सुरु भयो कांग्रेस महाधिवेशन प्रक्रिया : बाँकेमा भने विवाद कायमै
Thursday, September 2nd, 2021, 4:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ भाद्र
नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारबाट सुरु हुदैछ । करिब ६० जिल्लामा शुक्रबारबाट वडा अधिवेशन हुने अनुमान गरिएको छ ।
महाधिवेशन निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवका अनुसार हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्य सुची सार्वजनिक भएकोले ती जिल्लामा शुक्रबार निर्वाचन प्रक्रिया सुरु हुनेछ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको छनोट गर्नेछ ।
बाँकेको स्थानीय तहमा भने शुक्रबार वडा अधिवेशन हुन नसक्ने भएको छ । बाँकेमा केहि स्थानीय तहमा क्रियाशील सदस्यको बारेमा विवादको उजुरी केन्द्रमा परेको छ । जसका कारण बाँकेमा क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको छैन ।
नेपाली कांग्रेस बाँके पार्टी सभापति किरण कोइरालाले केन्द्रबाट क्रियाशिल सदस्यको बारेमा उत्पन्न विवादको टुङ्गो नलागेका कारण शुक्रबार हुन नसक्ने जानकारी दिइन ।
कोइरालाका अनुसार केन्द्रले विवाद समाधानका लागि पहल गरिरहेकाले सम्भवत भाद्र २२ गते सम्म बाँकेमा वडा अधिवेशन हुन सक्ने बताइन् । क्रियाशिल सदस्यको विवादले वडा अधिवेशनलाई असर गरेपनि बाँकेका केहि स्थानीय तहका केहि वडा भने सर्व सम्मत रुपमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिसकिएको छ । तर त्यसले अहिले आधिकारिता भने पाउने छैन ।
पार्टीको निर्वाचन कमिटीले स्थानीय तहमा गएर वडा अधिवेशन गराएपछि मात्र त्यसले बैधानिकता पाउने पार्टी सभापति कोइरालाले बताइन । १४औं महाधिवेशनमा कांग्रेसले ९ लाखलाई क्रियाशील सदस्य बनाएको छ । वडातहको अधिवेशनबाटै कांग्रेसको विभिन्न तहको कार्यसमिति छनोट प्रक्रिया सुरु हुन्छ । नयाँ कार्यतालिका अनुसार आगामी मंसिर दोस्रो साता कांग्रेसको केन्द्रिय महाधिवेशन हुने तयारी भैरहेको छ ।