सटर बन्ने विषयमा स्थानीयको विरोध
Tuesday, August 24th, 2021, 9:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ भदौ
नेपालगन्ज उप-महानगरपालिका-४, सल्यानी बागमा रहेको कब्रस्थानको जग्गामा सटर बनाउन नहुने भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयले कब्रस्थान संचालक समितिले कब्रस्थानको जग्गामा व्यवसायिक प्रयोजनका लागि सटरहरु निर्माण गर्न थालेको भन्दै विरोध जनाएका हुन् ।
समितिले कब्रिस्थानको पूर्वतर्फको रोडमा पक्की सटर निर्माण गर्न थालेको हो ।
समितिले सटर बनाउने भएपछि मंगलबार विरोधका लागि ठूलो मात्रामा स्थानीयहरु उत्रेका थिए । उनीहरुले जग्गा अभावका भएको भन्दै सटर नबाउन समितिलाई दबाब दिएका हुन् ।
नेपाल मुस्लिम समुदायका प्रवक्ता मेराज अहमद हलवाईले कब्रस्थानमा जग्गा अभाव हुँदाहुँदै सटर बनाउनु सहि नभएको बताए । उनले संचालक समितिले सटर भाडाबापत आएको रकम पनि हिनामिना गरेको आरोप लगाए ।
ॅयत्रो वर्र्षदेखि समितिले सटर भाडा दिएको छ । तर कति भाडा आयो कति खर्च गर्यो भन्ने हिसाब नै सार्वजनिक गरेको छैन । सटर भाडाबाट आउने रकम कहाँ जान्छ उहाँहरुले स्पष्टसँग भन्नु पर्छ,’ हलवाईले भने । उनले समितिले मनोमानी गरेका कारण स्थानीयले बाध्य भएर बिरोधमा उत्रिएको उनले बताए ।
हलवाई सटर भाडाबाटै आएको रकमले कब्रस्थान व्यवस्थित गर्न सकिने भन्दै थप सटर बनाउन आवश्यक नरहेको बताउँछन् ।
हाल कब्रिस्थानका ६२ वटा सटर रहेका छन् भने २६ कट्ठामा कब्रस्थान रहेको छ । स्थानीयका अनुसार सटर भाडावापत कब्रस्थानको मासिक आम्दानी तीन लाखभन्दा बढी हुने गरेको छ ।
विरोधमा उत्रिएका स्थानीय अनिस शाहले कब्रिस्थानमा फेरि सटर बनाउन थालेपछि आफूहरु बिरोधमा उत्रिएको बताए । उनले कब्रस्थानका लागि जग्गाकै अभाव भइरहेका बेला त्यसलाई मास्न खोज्नु ठीक नभएको बताए ।
उक्त कब्रिस्थानमा एकलैनी, फुल्टेक्रा, घरवारी टोल, रामनगरलगायत आसपासका मुस्लिम समुदायका मृत्युक व्यक्तिको अन्तिम संस्कार गर्ने स्थान हो । उक्त कब्रस्थानलाई व्यवस्थीत गराउन नेपालगन्ज व्यापारी, नेता तथा संघ-संस्थाले बेलाबेलामा सहयोग पनि गर्दै आइरहेका छन् ।
कब्रिस्थानका उपाध्यक्ष शकिल अहमद जसगढले यहि साताभित्र कब्रस्थानको विषयमा छलफल गरिने र सबै हिसाब जनता सामु राख्ने समितिकोे निणर्य भएको बताएका छन् ।
संघको ध्यानाकर्षण
नेपालगन्ज, ८ भदौ (कालपृष्ठ)-मुस्लिम जनमत संघ, बाँकेले कब्रस्थानको विषयमा आफ्नो गम्भीर ध्यानार्षण भएको जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै कब्रस्थानको आर्थिक अनियमितता, सटर बनाउने कार्यको विरोधलगायत विषयमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद शेषले नेपालगन्जमा रहेका कब्रस्थान, ईदगाह, जामा मश्जिद जस्ता धार्मिक स्थल कुनै समितिको वा समितिमा रहेका सदस्यहरुको पेवा नभएको भन्दै राजनीति नगर्न आग्रह गरेका छन् ।
संघले निकालेको विज्ञप्तिमा ॅधार्मिक आस्थासंग जोडिएका स्थल जस्तै नेपालगन्जमा रहेको कब्रस्थान, ईदगाह र जामा मश्जिद आदिको संरक्षण गर्नु सम्पूणर् मुस्लिम समुदायको कर्तव्य र सरोकारको विषय हो । यस कारण कसैले यो वा त्यो बहाना हस्तक्षेप र समुदायको मन्जूरी बिना त्यहां कुनै कार्य गर्न पाउने छैन । जबकि समुदायकै दानका भरमा यी धार्मिक स्थलहरु चलिरहेछन् । तथापि बिसौं वर्षदेखि कब्रस्थान, ईदगाह र जामा मश्जिदको कुनै आर्थिक लेखाजोखा समुदाय माझ सार्वजनिक गरिएको छैन,’ भनिएको छ ।