सयौँ मधेशी र मुस्लिम समुदायका महिलाहरुले सवेनूरसँगै ब्यूटीसियन तालिम लिएका छन् । तीमध्ये एक दर्जनभन्दा बढी व्यवसायिकरुपले अघि बढिसकेका छन् । व्यवसाय नै सुरु गर्न नसक्ने वा त्यसको छुट नपाउनेहरु पनि गाउँघरमा एकअर्काको मेकअप गर्नलाई भएपनि ब्यूटीसियन सीप सिकिरहेका छन् ।
भिडियोमा :
वीरेन्द्र जैसी नेपालगन्ज, ३ भदौ
पिता मोहम्मद उमर फरुकी अर्थात् नेपालगन्जमा नाम कहलिएका शायर आदिल फारुकी । उनको सोच नै तत्कालिन आम सामाजिक सोचभन्दा उन्नत थियो । उनी छोराछोरीलाई सम्झाउँदै भन्थे, ‘आफूलाई मन लागेको सीप सिक । मन लागेको काम गर । तर गलत काम नगर ।’ फारुकीको यो अर्ती छोराका लागि मात्रै थिएन छोरीका लागि पनि थियो । फारुकीले छोरीहरुलाई भन्थे, ‘तिमिहरुले बुर्का पनि पहिरिनु पर्दैन ।’
छोरीहरुलाई धेरै स्वतन्त्रता नदिइने अवस्थामा फारुकीले सबै छोरीलाई उच्च शिक्षा पढाए । जेठी छोरी र कान्छी छोरी नर्स बनिन् । जेठी छोरी हाल नेपालगन्ज मेडिकल कलेजमा कार्यरत छिन् । अर्की छोरी लक्ष्मणपुरमा कार्यरत छिन् । भाइले फर्मेसी पढिरहेका छन् । माईली छोरी सवेनूर खानले बिएसम्म पढिन् । दिदीबहिनी र भाइहरु घरमा बस्न नपाउने र बुवा आमाको देहान्त भएपछि सवेनूरले भने घरको जिम्मेवारी उठाइन् ।
पिताको सोचबाट सानैदेखि संस्कारित सवेनूरलाई उनको समुदायका अन्य महिलाजस्तै पढेर पनि घरमै सीमित रहेर बस्न मन लागेन । उनले त्यतिबेला मुस्लिम समुदायले सहर्ष नस्वीकार्ने ब्यूटीसियन सीप सिकिन् । अधिकांश मुस्लिम महिलाहरुलाई बुर्काबिना घरबाहिर निस्कन स्वतन्त्रता नभएको अवस्थामा ब्यूटीपार्लरमा गएर मेकअप गर्नु धेरै परको कुरा । अझ त्यसैलाई पेशाको रुपमा अपनाउनु झन् टाढाको कुुरा । तर सवेनूरको परिवारको सोचाई फरक थियो । परिकारका सबै सदस्य शिक्षित थिए । सबैले उनलाई साथ दिए । समाजले भने त्यसलाई राम्रो मान्ने कुरै भएन । तर उनले समाजको धारणालाई बाधक ठानिनन् । ‘समाजले त के-के भन्छ, भन्छ नि । अरुका कुरा सुन्नतिर लाग्यो भने त केही पनि गर्न सकिँदैन,’ सवेनूर भन्छिन् ।
उनले एक वर्ष सीप सिकेकै पसलमा काम पनि गरिन् । सबै सीप सिकिसकेपछि उनले आफ्नै ब्यूटीपार्लर खोल्ने सोच बनाइन् । सोच बनाइरहेकै अवस्थामा उनकी छिमेकी ज्योति पट्टुवासँग भेट भयो । ज्योतिले पनि सवेनूरको सोचमा साथ दिँदै आफूले व्यवसायमा सघाउने वचन दिइन् । त्यहीबेलादेखि जोडिएको सवेनूर र ज्योतिको सम्बन्ध अहिले परिवारजस्तै भइसकेको छ । ‘हामी दिदीबहिनी भन्दिम् या साथी भन्दिम्, एउटै हो,’ ज्योतिले भनिन् ।
सवेनूरले एकलैनीस्थित आफ्नै घरमा ब्युटी पार्लर सुरु गरेको करिब आठ वर्ष भयो । त्यतिबेला मुस्लिम समुदायका महिलाले सन्चालन गरेका ब्यूटीपार्लर नेपालगन्जमा थिएनन् । उनलाई ब्यूटीसियन सीप सिक्न हौस्याउनेमा सबैभन्दा अगाडि उनकी जेठी दिदी थिइन् । सवेनूरले पनि आफ्नो पार्लरको नाम नै दिदीको नामबाट राखिन्, कोहेनूर । सुरुमा सानो पसलबाट सुरु गरिएकोमा बिस्तार गर्दै अहिले कोहेनूर ब्यूटी पार्लर ट्रेनिङ सेन्टरको रुपमा पनि स्थापित भइसकेको छ । व्यवसायमा सवेनूरको परिचय एक कुशल ब्यूटीसियनको रुपमा स्थापित भएको छ । उनले आफ्नो ब्यूटीपार्लर मात्रै नभई विभिन्न संघसंस्थामार्फत पनि तालिम दिँदै आएकी छिन् । व्यवसाय सँगै उनले घरको सबै व्यवस्थापकीय जिम्मेवारी पनि सम्हालिरहेकी छिन् ।
ब्यूटीसियन सम्बन्धी सबै सेवाहरु प्रदान गरिने उनको पार्लरको सेवाबाट प्रभावित भएर एकपटक आईसकेका सेवाग्रहीहरु नियमित सेवाग्राही बन्ने गरेका उनी बताउँछिन् । विशेषगरी मधेशी र मुस्लिम समुदायका महिलाहरु सवेनूरको ब्यूटीपार्लरमा आउँछन् । नेपालगन्जमात्रै नभई गाउँबाट समेत उनीकहाँ सेवाग्राहीहरु सेवा लिन आउँछन् । उनको सीपको चर्चाले काठमाडौंबाटसमेत महिलाहरु यहाँ आएको बेला उनीकहाँ नै पुग्ने गरेको बताउँछिन् । भारतीय सीमावर्ति क्षेत्रका र नेपालगन्जमा नातागोता भएका महिलाहरुसमेत उनीसँग सीप सिक्न आउने गरेका छन् ।
सवेनूरले व्यवसायको माध्यमबाट मधेशी र मुस्लिम समुदायको सोच परिवर्तनमा पनि भूमिका खेलिरहेकी छिन् । ‘अहिले सबैजसो केटीहरुले फेसियल गर्न आउँछन् । कति जानकारी दिएर आउँछन् । कति लुकेर आउँछन् । आजभोली कतिपय पुरुषहरुले नै आफ्नी श्रीमतिलाई लिएर आउन थाल्नुभएको छ । महिला दिदीबहिनीहरु पनि पहिलेजस्तो ब्यूटीपार्लरमा आउन अप्ठ्यारो मान्नुहुन्न,’ सवेनूरले भनिन् ।
सयौँ मधेशी र मुस्लिम समुदायका महिलाहरुले सवेनूरसँगै ब्यूटीसियन तालिम लिएका छन् । तीमध्ये एक दर्जनभन्दा बढी व्यवसायिकरुपले अघि बढिसकेका छन् । व्यवसाय नै सुरु गर्न नसक्ने वा त्यसको छुट नपाउनेहरु पनि गाउँघरमा एकअर्काको मेकअप गर्नलाई भएपनि ब्यूटीसियन सीप सिकिरहेका छन् । ‘सिक्न चाहनेहरु धेरै छन् । तर बाहिर निक्लन सक्दैनन् । घरको परबलम त्यही हो । सिक्न त खोज्छन् । दुई महिना चार महिना सिक्छन् । फेरि घरैमा बस्छन् । कामै गर्न नपाएपनि एकअर्काको त गरिहालम् । त्यस्तो सोचाई हुन्छ,’ सवेनूर भन्छिन् ।
उनी सीप भएर पनि त्यसको व्यावसायिक प्रयोग गर्न नदिने परिवारलाई छोरीबुहारीहरुको ईच्छालाई नमार्न सुझाव दिन्छिन् । सीप भएका महिलाहरुलाई पनि परिवारका सदस्यहरुलाई सम्झाईबुझाई गरेर आफू स्वावलम्वी बन्न उनको सुझाव छ । ‘एकजना वा पुरुषको कमाईले मात्र घर चल्दैन । बाहिर निस्कन नसक्ने हो भने घरमै पनि सीपको उपयोग गर्नुपर्यो,’ उनले भनिन् ।
अधिकांश छोरीहरुलाई अहिलेपनि आफ्नो इच्छाअनुसारको काम गर्न छुट नदिने प्रवृत्ति सवेनूरलाई चित्त बुझ्दैन । उनी आफ्नै उदाहरण दिँदै भन्छिन्, ‘बुवाको हिम्मत, हौसला र परिवारको साथ नपाइदिएको भए म पनि कहाँ यस्तो गर्न सक्थें र ?’ छोरीहरुलाई पढाएर लेखाएर मात्रै नहुने बरु आफै केही गरेर जीवन निर्वाह गर्नसक्ने सीप र अवसर दिइनुपर्ने सवेनूरको धारणा छ ।
व्यवसायमा सेवाग्राहीको सन्तुष्टि र गूणस्तरीय सेवालाई आफ्नो उदेश्य बताउने सवेनूर अहिलेको व्यसायलाई थप सुलभ, गूणस्तरीय र प्रभावकारी बनाउने सोचमा छिन् ।