बुबाले सुरु गरेको चाउमिन उद्योगलाई अघि बढाएर व्यापारिक अनुभव र संस्कार हासिल गरेकी बिन्दु अहिले नेपालगन्जमा सफल पुष्प व्यवसायीको रुपमा स्थापित भएकी छिन् । आफ्नो सफलतालाई उनले विशेषगरी महिलाहरुलाई व्यवसायमा आउन उत्प्रेरणा गर्ने काममा उपयोग गरिरहेकी छिन् ।
भिडियो हेर्नका लागि यहाँ क्लीक गर्नुहोस् ।
विक्रम बुढाक्षेत्री नेपालगन्ज, १४ असोज
बाँके अहिले पनि पुष्प खेतीबाट आत्मनिर्भरताको बाटोमा निकै तल छ । औँलामा गन्न सकिने किसानहरु मात्रै पुष्प खेतीमा संलग्न छन् । यहाँको माटो पुष्प खेतीका लागि अयोग्य पनि होइन । बजारमा माग पनि उच्च छ । अरु चिजजस्तै फूलको लागि पनि काठमाडौं र भारतकै भर पर्नुपर्ने अवस्था अहिलेपनि विद्येमाननै रहेको छ ।
आजभन्दा करिब पाँच वर्षपहिले त झन् बाँकेमा फूलको व्यवसायिक उत्पादन शून्य नै थियो । यहाँ पुष्पखेतीको सम्भावनाका विषयमा सरकारी र गैरसरकारी कुनैपनि संस्थाको ध्यान गएको थिएन । त्यसैबेला एकजना उद्यमी महिलाले पुष्प खेतीमा हात हालिन् । फूलको बजारीकरणका लागि नेपालगन्जमै एक फूल बिक्री केन्द्र संचालनमा ल्याइन्, ‘चर्ती फ्लोरा’ का नाममा । अहिले उनको फूलको उत्पादन र बिक्रीको व्यवसाय नेपालगन्जमा ब्राण्डको रुपमा स्थापित भएको छ । बाँकेमा फूलको व्यवसायिक सम्भावनको ढोका खुलेपछि अहिले यस व्यवसायतिर आकर्षण बढ्न थालेको छ । यस सम्भावनाको ढोका खोल्ने व्यवसायी हुन्, ‘चर्ती फ्लोरा’का संचालक एवम् पुष्प व्यवसायी बिन्दु चर्तीमगर ।
बुबाले सुरु गरेको चाउमिन उद्योगलाई अघि बढाएर व्यापारिक अनुभव र संस्कार हासिल गरेकी बिन्दु अहिले नेपालगन्जमा सफल पुष्प व्यवसायीको रुपमा स्थापित भएकी छिन् । आफ्नो सफलतालाई उनले विशेषगरी महिलाहरुलाई व्यवसायमा आउन उत्प्रेरणा गर्ने काममा उपयोग गरिरहेकी छिन् ।
बिन्दुका बुबाले २०३६ सालमा चितवनबाट चाउमिन उद्योग संचालन गरी व्यवसायिक यात्रा सुरु गरेका थिए । त्यसलाई पश्चिम भेगमा फैलाउने क्रममा २०५० सालमा नेपालगन्जमा उद्योग खोलियो । त्यसपछि महेन्द्रनगर, धनगढीमा बिन्दु र उनका दाजुले उद्योगकोे बजार बिस्तार गदैँ लगेँ । जुन बजार अहिले पनि स्थापित छ ।
त्यतिबेला चाउमिन नेपाली उपभोक्ताहरु माझ परिचित थिएन । चाउमिन खाने तरिका नै धेरैलाई थाहा थिएन । मगरको परिवारले होटल, रेस्टुरेन्ट, ठेलाहरुमा आफंै पुगेर पकाउने र खाने तरिका सिकाए । मसिलाहरुलाई चाउमिन बनाउने मेसिन, स्रोत साधन जुटाएर हाल पश्चिम क्षेत्रमै १०÷१२ वटा चाउमिन उद्योगको शाखाहरु संचालनमा ल्याए । नेपालगन्जको राँझामा मगरको बुद्ध चाउमित तथा सस उद्योग अहिलेपनि संचालनमा छ ।
बिन्दु सानैदेखि फूल भनेपछि हुरुक्कै हुन्थिन् । उनमा फूलकै व्यापार गर्न पाए गजब हुन्थ्यो भन्ने विचार सानैदेखि विकास हुँदै आएको थियो । व्यवसायका क्रममा उनले बुझिन् मध्य र सुदूरपश्चिाममा फूलको धेरै माग छ । तर उत्पादन पनि भइरहेको थिएन । फूलको राम्रो बिक्री केन्द्र वा पसल पनि थिएन । व्यवसायिक अनुभव र संस्कार आर्जन गरिसकेकी बिन्दुलाई लाग्यो ‘अब आफ्नो रुचीको वस्तुको व्यापार नै सुरु गर्छु ।’
‘मलाई सानैदेखि फूलमा धेरै लगाभ भएका कारण होला नेपालगन्जको बजार हेर्दा फूलबाटै आर्थिक आयआर्जन गर्न सकिन्छ जस्तो लाग्यो । अनि पुष्प खेती गर्ने सोचका साथ अगाडि बढेँ,’ मगरले भनिन् ।
नेपालगन्जस्थित राझाँमा दशैं र तिहारलाइ लक्षित गरी लगाइएको फूलखती ।
त्यसपछि २०७०÷७१ सालमा उनले व्यवसायिक योजनाका लागि बजार अनुसन्धान गरिन् । २०७२ सालमा काठमाडौ गएर आवश्यक सीप सिकिन् । त्यसपछि बुटवलमा पनि तालिम लिने अवसर पाइन् । अनि ढेड लाखको लगानीमा फूल उत्पादन सुरु गरिन् ।
मगरले भनिन्, ‘जब मैले पुष्पखेतीको सोच बनाएर अगाडि बढेँ । त्यतीखेर पुष्पखेतीका लागि भनेर कुनैपनि कार्यक्रम बाँकेमा थिएन । यहाँसम्मकी पृष्पखेतीका लागि सरकारी निकायसँग पनि कुनै योजनानै थिएन ।’
नेपालगन्ज–२० स्थित आफ्नै घरछेउमा ६ कठ्ठा जमिनमा फूल खेती गरेर सुरु गरेकी उनले हाल दुई बिघा जमिनका खेती गरिरहेकी छिन् । बैंकको ऋणसमेत गरेर हाल करिब ६० लाख फूल खेतीमै उनले लगानी गरेकी छन् ।
सुरुवातमा उनले सयपत्रीको खेतीबाट सुरु गरेकी थिइन् । हाल गोदावरी, ग्लाडियस र मखमली फूल उत्पादन गरिरहेकी छन् ।
यस सिजनमा गुलाब, सयपत्र, मखमलीको माग बढी छ । उनको बिक्री केन्द्रबाट फूल र फूल सजावटका सबै सामग्री र सेवाहरु प्रदान गर्ने गरिन्छ ।
हाल उनको चर्ती फ्लोरा बाँकेको एकमात्र फूल बिक्री केन्द्र पनि हो । एक वर्ष अगाडि प्रदेश सरकारले जिल्लाको फूल बिक्री केन्द्रको रुपमा उनलाई स्वीकृत गरेको थियो । केन्द्रबाट उनले बाँके जिल्ला बाहिरका पाल्पा, रुपन्देही, दाङ, काठमाडौं र आवश्यक परेको खण्डमा भारतबाट फूल आयात गरी बिक्री गर्ने गर्छिन् ।
‘मेरो पहिलो प्राथमिकता भनेको नेपालकै उत्पादन हो । किनभने नेपालमा उत्पादन भएका सबै फूल अर्गानिक हुन्छन् । भारतका फूललाई म अन्तिम विकल्पका रुपमा मात्र प्रयोग गर्ने गर्छु,’ मगरले भनिन् ।
मगर हाल बाँकेमा ३ हेक्टर क्षेत्रफलमा दशैं र तिहारलाई लक्षित गरेर पुष्पखेती गरेको बताउँछिन् । उनले विगतका तुलनामा जिल्लामा पुष्पखेती बढ्दै गएको बताइन् । उनले भनिन्, ‘अहिले सबै दिदी बहिनीहरुको मिलाएर ३ हेक्टरमा फूल खेती भइरहेको छ । तर यो पनि कम हो । किनभने दशै तिहारमा लगभग २० क्वीन्टल जति फूल बिक्री हुन्छ । त्यो सबै हामीले उत्पादन गर्न सक्दैनौं । तर हरेक वर्ष फूल खेती गरिने एरिया बढ्दो छ । हामी आत्मनिर्भरताको बाटोमा अघि बढ्दै छौं ।’
महिला व्यवसायीको पीर मर्का नजिकबाट बुझेकी बिन्दु महिलाहरुलाई व्यवसायमा स्थापित हुन अहिले पनि अनेका चुनौतीहरु रहेको बताउँछिन् । महिलाहरुका लागि व्यवसायमा स्थापित हुन मुख्यगरी लगानीकै समस्या रहेको उनको भनाइ छ । महिलाहरुसँग अहिले पनि अचल सम्पत्ति नहुने भएकोले ऋण लिन अप्ठयारो हुने गरेको बिन्दु बताउँछिन् । ‘यसका लागि ससुरालाई मनाउने हो कि, श्रीमान् फकाउने हो कि, घरपरिवारसँग स्वीकृति लिन गाह्रो हुन्छ । घरपरिवारले बुझेन भने महिला निराश हुन्छन्,’ उनले भनिन् ।
समाजको हेर्ने दृष्टिकोणले पनि महिलाहरुलाई कतिपय अवस्थामा अप्ठ्यारो हुने गरेको उनको भनाइ छ ।
नेपालगन्जस्थित राझाँमा आधुनिक तरिकाले बाह्रैमास फुल उत्पादन गरिँदै ।
तर बिन्दुलाई उनको परिवारबाट व्यवसायमा पूर्ण सहयोग प्राप्त छ । ‘मेरो ७८ वर्ष हुनु भएकी सासुआमाले घर धान्दिनु हुन्छ । बुढाले बिजनेस हेर्दिनुहुन्छ । मैले नभ्याउने स्थानमा हेर्दिने गर्नुहुन्छ । मलाई घर परिवारको एकदम धेरै साथ छ,’ बिन्दुले भनिन् ।
बिन्दु व्यवसायमा मात्रै नभई व्यवसायिक नेतृत्वमा पनि अघि छिन् । उनी हाल नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुन् भने पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशको उपाध्यक्ष छिन् । व्यवसायिकसँगै सामाजिक क्षेत्रमा पनि चर्तीको सक्रियता उत्तिकै छ ।
बिन्दु आफ्नो लक्ष्य महिलाहरुलाई पुष्प खेतीबाटै आत्र्मनिर्भर गराउनु रहेको बताउँछिन् । उनले समय–समयमा फूल खेतीसम्बन्धी तालिम पनि प्रदान गर्दै आएकी छन् । उनीबाट तालिम लिएका १० जना मध्ये ६ जनाले फूल खेती सुरु गरिसकेका छन् । अर्काे सिजनसम्म तालिम लिएका सबैले व्यवसायीक खेती सुरु गरिसक्ने उनी बताउँछिन् ।
फूल व्यवसायका लागि मात्रै नभै वातावरण र पर्यापर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बिन्दुको भनाइ छ । बिन्दुका श्रीमान सुनिल सलामी मगर सरकारले पुष्प खेतीको महत्व र आवश्यकताअनुसार प्रवद्र्धनमा ध्यान दिन नसकेको बताउँछन् । आवश्यक ज्ञान, सीप, लगानी र बजारको सुनिश्चितता महसुस गराउन सक्ने हो भने फूल खेतीमा धेरै किसानहरु व्यवसायिक बन्न सक्ने उनको धारणा छ ।