर्तन भए । केही कुरा नबुझेपछि आफूभन्दा माथिल्लो निकायमा बुझ्नुर्पे अवसथा पनि आयो । हामीलाई केही समय कर्मचारी साथीरुले नै गाइड गर्नुभयो । यो ४ वर्षमा मलाई लागेको के भने, धेरै ऐन नियमहरुबनाइएको छ । तर यी ऐन नियमहरु पनि कहिँ न कहीँ बाझीकएका छन् । तीन तहका सरकारका ऐन नियमहरुमा अझै एकरुपता आउन सकेको छैन । सुरुमा गाउँ-गाउँमा सिहंहदरबार त भनियो । हामी निर्वाचित भएर आउँदा कर्मचारीको अभाव थियो । संरचनाको अभाव थियो । तर सुरुका वर्षमा सबै कामका लागि माथिकै भर पर्नुपर्यो । करिब दुई वर्षपछि कर्मचारी र संरचनाका अभावहरु कम हुँदै गए । हामीले पनि बुझ्दै गयौँ । आफ्नो तर्फबाट पहल पनि गर्यौँ । अहिले पनि केही कर्मचारीहरु पर्याप्त छैनन् । एकजना लेखापालले २-३ वडाको काम हेर्नुपरिरहेको छ । यी चारै वर्ष हामी सबैका लागि चुनौतिका वर्ष रहे । एकातिर जनताको ठूलो अपेक्षा । अर्कोतिर स्रोतको अभाव । मेरो वडामा विशेषगरी सडक र ढलको अवस्था खराब थियो । मैले जनतासामू गरेको वाचा र काम अनुसार म सन्तुष्ट छु । मैले इमान्दारितापूर्वक काम गरेँ । जनताका गुनासाहरु रहे होलान् तर अवरोध कतैबाट भएन । समग्रमा यो अवधि सन्तोषजनक रह्यो ।
के-के काम गर्नुभयो वडामा ?
सबैभन्दा पहिला त वडा नम्बर १७ साविकको गाविस हो । २०७३ सालमा यो उप-महानगरपालिकामा जोडिएको थियो । उप-महानगरपालिकामा गाभिएपनि यहाँ र अन्य वडामा विकासको अवस्था आकाश जमिनको फरक थियो । बाटो र ढलनिकासकै व्यवस्था राम्रो हुन सकेको थिएन । वडावासीहरु ढल थुनिएर एक आपसमै लडाईं झगडा गरिरहेका हुन्थे । मैले पहिलो प्राथमिकता यही ढलनिकासलाई दिएँ । अहिले महसुस हुनेगरी उक्त समस्या समाधान भएको छ । त्यसपछि बाटोलाई प्राथमिकता दिएँ । त्यसपछिको प्राथमिकता बाटोलाई दियौँ । वडामा पाँच सय मिटर सडक कालोपत्रे गरियो भने करिब ५ किलोमिटर पिसिसि गरियो । अन्य सडकहरु स्तरोन्नती र ग्राभेल गरियो । सडकमा अझै कतिपय महत्वपूणर् बाटोहरु बनाउनै बाँकी छ । जस्तै परशपुरदेखि आदर्शनगर, नन्दईगाउँदेखि थुकैला, नन्दईगाउँदेखि साईंगाउँ, ढोडैगाउँदेखि कर्मोहना, परशपुरदेखि कर्मोहना लगायतका बाटोहरु अत्यावश्यक छन् । तर ती बाटोहरु निर्माण गर्न बजेट पनि ठूलो चाहिन्छ । ती बाटोहरुलाई कि उप-महानगरपालिकाले कि माथिल्ला सरकारले बजेट छुट्याइदिनुपर्छ । यसका यी मुख्य बाटोबाहेक भित्री बाटोहरु लगभग ८० प्रतिशत बनिसके । भित्रि गल्लिहरु पनि ४ मिटरभन्दा कम फराकिलो बनाएका छैनौँ । अब करिब एक किलोमिटर भित्रि गल्लिहरु स्तरोन्नती गर्नु बाँकी होला भन्ने मेरो अनुमान छ ।
यसका साथै पछाडि परेका नागरिकहरु लक्षित कार्यक्रमहरु सन्चालन गरिए । ब्युटिपार्लर, ममबत्ति, सिलाईकटाई लगायतका तालिमहरु दिइयो । जनचेतनाका कार्यक्रमरु पनि सन्चालन गरिए । ह्याण्डपम्प वितरण पनि गरियो । एकवर्ष २०, अर्कोवर्ष ३० घरपरिवारलाई ह्याण्डपप्प वितरण गरियो । यसवर्ष थप ८२ परिवारलाई वितरण गर्दैछौँ ।
यस्तै हाम्रो वडामा कृषि क्षेत्र बढी भएको वडा हो । त्यसकारण किसानलाई बिजुलीको तार र पोल पनि व्यवस्था गरियो । सरसफाईको विषयमा पनि काम गरियो । खुला दिशामुक्त अभियानलाई सफल बनाउन पनि काम गरियो । स्थानीयहरुलाई निःशुल्क रिङ र शौचालय निर्माण समग्रीहरु वितरण गरियो । शौचालय बनाउनै नसक्ने परिवारलाई ८० प्रतिशत अनुदानमा शौचालय बनाउन लगाइयो । विद्यालयलाई पनि सहयोग गर्यौँ । खेलकुदका क्रियाकलाप पनि वडाकै कार्यक्रमबाट गरियो ।
परशपुर गाविसबाट उप-महानगरपालिकामा जोडिसकेपछि यसलाई अन्य वडाको सन्तुलनमा ल्याउन आवश्यक प्राथमिकता पायो कि पाएन ?
पाएन । मेरो मुख्य जोड त्यसैमा थियो । मैले नगर बोर्ड बैठक र सभाहरुमा यसलाई नै मुख्य एजेण्डा बनाउने गरेको छु । जति गरेपनि प्राथमिकता पाउन गाह्रो हुँदो रहेछ । अन्य वडामा त सानोतिनो बजेटले पनि ठूलो काम देखिने स्थिति छ । हाम्रोजस्तो पछि नगरपालिलकामा गाभिएका वडाहरुमा थोरै बजेटले भ्याउँदैन । फेरि साविकका गाविसहरु कृषि क्षेत्र पनि हुन् । त्यस आधार पनि यी वडाले अरुभन्दा विशेष प्राथमिकता पाउनुपर्ने हो । त्यसकारण मैले आग्रह गर्दै आएको छु यी वडालाई अरुभन्दा बढी प्राथमिकतामा राखौँ भनेर । मेरो उदेश्य भनेको पछि परेका वडाहरु र अन्य वडाहरुको बिचको विकासको अन्तर कम गरौँ भन्ने हो । तर, अझै त्यो अन्तर कम हुन सकेको छैन । हामी यस वडालाई उपमहानगरका अन्य वडाको दाँजोमा पुर्याउन लागिपरेका छौँ ।
वडा कृषिका लागि केही विशेष काम गर्नुभयो ?
कृषिको लागि हाम्रो राम्रो वडा हो । यहाँको ढाडेगाउँ तरकारी खेतीका लागि प्रसिद्ध छ । नगरपालिबाबाटै कृषिमा प्राथमिकतापूर्वक बजेट आएको भए धेरै गर्न सकिन्थ्यो । वडाको सानो बजेट्ले नभ्याउने रहेछ । नगरपालिकाले केही सहयोग गरेको पनि छ । त्यसमा वडाले सम्न्वय गर्दै आएको छ । आगमी वर्ष भने हामीले वडाकै बजेटबाट पनि किसानहरुको आवश्यकतालाई ध्यानमा राखेर प्रभावकारी कार्यक्रम ल्याउँदै छौँ । हामी योजना छनौटकै चरणमा छौँ । विशेषगरी मल, बिउ र पानीको अभाव पुर्ति गर्न वडाले सक्ने सहयोग हामी गर्नेछौँ ।
अरु के-कस्ता योजना आउँछन् आगमी वर्षका लागि?
आगामी अघि भनेजस्तै आर्थिक वर्षमा कृषिका कार्यक्रमहरु प्राथमिता पर्छन् । आवश्यकता हेरेर बोरिङ, बिजुलीको तार पोल लगायतमा सहायता दिने खालका कार्यक्रम ल्याउँछौँ । विद्यार्थीहरुलाई कम्प्युटर तालिम, खेलकुद, युवाक्लब र बालक्लबहरुलाई सहयोग जस्ता कार्यत्रम पनि प्राथमिकतामा पर्छन् । यसका साथै आवश्यकताअनुसार बाटो र ढलनिकासका योजना पनि तय गर्दैछौँ । विशेषगरी प्रत्यक्ष लाभ पाउने कार्यक्रमहरु यसवर्ष हाम्रो प्राथमिकतामा पर्नेछन् ।
वडावासीलाई के भन्न चाहनुहुन्छ ?
चार वर्षमा वडावासीले मलाई सहयोग गर्नुभएको छ । जनताको चाहनाअनुसार नै मैले काम गरेको छु । सबै काममा सबैको चित्त नबुझ्न पनि सक्छ । हामीले इमान्दारितापूर्वक काम गर्ने प्रयास गरेका छौँ । अब हाम्रो कार्यकालको अन्तिम वर्ष बाँकी छ । अहिलेसम्म गरेका अधुरा कामलाई पूरा गर्ने र बजेटले भ्याएसम्मका कार्यक्रमहरु इमान्दारितापूर्वक कार्यान्वयन गर्ने विश्वास दिलाउन चाहन्छु ।