राप्ती सोनारीलाई पर्यटकीय क्षेत्र बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
Saturday, September 4th, 2021, 9:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्ती सोनारी, १९ भाद्र
लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामिण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेको भूवर भवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताएका छन् । शनिबार राप्तीसोनारीका विभिन्न पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् । साथै, उनले राप्ती सोनारीको वडा नम्बर १ कुसुमदेखी वडा नम्बर २ अगैयासम्म र्याफ्टिङ सञ्चालन गर्न मन्त्रालयले आवश्यक कार्य अगाडी बढाउने पनि प्रतिबद्धता जनाएका छन् ।
राप्ती सोनारी-३ मा रहेको प्रशिद्ध धार्मिक तिर्थस्थल भूवर भवानी मन्दिर क्षेत्रको उनले निरीक्षण गरेका थिए ।

निरीक्षणमा मन्त्री चौधरी
दाङसँग सिमा जोडिएको राप्ती सोनारी जनसंख्याको हिसाबले देशकै ठुलो गाउँपालिका हो । राप्ती नदीको दुबैतर्फ गाउँपालिकाका विभिन्न वडा रहेका छन् । ‘कुसुमलाई पर्यटन क्षेत्रसँग जोड्ने हो भने राप्तीलाई प्रयोग गर्नुपर्छ, राप्तीलाई प्रयोग गर्दा यहाँबाट अगैयासम्म र्याफ्टिङ सुरु गर्ने हामीले घोषणा गरेका छौं,’ उनले भने ‘यसबाट यहाँका ब्यवसायीलाई ठुलो फाईदा पुग्नेछ र पश्चिम नेपालको कणर्ालीपछिको पहिलो रयाफ्टिङ राप्ती नदीमा हुनेछ भन्ने मैले आशा गरेको छु ।’ यस्तै सिचाइँका लागि राप्ती नदीलाई जतिसक्दो उपयोग गरेर लिफ्ट सिचाइँ योजना लागु गर्न आवश्यक पहल गर्ने पनि मन्त्री चौधरीले प्रतिबद्धता जनाए । ‘मेरो मन्त्रालयले खासगरी तीन वटा कुरा हेर्छ, एउटा पर्यटन हेर्छ, शहर र गाउँको सडक तथा नाला र खानेपानीलाई हेर्छ,’ उनले भने ‘राप्ती सोनारी गाउँपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार प्रदेश सरकारले सहयोग गर्ने कुरा पनि यहाँहरु समक्ष राख्न चाहन्छु ।’

निरीक्षणमा मन्त्री चौधरी
लुम्बिनी प्रदेशमा तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले थुप्रै बेथिती सृजना गरेको आरोप लगाउँदै उनले तिनलाई ठिक गर्दै आफुहरु अगाडी बढ्नुपर्ने स्थिती रहेको सुनाए ।
फरक प्रसंगमा उनले केन्द्र र प्रदेशको सत्तामा जान नेपाली कांग्रेसले कल्पना नै नगरेको भन्दै उनले केपी ओलीकै कुकर्ममले गर्दा झण्डै दुई तिहाईको सरकार ढलेको र कांग्रेससहित चार दल मिलेर नयाँ सरकार गठन गरेको प्रष्ट पारे । ‘पक्कैपनि हिजोको बेथितीहरु, हिजो ओली जीले गरेका बेथितीलाई ठिक गर्दै हामी अगाडी बढ्नुपर्नेछ,’ उनले भने । नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारीमा रहेको र अहिले पार्टीको चुनावलाई नै लक्षित गरेर अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिए । ‘अधिवेशनलाई पनि सहजताको साथ प्रजातान्त्रिक प्रणालीबाट अगाडी बढाउनुस्, किनभने यसले गर्दा स्थानीय चुनाव नहारोस्, यसले गर्दा संघिय चुनाव नहारोस्, यसले गर्दा प्रदेश चुनाव नहारोस् ।’
सो क्रममा राप्तीसोनारी १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीले विभिन्न मागसहितको ज्ञापन पत्र मन्त्री चौधरीलाई बुझाएका थिए । मन्त्री चौधरीलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम र वडा नम्बर २ अगैयामा कांग्रेस नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधी, सर्बसाधारण लगायतले स्वागत गरेका थिए । कांग्रेस प्रदेश मन्त्री भएपछि पहिलो पटक आएका चौधरीलाई स्वागत गरिएको हो । मन्त्री चौधरीको उपस्थितीमा शनिबार नै नेपाली कांग्रेस राप्ती सोनारीले पनि एक कार्यक्रम गरेको थियो ।

निरीक्षणमा मन्त्री चौधरी

निरीक्षणमा मन्त्री चौधरी