ट्रम्प सरकारका महान्यायधिबक्ता जेफ सेसन्स्
Thursday, February 9th, 2017, 9:29 am
amit
अमेरिका-राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गर्नुभएका जेफ सेसन्स् अमेरिकाको महान्यायाधीवक्ता बन्ने पक्का भएको छ । अलाबामाका सिनेटर सेसन्सलाई महान्यायाधीवक्ता बनाउने पक्षमा सिनेटले मत दिएका हो । सिनेटमा सेसन्सको पक्षमा ५२ तथा विपक्षमा ४७ मत परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । लामो सुनुवाईपछि सिनेटले उहाँलाई महान्यायाधीवक्तामा नियुक्त गर्ने बाटो खोलेको हो । सुनुवाईको क्रममा डेमोक्र्याटिक सिनेटरले सेसन्सको मानवअधिकारमाथिको प्रतिबद्धता प्रति प्रश्न गरेका थिए ।
सेसन्सका यसअघिका क्रियाकलाप मानवअधिकारको पक्षमा नरहेको डेमोक्र्याटिक सिनेटरको भनाई छ । डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वार्रेनले सेसन्सले रंगभेदी व्यवहार गर्ने गरेको आरोप लगाउनुभएको थियो ।
उहाँले आफ्ना आरोप फिर्ता लिए पनि मत हाल्नु भएन । सेसन्स राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका मध्ये सबैभन्दा विवादित व्यक्ति हुनुहुन्छ । सिनेटरले पार्टीको निर्देशन अनुसार नै सेसन्सको पक्ष र विपक्षमा मत खसालेका थिए । तर वेष्ट भर्जिनियाका डेमोक्र्याटिक सिनेटर जेए म्यानचिनले भने सेसन्सको पक्षमा मत दिनुभएको थियो ।
कार्यबहाक महान्यायाधीवक्ता साली यट्सले मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको विरोध गरेपछि ट्रम्पले उहाँलाई बर्खास्त गर्नु भएको थियो ।
सेसन्सले अब महान्यायाधीवक्ताको जिम्मेवारी सम्हालेपछि ट्रम्पको आदेशको पक्षमा विचार दिने सम्भावना धेरै रहेको अमेरिकी सञ्चारमाध्मले जनाएका छन् ।