सुन, शायरी र सुगन्ध
Saturday, October 2nd, 2021, 9:36 am
Kalpristha
–खगेन्द्र गिरि ‘कोपिला’
बिजली, तुफान, कातिल, रहजन
किस-किसकी तुम बात करोगे ?
एक है जान और लाखों दुश्मन
किस-किसकी तुम बात करोगे ?
नेपालगन्ज निवासी उर्दू शायर अब्दुल लतिफ शौकलाई गजलको दुनियाँमा बलियो गरी उभ्याउने शब्द यीनै हुन् । आफ्नो त्रियासी वर्षको उमेरमा करिब पाँच दशक उनले साहित्य सृजनामा बिताए र सबैभन्दा बढी गजल नै लेखे उनले । तीन सय भन्दा बढी गजल लेखेर, अनि आफ्ना गजलको माध्यमबाट अनन्त लोकप्रियता अर्जित गरेर, गजलको बादशाहकै हाराहारीको सम्मान पाएका शौकको नाम र सम्मानसित यी गजलीय शेर अभिन्न किसिमले जोडिएका छन् । मानौं समाजका हरेक आयाममा अनेक भूमिकाहरु बोकेर उभिएको मान्छेलाई यसरी प्रश्न गर्ने सामथ्र्य केवल शौकसंग मात्रै छ ।
अब्दुल लतिफ शौक गजल साहित्यका हरफनमौला खेलाडी हुन् । नेपालगंजको उर्दू साहित्य मात्र हैन, सिंगो नेपालको उर्दू साहित्यको इतिहास लेख्न बस्दा उनको नाम स्वर्णाक्षरले नलेखेमा त्यो इतिहास नै अपुरो हुन जान्छ । उनको साहित्यिक यात्राको कथा कुनै तिलस्मी कथाको नायकको जत्तिकै रोचक छ, अदभूत र आश्चर्यलाग्दो छ । मानौं उनको हृदयमा गजलको आत्मा बसेको छ । उनी त्यही आत्मालाई साहित्यिक वाणी दिने उद्घोष हुन् ।
त्रियासी वर्षअघि विक्रम संवत १९९५ सालको पुस ८ गते नेपालगन्जको भट्टीटोलमा जन्मिएका शौकले आफ्नो जीवनको लामो समय नेपालगन्जका छिडी र गल्लीहरुमा सुन घोट्ने काम गरे । पेशाले उनी सुनका कालीगढ हुन् । उनीसंग विद्यालय, महाविद्यालय, विश्वविद्यालयको औपचारिक शिक्षाको डिग्री छैन । नमाज पढ्दा कुरानका आयतहरु दोहोर्याएर पाठ गर्न सक्नेगरी उनले मदरसाको सामान्य मजहबी शिक्षामात्र पाएका छन् । आफ्नो जीवनका हरेक वसन्त र हरेक शिशिरहरु उनले नेपालगन्जको रानीतलाउ, त्रिभूवनचौक र एकलैनीको सेरोफेरोमैं काटे । एकपटक वार्ड अध्यक्षको पदमा चुनाव जित्नुभन्दा बाहेक उनको सार्वजनिक जीवन पनि त्यति मुखर र खुला भएको पाइँदैन । आफ्नै घेरा र आफ्नै परिधिमा रहेर उनी जसरी उर्दू साहित्यको सेवामा साधनारत रहे त्यो कुनै योगीको ऐकान्तिक तपस्याभन्दा कम छैन । आश्चर्य लाग्छ, छायामैं बसेर यति उज्यालो चेतनाले भरिएका गजल कुन उर्जा र कुन प्रेरणाले लेख्न सके होलान्, अब्दुल लतिफ शौकले ?
शौक करिब पाँच दशकभन्दा लामो समयदेखि नेपालन्जका उर्दू गजलकारहरुको संस्था गुलजार ए अदबको नेतृत्व गर्दै आएका व्यक्ति हुन् । करिब एक दशकसम्म उनले मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नेतृत्व पनि गरे । भेरी साहित्य समाज र अवधी सांस्कृतिक प्रतिष्ठानमा पनि लामो समयसम्म उनी कृयाशिल रहे । यो उनको व्यक्तित्वको सर्वस्वीकार्यता र सर्वप्रेमको ज्वलन्त उदाहरण हो । तैपनि उनको साहित्यिक उज्यालो त्यति मुखर हुन सकेन लामो समयसम्म । उनी एक किसिमले चर्चामा आउन नपाएको लजालु परिवेशमै कृयाशिल रहे । भुसभित्रको आगो जस्तै उनी भित्रभित्रै सदा चलायमान भइरहे । पचासको दशकदेखि नरेन्द्र जङ्ग पिटर, ज्ञानुवाकर पौडेल, प्रमोद प्रधान, वासुदेव अधिकारी तथा मोहन मैनालीजस्ता अध्येता र पूणर्लाल चुके, झलक गैरे, जे पाण्डे, शुक्रऋषि चौलागार्इँजस्ता पत्रकारहरुको सतप्रयासले अब्दुल लतिफ शौक नाम गरेको एकजना शक्तिशाली उर्दू गजलकार नेपालगन्जमा पनि बस्छ भन्ने कुरा राष्ट्रले थाहा पायो । परिचय र अपरिचयको दोसाँधमा उभिएर धैर्यताको बाँध नभत्काइकन उनले यी पङ्क्ति लेखेंः—
कणकणमा म खोजिरहेछु दाइ मेरो नेपाल कता छ ?
गाउँसहरमा हेरिरहेछु दाइ मेरो नेपाल कता छ ?
अनुहार सबै बेगानै छन्, अरु बाटो पनि अन्जानै छन्
आज ‘शौक’ म खोजिरहेछु दाइ मेरो नेपाल कता छ ?
२०६० को दशकमा अमृत ढकाल निर्जनको सक्रियतामा उनको पहिलो गजलसङ्ग्रह ‘महकते जख्म’ प्रकाशित भएपछि उनका रचनाहरु पुस्तकाकार रुपमा आउने क्रम शुरु भयो । त्यसपछि त उनका गजल र गीत सङ्ग्रहहरु तारन्तार आइरहेका छन् । उनले ‘मता ए शौक’, ‘लफ्जो के मोती’, र ‘सिसकने की सदा’ नामका कृतिहरु पनि निकाले । ‘महकते जख्म’ मा उनले नेपाली भाषामा लेखेका गजल पनि छन् । नरेन्द्र जङ्ग पिटरको सतप्रयासले पहिलोपल्ट शौक काठमाडौंमा सम्मानित हुन पुगे भने हरिप्रसाद तिमिल्सिनाको सतप्रयासले शौकले पहिलोपल्ट सरकारको प्राथमिकतामा परेर राष्ट्रिय प्रतिभा पुरस्कार पनि पाए । नेपालगन्जका साँघुरा गल्लीभित्र सुनको कालीगढको काम गरी आफ्नै साँघुरो परिवेशमा खुम्चिरहेको एकजना मान्छेले आजको समयमा नेपालको सबैभन्दा ठूलो उर्दू गजलकारको परिचय बनाउन सफल भएको कथा कुनै तिलस्मी फिल्मको नायकको पटकथा भन्दा कम रोमाञ्चक छैन । आफू अँध्यारोमा रहेर पनि समाजको लागि उज्यालो छर्ने काममा लागेकाहरुलाई समाजले नै ढिलो बुझ्छ भन्ने दृष्टान्तका उनी प्रत्यक्ष नमुना हुन् । शौकले लेखेका यी शब्दहरु उनकै लागि लेखिएका प्रतीत हुन्छन्ः
यहाँ हर शख्स के हाथों मे पत्थर हम ने देखा है
बहुत मुस्किल है जी लेना यहाँ पर आइना बनकर
एक समय थियो नेपालगन्जमा स्वर्गीय प्रकाश राजापुरीलाई गजलका भगवान र अब्दुल लतिफ शौकलाई गजलका अल्लाह भनिन्थ्यो । २०६७ सालमा प्रकाश राजापुरीको देहावसान भएपछि प्रकाश र शौकका दुबै गजलीय उद्बोधनलाई सिर्जनाको पल्लो किनारासम्म पुर्याउने दायित्व केवल शौकको काँधमा आइपुगेको छ । त्यो संबोधनसँग जोडिएको युगल परिचयलाई मेटेर नयाँ परिचय लेख्ने क्षमता भएका कवि अहिलेसम्म कोही देखिएका छैनन् । त्रियासी वर्षको उमेर, बृद्ध र रोगी शरीर, हातमा लठ्ठी र आँखामा पावरदार चस्मा बोकेर शौक सिर्जनाकर्ममा लागिरहेकै छन् । उनका सुफियाना शैलीका गजलमा जीवनको गहिरो मर्म लुकेको हुन्छ । मानवतावाद, मेलमिलाप र सामाजिक प्रेमका सन्देशले भरिपूणर् आफ्ना गजलद्वारा शौक सुनमा गहनामा दिने कला र गजलका शेरमा दिने कलालाई जीवनसित एकाकार गरिरहेका छन् । लाग्छ अब्दुल लतिफ शौक भन्नु नै गजल हो र गजल भन्नु नै शौक हो । उनले स्वयम् लेखेका छन्ः—
क्या कहे कौन लब पर हँसी दे गया
कोई अपना था अपनी खुसी दे गया
जान यूँ दो किसी पर कि वो भी कहे
मरने वाला हमेँ जिन्दगी दे गया ।