अमेरिकामा मृत्यु भएकी निशा कार्कीको परिवारलाई ४५ लाख सहयोग
Monday, February 6th, 2017, 11:00 am
amit
(फोटोमा मृतक निशा)
टेक्सास- अमेरिकाको ओक्लोहोमामा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ । नेपाली समाज टेक्सासबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दिपक गिरीले उक्त सहयोग रकमको चेक स्व कार्कीकी आमा कल्पनालाई हस्तान्तरण गर्नुभयो । अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी कार्कीको गत नोभेम्बर १६ (मङ्सिर १) गते हृदयाघातका कारण मृत्यु भएको थियो ।
उनी एक मात्र छोरी हुन् । सानै उमेरमा बुबा गुमाएकी थिइन् । कार्कीको निधनलगत्तै दुई हप्ताको अवधिमा नेपाली समुदायबाट करिब ८० हजार डलर सङ्कलन गरिएको र बाँकी उनी अध्ययनरत युनिभर्सिटीका एक हजार २८४ विद्यार्थीमार्फत रकम सङ्कलन भएको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । सो अवसरमा सिँचाइमन्त्री गिरीले नेप्लिज सोसाइटीले नेपालीको पीडामा सहयोगका साथै अमेरिकामा नेपाली संस्कृति संरक्षण, शैक्षिक प्रवद्र्धनमा खेलेको भूमिकाको सराहना गर्नुभयो ।
उहाँले अमेरिकामा मात्र नभई धेरै मुलुकमा विभिन्न सिलसिलामा जाने नेपालीमाथि यस्ता दुःखद् र पीडादायी घटना हुने गरेको र त्यहाँस्थित नेपाली राजदूतावासले समन्वय र प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सोसाइटीका अध्यक्ष कृष्ण लामिछानेले एक वर्षको अवधिमा अमेरिकामा १२ जना नेपालीको निधन भएको र यो अवधिमा अमेरिकास्थित नेपाली राजदूतावासले कुनै समन्वय र सहयोग नगरेकामा दुःखेसो पोख्नुभयो ।
सो अवसरमा पीडित परिवारलाई सहयोग रकम जुटाउन महत्वपूर्ण भूमिका खेल्नु हुने नेपाली समाज टेक्सास अध्यक्ष लामिछाने र महासचिव कमल सत्याललाई ट्रस्टको तर्फबाट सम्मान गरिएको थियो ।