बाँकेमा पनि नेकपा एसमा खुल्न थाले जनप्रतिनिधि
Sunday, September 5th, 2021, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २० भाद्र
नेकपा एमालेबाट बाँकेमा स्थानीय तहमा निर्वाचित केही जनप्रतिनिधिहरुले माधव नेपाल नेतृत्वको नवगठित नेकपा समाजवादी अर्थात नेकपा एस रोजेका छन् । तर, उल्लेखनीय रुपमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरु देखिएका छैनन् । एमाले परित्याग गरेर अर्को पार्टी रोज्न निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई २२ गतेसम्मको समय दिएको छ ।
नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १ का वडा सदस्य डम्बर थापाले नेकपा एमाले परित्याग गरी नेकपा एस रोजेका छन् । आईतबार जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर थापाले नेकपा एस रोजेका हुन् ।
आईतबारै कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य शंकर खड्काले पनि नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एस रोजेपछि उनीहरुले एमालेमा विधि र पद्धतीको अन्त्य भई नेतृत्वले मनपरी ढंगले पार्टी सञ्चालन गर्दा कम्युनिष्ट आन्दोलन नै समाप्त हुन लागेका कारण आफुले एमाले परित्याग गरेको बताएका छन् ।
नेकपा एमाले विभाजन भई नेकपा एस र जसपा विभाजन भई लोसपा गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जन प्रतिनिधीहरुलाई दल रोज्नका लागि भदौं २२ गतेसम्मको समय दिएको छ । नेकपा एस बाँकेका अध्यक्ष अशोक कोइरालाले २२ गतेसम्म बाँकेमा धेरै जनप्रतिनिधीले नेकपा एस रोज्ने दावी गरेका छन् ।