राप्ती सोनारीमा बढाइयो शिक्षक र प्रधानाध्यापकको तलब
Sunday, September 5th, 2021, 9:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, २० भाद्र
बाँकेको राप्ती सोनारी गाउँपालिकाले अनुदान शिक्षकको तलब बृद्धि गर्ने र उनीहरुलाई पोषाक भत्ता उपलब्ध गराउने निणर्य पनि गरेको छ । गाउँपालिकाले यसअघि प्राथमिक तहका शिक्षकलाई मासिक १० हजार, आधारभुत तहकालाई १५ हजार र माध्यामिक तहका शिक्षकलाई २० हजार तलब अनुदान स्वरुप दिदै आएको थियो ।
अब भने प्राथमिक तहका शिक्षकलाई १५ हजार, आधारभुत तहकालाई १७ हजार र माध्यामिक तहकालाई मासिक २२ हजार प्रदान गर्ने निणर्य भएको शिक्षा समितिका सदस्य मोहन गौतमले गौतमले बताए । गाउँपालिका अनुदान शिक्षकलाई बार्षिक १० हजार पोषाक भत्ता दिने शिक्षा समितिले निणर्य गरेको छ । यस्तै अनुदानका शिक्षकलाई गाउँपालिकाले नै स्थायी गर्ने विषयमा कानुन विदसँग परामर्श गरेर प्रक्रिया अगाडी बढाउने निणर्य भएको छ ।
यसैगरी विद्यालयका प्रधानाध्यापकको भत्ता पनि बढाउने निणर्य गरेको छ । प्रधानाध्यापकको भत्ता ३ सयबाट बढाएर प्राथमिक तहको हकमा मासिक ६ सय, कक्षा १० सम्म सञ्चालित विद्यालयका प्रअलाई ८ सय र कक्षा १२ सम्म सञ्चालित विद्यालयका प्रधानाध्यापकलाई मासिक १ हजार प्रअ भत्ता उपलब्ध गराउने निणर्य गरिएको छ ।
शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले धेरै लगानी गरेको स्मरण गराउँदै अब शैक्षिक प्रतिफल प्राप्त गर्नतर्फ सबै लाग्नुपर्ने बताए । ‘शिक्षा क्षेत्रमा गाउँपालिकाले धेरै लगानी गरेको छ, म दावीका साथ भन्छु हाम्रो जति शिक्षामा लगानी अरु कुनैपनि पालिकाले गरेको छैन,’ उनले भने ।
बैठकमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले शिक्षामा गाउँपालिकाले गरेको लगानी गरिरहेकै बेला कोरोना महामारीले पठन पाठनमा असर पुर्याएको बताईन् । ‘गाउँपालिकाले शिक्षामा लगानी गरिरहेकै बेला कोरोना महामारीले बिद्यार्थीको पढाई चौपट बनाईदियो, अब बिस्तारै राप्ती सोनारीको शिक्षालाई माथी उठाउनुपर्छ,’ उनले भनिन् । लामो समयपछि खुल्न लागेका विद्यालय क्षेत्रको सरसफाई गर्न आवश्यक रहेको र यसका लागि विद्यालयले ध्यान दिनुपर्ने उपाध्यक्ष खत्रीको सुझाव छ ।
नेपाल शिक्षक महासंघ राप्तीसोनारीका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका सदस्य मोहन खनालले शिक्षा क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाले गरेको लगानी अविष्मरणीय रहेको बताए ।