दाङ बन्दै वन्यजन्तु तस्करीको ट्रान्जिट
Friday, August 6th, 2021, 9:39 pm
Kalpristha
लिलाधर वली
दाङ, २२ साउन
साउनको ५ गते घोराही उप-महानगरपालिका-४ भकारेमा बदेल मारेको आरोपमा पाँचजना पक्राउ परे । पक्राउ परेका उनीहरु एक लाख ४० हजार धरौटी तिरेर तारेखमा छुटिसकेका छन् । बदेल मारेको आरोपमा एकजना महिलासहित चारजना पुरुष पक्राउ परेका थिए । पक्राउ परेकामध्ये महिलालाई २० हजार र पुरुषहरु ३०-३० हजार रुपैयाँ धरौटी तिरेर छुटेका हुन् ।
त्यस्तै साउनको ९ गते संरक्षित वन्यजन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परे । बबई गाउँपालिकाको हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ४९७ नम्बरको एम्बुलेन्स तुलसीपुर उप-महानगरपालिका-८ गहते खोला नजिक चेकजाँच गर्ने क्रममा प्रहरीले दुई थान जरायोको सिङसहित तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
यी प्रतिनिधिमूलक घट्नाहरु हुन् । डिभिजन वन कार्यालय दाङका अनुसार साउन महिनाको २० गतेसम्म वन्यजन्तु चोरीसिकारी तथा ओसारपसारमा संलग्नमा सम्बन्धी चारवटा घट्नाहरुमा ११ जना पक्राउ परेका छन् । यसअवधिमा दाङमा चितुवाको छालासहित एकजना, जरायोको दुई थान सिंगसहित तीनजना, रेडपाण्डाको छालासहित एकजना र बदेलको मासुसहित पाँचजना पक्राउ परेका छन् । उनीहरुलाई डिभिजन वन कार्यालय घोराहीको वन रक्षकहरुको टोली र नेपाल प्रहरीको टोलीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृतसमेत रहेका प्रवक्ता खिमबहादुर केसीले जानकारी दिएका छन् । उनले दाङ जिल्ला वन्यजन्तुको चोरी सिकारीका दृष्टिले पछाडि रहेपनि वन्यजन्य चोरीसिकारी तथा ओसारपसार दृष्टिले ट्रान्जिट पोइन्टका रुपमा रहेको बताए ।
भारतसँग जोडिएका धेरै नाकाहरुसँगै चिनसम्म पुर्याउनका लागि पहाडी जिल्लाका माध्यमबाट सहज भएकाले दाङलाई ट्रान्जिट पोइन्ट बनाएर वन्यजन्तुको ओसारपसार तथा कारोबार हुने गरेको उनले बताए ।
‘दाङमा ठूला जंगली जनावर नभएकाले दाङमै वन्यजन्तुको चोरीसिकारी कमै मात्रमा हुन्छ’, प्रवक्ता केसीले भने, ‘तर बाहिरी जिल्ला तथा भारतमा वन्यजन्तु मार्ने र त्यसलाई बिक्रीका लागि दाङमा आएर डिल गर्ने गरेको अनुसन्धानका क्रममा देखिन्छ ।’ उनले दाङमा बदेल, चित्तल, चितुवा, हुँडार, जरायोलगायत वन्यजन्तु सिकारी तथा तस्करको निसानामा पर्ने गरेको बताए । उनले बाघ, रेडपाण्डालगायत ठूला वन्यजन्तु दाङमा नपाइने भएकाले बाहिरनै मारिने गरिएको बताए । तर पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जका कारण दाङको पश्चिमी क्षेत्रको जंगलमा वन्यजन्तुको चहलपहल बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
डिभिजन वन कार्यालय दाङले गतवर्ष जिल्ला अदालतमा वनजन्तु सम्बन्धी ६ वटा मुद्दाहरु दायर गरेको छ । जिल्लाका विभिन्न स्थानमा पक्राउ परेका अभियुक्तहरुलाई सजायका लागि डिभिजन वन कार्यालय घोराहीले अदालतमा मुद्दा दायर गरेको हो ।
गतवर्ष दाङमा चितुवाको छाला तीनवटा, रेडपाण्डाको छाला दुईवटा, हुडार छाला, पाटेबाँघको छाला १-१ वटा पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार वन्यजन्तु सम्बन्धी फर्र्योट हुन बाँकी दुई वर्ष नाघेका मुद्दाहरु १६ वटा रहेका छन् । १६ मुद्दामा ४० जना प्रतिवादीले मुद्दा खेपिरहेका छन् ।
चीनसम्म तस्करी
संरक्षित वन्यजन्तुको चोरी सिकारीमा छिमेकी देश चीनसम्म हुने गरेको छ । पक्राउ परेका वन्यजन्तु चोरी सिकारी तथा ओसारपसारमा संलग्नहरुको बयानअनुसार अधिकांश वन्यजन्तुको चोरी सिकारी चीनतिरै हुने गरेको पाइने गरेका सहायक वन अधिकृत केसीले बताए ।
धनाड्य व्यक्तिहरुले नेपालमा पनि सजावटका लागि दुर्लभ वन्यजन्तुको छाला, सिङहरु राख्ने गरेपनि अधिकांस बाहिरतिर नै बिक्री हुने गरेको उनले बताए । त्यसमध्ये अधिकांश घरमा सजावट तथा औषधिका रुपमा चीनतिर बढी जाने गरेको बताए ।
‘साना वन्यजन्तुको चोरीसिकारी स्वदेशमै हुने गरेपनि ठुला जनावरको तस्करी चीनसम्म हुने गरेको देखिन्छ’, सहायक वन अधिकृत केसीले भने, ‘चीनमा दुर्लभ वन्यजन्तु नपाइने र यता पाइने भएकाले बढी तस्कारी हुने गर्छहोला ।’ उनले कतिपय जनावरहरु भारतमा मारिने र नेपालको बाटो भएर चीन पुर्याउँदा दाङमा मूल्य गर्दागर्दैसमेत पक्राउ पर्ने गरेको बताए ।