कफीको टेस्ट र क्वालिटीमा सम्झौता नगरिएको बताउने सचिन एकपटक आइसकेका ग्राहक पुनः फर्किएर आउने गरेको बताउँछन् । ‘हाम्रो क्याफे खासमा नियमित ग्राहकहरुकै कारणले चलिरहेको छ । एकपटक टेस्ट गरिसकेपछि उनीहरुलाई फर्केर आउन् भन्ने कुरालाई हामीले मुख्य ध्यान दिन्छौँ,’ उनले भने । दैनिक ४० देखि ५० जना नियमित ग्राहक रहेको उनले बताए ।
भिडियोमा :
विक्रम बुढाक्षेत्री नेपालगन्ज, १० भदौ
त्यतिबेला उनी बिबिए अध्ययन गरिरहेका थिए । केही विषय ‘ब्याक’ लागेपछि उनी त्यसै भौतारिएर हिँडिरहेका थिए । हुन त केही बैंकमा जागिरको अवसर पनि नआएको होइन । तर उनलाई अर्काको आदेश पालन गरेर काम गर्न मन लाग्थेन । ‘म अरुको अण्डरमा बसेर काम गर्न सक्दैन के । मलाई आफ्नै व्यवसाय गर्ने सोच त्यतिबेलैदेखि पलाइसकेको थियो,’ सचिनले भने ।
के गर्ने भन्ने अन्यौलमा रहेको बेला उनले व्यापार गर्ने सोच आफ्ना ‘इन्जिनियर’ दाइ प्रविण श्रेष्ठलाई सुनाए । दाइले पनि सहमति दिएर काठमाडौंमा सीप सिक्न जान भने । सुरुमा आइसक्रिम पाउने क्याफे शैलीकै व्यापारमा उनको ध्यान गयो । तर आइसक्रिमको सीप सिकिरहेकै बेला दाइले कफीको पनि सीप सिक्न भने । उनले करिब १० दिन आइसक्रिम बनाउने सीप र १० दिन कफी बनाउने सीप सिके । क्याफेका बारेमा आइडिया लिए ।
उनले सीप सिकेर आइसकेपछि नेपालगन्जको न्यूरोडमा एक सटरमा २०७६ साल कात्तिक २२ गते ‘ब्ल्यू मिमोसा’ क्याफे सन्चालनमा ल्याए । क्याफेमा उनका दाइले लगानीका साथै अभिभावकीय भुमिका निर्वाह गरे । त्यतिमात्रै होइन, इन्जिनियर रहेका दाइले क्याफेको सम्पूणर् डिजाइन पनि तयार गरिदिए ।
सरुमा करिब २५ लाखको लगानीबाट सुरु भएको उनको क्याफे हाल करिब ६५ लाखको लगानी पुगिसकेको छ । सुरुमा एउटा कोठाबाट सुरु भएको क्याफे अहिले तीनतलामा तीनवटा अलग -अलग कक्षसहित सन्चालनमा छ ।
सुरुमा सचिनको प्राथमिकता कफीमा भन्दापनि आइसक्रिमको ‘फंकी’ नामक ब्राण्डमा थियो । क्याफे सन्चालनमा आएर स्थापित हुने क्रममै कोरोना महामारी आयो । सबै ठप्प भयो । पहिलो लकडाउनपछि उनले कफीको ‘बीन’ नै परिवर्तन गरे ।
सुरुमा कफी बनाउने सीप भएका कर्मचारीहरु काठमाडौंबाट लिएर आएका थिए । उनीहरुको तलब, घरभाडा लगायतका खर्च धान्न उनलाई निकै सकस भयो । त्यसैबेला नयाँ कर्मचारी र आफूले पनि कफी बनाउने सीप सिके ।
सचिनलाई नेपालगन्जमा राम्रो कफी पाउने ठाउँ नभएको महसुस भइरहन्थ्यो । बाहिरबाट आएकाहरुले राम्रो कफी नपाइएको गुनासो सुनिरहेको अवस्थामा क्याफेको संभावना रहेको थाहा पाएको उनी बताउँछन् । उनले आफ्नो क्याफेको विशेषता नै गुणस्तरीय कफी उपलब्ध गराउने ठाउँ भएको बताए ।
हालसम्म ग्राहकबाट एकपटक मात्रै ‘कम्प्लेन’ आएको सचिनले बताए । उक्त ‘कम्प्लेन’पछि कुनै गुनासो आउन नदिनेगरी सेवा सुधार गरेको उनको भनाइ छ । ‘केही काम गरिसकेपछि त्यसको सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आउँछ । तर हामीले आत्तिनु हुन्न भन्ने सोंचेर अघि बढेँ,’ उनले भने ।
अहिले उनको क्याफे पुनः नाफातर्फ उन्मुख छ । सुरुमा एउटा मात्रै कक्ष रहेको उनको क्याफेमा अहिले तीन तल्लामा तीनवटा फरक-फरक कक्षहरु छन् । सबभन्दा तल्लो तलामा केही समय बिताउने ग्राहकहरु बस्छन् । त्यसभन्दा माथिल्लो तलालाई पारिवारिक कक्षका रुपमा व्यवस्था गरेका छन् भने सबैभन्दा माथिल्लो तलामा ॅस्मोकिङ्ग जोन’का रुपमा व्यवस्था गरेका छन् । उनले विशेषगरी युवायुवतिहरुलाई लक्षित गरेर स्पेशको व्यवस्था गरेको बताए ।
कफीको टेस्ट र क्वालिटीमा सम्झौता नगरिएको बताउने सचिन एकपटक आइसकेका ग्राहक पुनः फर्किएर आउने गरेको बताउँछन् । ‘हाम्रो क्याफे खासमा नियमित ग्राहकहरुकै कारणले चलिरहेको छ । एकपटक टेस्ट गरिसकेपछि उनीहरुलाई फर्केर आउन् भन्ने कुरालाई हामीले मुख्य ध्यान दिन्छौँ,’ उनले भने । दैनिक ४० देखि ५० जना नियमित ग्राहक रहेको उनले बताए ।
उनलाई ग्राहकहरुले पनि धेरै आइडिया दिएका छन् । सूरुवातमा कुनै नयाँ चिज तयार गर्दा पहिला आफूले त्यसपछि आउने ग्राहकहरुलाई टेस्ट गराएर उनीहरुबाट प्रतिक्रिया संकलन गरिएको उनले बताए ।
सचिनका बुवा पनि व्यापारकै शीलशीलामा नेपालगन्ज आएका थिए । उनको पुख्र्यौली सम्पत्ति पनि व्यापार सुरु गर्नका लागि पर्याप्त थियो । तर पुख्र्यौली सम्पत्तिबाट भन्दा पनि आफै केही गर्ने उदेश्यले दाई र आफूले नै सबै लगानी जुटाएको उनको भनाइ छ ।
कफीसँगै बेकरीका विभिन्न आइटम, पिज्जा, बर्गर, वाफल, टर्नेडो लगायतका परिकार पनि क्याफेमा उपलब्ध गराइन्छ । सचिनबाहेक ७ जना कर्मचारीहरु क्याफेमा छन् ।
उनको अब लक्ष्य नेपालगन्जमा कफीको असली स्वाद पस्कने रहेको बताउँछन् । नेपालगन्जमा कफी पिउँदै घण्टौँ बिताउन सक्ने एक आकर्षक क्याफे बनाउने सपना साकार पार्दै नेपालगन्जमा क्याफेको एक उत्कृष्ठ ब्राण्ड बन्ने लक्ष्यमा २६ वर्षीय सचिन केन्द्रित छन् ।