स्वास्थ्य क्षेत्रमा डुडुवा जिल्लाकै उत्कृष्ठ
Saturday, October 2nd, 2021, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, १६ असोज
बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाअन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको पाइएको छ ।
डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबैभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । शाहका अनुसार मूल्याकनका क्रममा पालिकाले स्वास्थ्य सेवाअन्तर्गत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो ।
प्रमुख शाहले बाँके जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले स्वास्थ्य सेवाका क्षेत्रमा सुधार भएको र बिरामीलाई सेवा लिन सहज भएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको दुईदिने जनस्वास्थ्य क्रियाकलापबारे जिल्लास्तरीय वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढालाई उत्कृष्टताको कदर पत्र प्रदान गरे । उक्त अवसरमा डुडुवा स्वास्थ्य शाखा प्रमुख बुढाले पालिकामा संचालन गरिएका स्वास्थ्य सेवा तथा कार्यहरुका बारेमा जानकारी गराएका थिए ।
डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर–घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ । अहिले पालिकाका तीनवटा स्थानमा निःशुल्क प्रयोगशाला, ज्येष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुईवटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा दुईवटा थप स्वास्थ्य एकाइको स्थापना, नेपाल सरकारले उपलब्ध गराउने औषधि बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधिको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकमीद्वारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको डुडुवाले जनाएको छ ।
यसैगरी बाँकको जानकी गाउपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो स्थानमा मूल्याकंन भएका छन् । यी पालिकाललाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । जिल्लाका आठवटै पालिकाहरुलाई नेपालगन्जमा बोलाएर आर्थिक वर्ष ०७७–०७८ मा गरेका कार्यहरुको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो ।
कोरोना महामारीकाबीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयरोग निवारण, कुष्ठरोगलगायतका स्वास्थ्य सेवामा राम्रो सुधार भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले हरेक वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यसम्पादन गर्ने पालिकाको सूचकको आधारमा मुल्याकंन गर्दै आएको छ ।