मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त
Tuesday, August 10th, 2021, 8:39 pm
Kalpristha
कालपृष्ठ डेस्क
सुर्खेत, २६ साउन
मंगलबार मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त बनेको छ । आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच मंगलबार साँझ झडप हुँदा अखिल (क्रान्तिकारी)मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायतका ७ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । यसैगरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते हुनेमा राज पौडेल, टिआर शर्मा, झक्क शाहीलगायत छन् ।
यसैगरी दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत,गोविन्द सिजापती, तेज बहादुर बम,रोशन मिश्र, सन्देश थापासहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मध्यपश्चिम विश्वविद्यालयमा स्थापनाकालदेखि नै विभिन्न विवादमा पर्दै आएको छ । विश्वविद्यालयमा कहिले पदाधिकारी, प्राध्यापक, कर्मचारी विवादमा तानिँदै आएका छन् भने कहिले प्राध्यापक, विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।
पछिल्लो समय विश्वविद्यालयमा आन्दोलनका कार्यक्रम दिनहुुँ भइरहेको छ । अहिले प्राध्यापक र विद्यार्थीले आ-आफ्ना विभिन्न मागहरू राखेर आन्दोलन गरिरहेका छन् । मागप्रति विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीहरूका आ-आफ्नै अडान छन् । विश्वविद्यालय पदाधिकारीले प्राध्यापक र विद्यार्थीले राखेका कतिपय मागहरू जायज नभएकाले सम्बोधन गर्न नसकिने अडान राख्दै आएका छन् । खासगरी कारबाही गरिएका प्राध्यापकहरूको कारबाही फिर्ता गरिनुपर्ने र अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने प्राध्यापक र विद्यार्थीको मुख्य माग छ । यी माग पूरा गर्न नसकिने र अन्य मागहरू वार्ताबाट सहमति गरेर अघि बढ्न सकिने विश्वविद्यालयका पदाधिकारीले भन्दै आएका छन् । आन्दोलनरत पक्ष यी दुई मागलाई सम्बोधन गर्नुपर्ने भनेर खरो रूपमा उत्रिएका छन् ।