स्याल्युट नगरेको भन्दै हवल्दारमाथी कुटपिट
Wednesday, February 8th, 2017, 4:35 am
amit
प्युठान- जिल्लाका प्रमुखहरुलाई अभिबादन (स्याल्युट) नगरेको भन्दै ट्राफिक हवल्दारलाई जिल्ला प्रहरी कार्यालय प्युठानमा बोलाएर कुटपिट गरिएको छ । सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धानका डिएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी ईन्द्रप्रसाद बस्याल चेरनेटाबाट जिल्ला प्रशासनको गाडीमा आउदै गर्दा सवारी चेकजाँचमा बसेका ट्राफिक हवल्दार त्रिचन्द्रबहादुर डिसी अभिवादन नगरेको आरोपमा कुटपिटमा परेका हुन ।
बेलुका इलाका प्रहरी कार्यालय बिजुवारको गाडिमा लगेर जिल्ला प्रहरी कार्यालयमा हत्कडी लगाइ आफूलाइ कुटपीट गरेको हवल्दार डिसीले बताए । ‘साइरन बजाउँदै आएको गाडिलाई पनि देखिनस् भन्दै हत्कडी लगाएर डिएसपी सावले कुटपीट गर्नु भयो,’ हवल्दार डिसीले भने,‘ मलाई गुन्डालाई जस्तै गरियो । नदेखेर अभिबादन नगरेको कुरा बिनय गर्दागर्दै हात खुट्टा बाधेर कुट्नुभयो ।’
स्वाथ्य परिक्षण गरि चार घन्टा बर्दिमै हिरासतमा राखेर छोडेको डिसीले बताए । सधै जिल्ला ट्राफिक कार्यालय देविस्थानमा जानकारी गराएर काममा जाने गरेको डिसीले बताए । कुटपिटमा उनको देब्रे हात मर्केको छ । जिल्ला अस्पताल प्युठानमा मंगलबार एक्सरे गरि प्लास्टर गराएको उनले बताए ।
‘सुरुमा गालामा हिर्काउनुभो,’ उनीसँगै गएका ट्राफिक जवान नारायण चौधरीले भने, ‘पछि तथानाम गाली गर्दै हिर्काउनुभो ।’ उनका अनुसार ट्राफिक क्षेत्रीय कार्यालय मार्फत डिआइजी माधव नेपाललाई कुटपिटको खबर सुनाएपछि बल्ल डिसीलाई नेपालको निर्देशनमा हिरासतबाट मुक्त गरिएको थियो ।
यसबारे जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जितसिह राठौरले धेरै पटक सम्झाउँदा पनि अटेर गरेपछि बोलाएर सामान्य केरकार मात्र गर्न खोजेको बताए । ‘सामान्य केरकार मात्र गर्न खोजेको हो,’ राठौरले भने, ‘बाहनाबाजी बनाएर हात भाचिएको हल्ला भएछ ।’ उनले जिल्लाको चेन अफ कमान्ड नमान्दा हुने समस्याको बारे मात्रै बुझाउन खोजेको जनाए ।