पौडेल र निर्मोही सम्मानित
Sunday, August 1st, 2021, 11:54 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ साउन
कवि इन्द्रराज पौडेल र वरिष्ठ लोकगायक कमल विके ॅनिर्मोही’ यस वर्षको प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार तथा सम्मानबाट सम्मानित भएका छन् ।
गीतकार, गायक, सङ्गीतकार, तथा कवि स्व.प्रेम प्रकाश मल्ल ‘मधुकर’को ८६ औं जन्मजयन्तीको अवसरमा निर्मोही र पौडललाई संयुक्त रुपमा २५ हजार १ सय ११ नगद राशिको पुरस्कार प्रदान गरिएको हो ।
कवि पौडेलले आधादर्जन बढी कवितासंग्रह प्रकाशित गरिसकेका छन् भने गायक निर्मोहीले डेढ सय लोकगीतहरु रेडियो नेपालमा रेकर्ड गराएका थिए । पौडेल अवकाश प्राप्त शिक्षक हुन् भने निर्मोही अवकाशप्राप्त रेडियो नेपालका कर्मचारी हुन् । पौडेल अवकाशपछिको जीवनमा कविता लेखनमा सक्रिय भएका छन् । उनको कलम खण्डकाव्यमा प्रखर रुपमा चलिरहेको छ । निर्मोही नेपालगन्जमा व्यवसायीक रेकर्डिङ स्टुडियो सन्चालन गरिरहेका छन भने विभिन्न सन्चार माध्यममा पनि सक्रिय र अभिभावकीय भूमिका निभाउँदै आएका छन् ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्जको आयोजना तथा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव साहित्यकार सनत रेग्मीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । पुरस्कार संस्थापक वाणीश्री मल्ल तथा बखत मल्लले स्थापना गरेको सो पुरस्कार कोषमा दुइ लाख रुपैयाँ थप गरी कोषको रकम ३ लाख चालिस हजार पुराईएको छ । संस्थापकहरु स्व. मल्लका छोरी ज्वाईं हुन् ।
कार्यक्रममा साहित्यकार महानन्द ढकालले स्वर्गीय मल्लको व्यक्तित्व र कृतित्वको स्मरण गरे । उनले मधुकरमा बहुप्रतिभाशाली व्यक्तित्व रहेको बताए । जीवनको उत्तराद्र्धमा अनेक पीडा व्यहोरेका मल्ल सिद्धान्तले नभई अनुभूतिले प्रेरित भएर सृजना गर्ने स्रष्टा रहेको ढकालको भनाइ थियो ।
स्वर्गिय मल्लले कविता, गीत, गजल, हाइकु, मुक्तक तथा निबन्ध विधामा कलम चलाएका थिए । उनी एक अब्बल गायक एवं संगीतकार समेत थिए । उनका ‘पोखरा त साँच्चिकैको पोखरा नै रैछ’, ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ लगायतका गीतहरु लोकप्रिय छन् ।