प्रचार सामग्रीले कुरुप बन्दै कोहलपुर
Thursday, February 9th, 2017, 9:43 am
amit
संगिन शर्मा
कोहलपुर- पश्चिम नेपालको मुख्य हबको रुपमा बिकास हुँदै गईरहेको कोहलपुर पछिल्लो समय कुरुप बन्दै गएको छ ।
उत्कृष्ठ सडक विस्तारका कारण समेत चर्चामा रहँदै आएको कोहलपुरमा अब्यवस्थित रुपमा हुने गरिबिधिहरुले यसको सुन्दरता ह्रास हुँदै गएको छ । सडकसँगै सहेका बिजुलीका पोल तथा सडक डिभाईडरहरुमा जथाभावी रुपमा टांगिएका विज्ञापन बोर्ड तथा पम्पलेटका कारण कोहलपुर बजार कुरुप बन्दै गएको छ ।
यहाँका ब्यापारीक प्रतिष्ठान, विद्यालय, इन्स्टिच्युटका साथै राजनैतिक पार्टिहरुले समेत प्रचार प्रसारका लागि निशुल्क रुपमा सडक डिभाइडरको प्रयोग गर्दै आएका छन । सडक ऐनले नै सडक किनारमा होडिङ बोर्ड राख्न नपाउने ब्यवस्था गरेपनि नियमन गर्ने निकाय नहुँदा मनपरि रुपमा सडक किनारको दुरुपयोग हुँदै आएको छ ।
पश्चिम नेपालको मुख्य प्रवेश द्धारको रुपमा रहेको कोहलपुर चौराहमा अवस्थित स्तुप समेत पर्चा, पम्पलेटले रंगिने गरेको छ ।
बिभिन्न राजनितिक पार्टिहरुले आप्mनो पार्टी प्रचारका सामग्रीहरु जथाभावी टाँस्ने गरेका कारण समेत कोहलपुरको सुन्दरता हराउँदै गएको कोहलपुरका हार्डवयर ब्यापारी तथा साहित्यकार सागर गैरे बताउँछन । पैदल यात्रीको सहजताका लागि सडक किनारमा राखिएका डिभाईडरमा पर्चा, पम्पलेट टाँसिनु अमर्यादित काम भएको भन्दै गैरेले नागरिकहरु आफै सचेत हुन आवश्यक रहेको बताउँछन ।
बिजुलीका पोल र अन्य सार्वजनिक स्थलमा टाँसिएका पर्चा पम्पलेटका कारण पनि नगर क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै गइरहेको छ ।
फोरलेन सडक निर्माणसँगै्र कोहलपुरको विकासले गति लिएपनि अब्यवस्थित रुपमा मौलाउँदै गएको फोहोरिकरणले भने नगरवासीलाई निराश बनाएको छ । कतिपय स्थानमा त महिनौदिनसम्म पनि फोहोर थुप्रने गरेको छ । थुप्रिएको फोहोर समयमै नउठाउँदा थप समस्या हुने गरेको कोहलपुर न्यूरोडका ब्यापारी बसन्ती तामाङ्ग बताउँछिन ।
कोहलपुरलाई नमुना नगरको रुपमा स्थापित गर्ने अठोट लिएको कोहलपुर नगरपालिकाले समेत आवश्यक सक्रियता नदेखाउँदा स्थानियहरुमा निराशा छाएको छ । गोबिन्द पाण्डेको नेतृत्वमा रहेको कोहलपुर नगरपालिकाले हरित÷स्वच्छ नगर निर्माणका लागि ठोस पहल थालेको थियो । यद्यपी उनको सरुवासँगै नगरपालिकाको अभियानमा ब्रेक लागेको छ ।
कोहलपुर नगरपालिकाका वर्तमान कार्यकारी अधिकृत माधवप्रसाद शर्माले पाण्डेको अभियानलाई निरन्तरता दिने प्रयास गरिरहेको बताएपनि त्यसकालागि केही समय लाग्ने जिकिर गरे । नगरपालिका कार्यालयले सडक किनारमा प्रचारात्मक शैलीमा राखिएका होडिङ बोर्ड, तथा पर्चा पम्पलेट हटाउने गरि तयारी थालिएको भन्दै त्यसमा सबैले साथ दिनुपर्ने बताउँदै आएका
छन ।