तुलसीराम स्मृति पुरस्कार शायर शौकलाई
Saturday, October 2nd, 2021, 8:08 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
कोहलपुरमा रहेको पूणर्िमा साहित्य प्रतिष्ठानले शनिबार एक विशेष कार्यक्रमको आयोजना गर्दै छ । वरिष्ठ उर्दू शायर अब्दुल लतिफ शौकलाई तुलसीराम स्मृति पुरस्कार प्रदान गरिँदै छ । पुरस्कारको राशी सात हजार सात सय ७७ रुपैयाँ रहेको छ ।
त्रियासी वर्षीय शायर शौक १९९५ साल पुस ८ गते नेपालगन्जको भट्टीटोलमा जन्मिएका थिए । पेशाले सुनका कालीगढ रहेका शौक नेपालगन्जमा रहेका उर्दू शायरमध्ये सबैभन्दा पाका र सिद्धहस्त शायर मानिन्छन् ।
उनका शायरी र कविताका संग्रहहरु ‘महकते जख्म’, ‘मता ए शौक’, ‘लफ्जो के मोती’ र ‘सिसकने की सदा’ प्रकाशित छन् । सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त स्रष्टा शौक करिब पाँच दशकभन्दा लामो समयदेखि नेपालन्जका उर्दू गजलकारहरुको संस्था ‘गुलजार ए अदब’को नेतृत्व गर्दै आएका छन् ।
यसैगरी, सोही कार्यक्रममा दुईवटा कृतिको विमोचन पनि गरिने कार्यक्रम छ । बद्री ढकाल हिरामणीको हाइकु संग्रह ठ्यौको र छवीलाल खड्काको मुक्तक संग्रह बिरौटोको विमोचन गरिने प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले जानकारी दिएका छन् ।
उक्त कार्यक्रमपछि दुईजना कविका कविताहरुको वाचन कार्यक्रम गरिने छ । कवि सुनिता खनाल र विपी अस्तुले आफ्ना एक दर्जनबढी कविताको विशेष वाचन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानको रचना वाचन विभागका संयोजक हेम प्रकाश मन्जिलले जानकारी दिएका छन् ।