कालपृष्ठ डेस्क नेपालगन्ज, ७ साउन
गायक तथा संगीतकार केशव शर्मा दाहालले आदिकवि भानु भक्त आचार्यको जन्म दिवसको अवसर पारेर ‘भानु तिम्रो रामायणले, मैले राम जाने’ भजन गीतको लोकार्पण गरेका छन् । कनेक्टिकट नेपाली समाजले मनाएको २०८ औं आदिकवि भानु भक्त जन्म जयन्तिको अवसरमा औपचारिक लोकार्पण गरिएको भजन गीतको रचना कवि तथा गीतकार धन लामाले बताएका छन् ।
नेपाली भाषा साहित्यको विकासमा आदिकवि भानु भक्त आचार्यको योगदान अतुलनीय छ । त्यसमा पनि सांस्कृत भाषामा रहेको वाल्मिकी रामायणको नेपाली भाषामा गरेको अनुवादले नेपाली समाजमा अध्यात्मिक जागरणको नयाँ युगको आरम्भ गरेको देखिन्छ । कवि तथा गीतकार लामाको ‘भानु तिम्रो रामायणले’ गीत भजनले सिंगो रामायणको सार बोकेको छ ।
कवि तथा गीतकार धन लामा भन्छन्, ‘गुरु पूर्णिमाको पूर्वसन्ध्यामा भानु जयन्तीको अवसर पारेर सार्वजनिक यो गीत भजनमा राम र रामायण एक बिम्बात्मक प्रयोग हो ।’
गीतमा केशव शर्मा दाहालको संगीत र स्वर रहेको छ । साथै विनुसा राई पनि स्वर रहेको उक्त गीतमा चन्दु गोर्खालीले संगीत सयोजन गरेका छन् ।
गत असार २९ गते एलिजावेथ पार्क, वेष्ट हार्टफोर्ट, कनेक्टिकट अमेरिकामा उक्त गीतको विमोचन गरिएको थियो ।