नवदुर्गा मुर्ति निर्माणको चटारो
Wednesday, October 6th, 2021, 6:15 am
Kalpristha
नेपालगन्जमा आधा दर्जन बढी मुर्तिकारहरुले नवदुर्गाका मुर्ति बनाउने गरेका छन् । कुनैबेला भारतीय सीमावर्ति क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्तिहरु अहिले यहीँका कालिगढले प्रशस्त बनाउन थालेका छन् । नेपालगन्जमै आकर्षक मुर्ति निर्माण हुन थालेपछि नवदुर्गाका मुर्तिका लागि भारत नै पुग्नुपर्ने बाध्यता हटेको छ ।
रजनी योगी/लक्ष्मी तिमिल्सेना
नेपालगन्ज १९, असोज
नेपालगन्ज-८ का छोटु केवटलाई अहिले मूर्ति बनाउन भ्याइ नभ्याई छ । घटस्थापनाको दिनसम्म उनले अर्डर पाएका सबै मुर्तिहरु तयार गरिसक्नुपर्ने छ । अवधी समाजमा वडादशैंको नवरात्रभर चोक-चोकमा दुर्गामुर्ति स्थापना गरी सामूहिक पुजाआजा गर्ने प्रचलन रहीआएको छ ।
११ वर्षमा यही काम सिक्न उनी भारत पसेका थिए । ७ वर्षसम्म ज्यालामा काम गरेका उनले अहिले आफ्नै ठाउँमा मूर्ती बनाउने काम सुरु गरेका छन् । अहिले उनले अरु तीन जनालाई रोजगारी पनि दिएका छन् । उनले बनाएका मूर्ति २५ हजार देखि ३० हजारसम्ममा बिक्री हुने गरेका छन् । तीन महनिा यता उनलाई मुर्ति बनाउने चटारो छ ।
दशैंको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्रि गर्ने गरेका छन् । उनी भन्छन्, ‘आफूले जानेको सीप अरुलाई पनि सिकाउने गरेको छु ।’
मूर्ति बनाउने काम सिजनल भएकाले अन्य समयमा खाली बस्ने र घुम्ने गरेको उनी बताउँछन् । मूर्ति बनाउन चाहिने कच्चापदार्थ खरिद गरी ल्याउनुपर्ने र मूर्ति बनाउन चाहिने माटो जहाँतहीं नपाईने भएकाले समस्या हुने गरेको उनी बताउँछन् ।
छोटुजस्तै नेपालगन्ज-७ फुलटेक्राका मुकेश गुप्ता पनि नवदुर्गाका मुर्ति निर्माणमा व्यस्त छन् । मुकेशकहाँ नेपालगन्जका विभिन्न ठाउँ र बाँकेका विभिन्न ठाउँबाट मुर्तीको माग आउने भएकोले भ्याई नभ्याई छ । उनले बनाएका मुर्तीको मूल्य २० हजारबाट सुरुवात हुन्छ ।
विभिन्न देवीदेउताको विभिन्न स्वरुप तथा भाव झल्किने, डिजाईन, रंगरोगन तथा आभुषणको साज-सज्जाले मुर्तीको मूल्य घटबढ हुने गुप्ताले बताए ।
मुकेशका गुरु हुन् लखेरन टोलका मुर्तिकार विनय लखेर । विनयसँग काम गर्दै सीप आर्जन गरेपछि गुप्ताले करिब एक दशकअघि आफैले मुर्ति बनाउन सुरु गरेका थिए ।
विनयले त झन् मुर्ति बनाउन थालेका तीन दशभन्दा बढी भइसक्यो । विगतका तुलनामा पछिल्लो समय मुर्तिमा नेपालगन्ज आत्मनिर्भर बनेको विनय बताउँछन् । विनयसँग एकलाख पचास हजार मूल्य बराबरको एक सेटको माग पनि आउने गरेको छ ।
नेपालगन्जमा आधा दर्जन बढी मुर्तिकारहरुले नवदुर्गाका मुर्ति बनाउने गरेका छन् । कुनैबेला भारतीय सीमावर्ति क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्तिहरु अहिले यहीँका कालिगढले प्रशस्त बनाउन थालेका छन् । नेपालगन्जमै आकर्षक मुर्ति निर्माण हुन थालेपछि नवदुर्गाका मुर्तिका लागि भारत नै पुग्नुपर्ने बाध्यता हटेको छ ।
सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । तर मुतिको सजावटका सामाग्रीहरु भने भारतीय बजारबाटै आयात गरिन्छ ।
स्थानीय तहले आफु अथवा आफूजस्ता मूर्ति बनाउनेहरुको लागि कुनै पहल नगरिदिएको मुर्तिकार छोटुले गुनासो गरे । स्थानीय तहले कच्चापदार्थ ल्याउन र सिजन बाहेकको समय पनि व्यस्त हहुनेगरी व्यवसायीक बन्न समन्वय गरिदिनुपर्ने उनको भनाइ छ ।
नेपालगन्ज उप-महानगरकी उप प्रमुख उमा थापामगरले यस्ता मूर्ति बनाउने व्यवसायीहरुलाई सुचीकृत गर्ने र तथ्यांक संकलन गर्ने जस्ता काम गर्न नसकेको स्वीकारेकी छन् । यसको लागि अहिले सम्म कुनै खालको माग नआएको र उप-महानगरपालिकाले त्यसतर्फ अहिलेसम्म कार्यविधि तथा योजना नबनाएको उनी बताउँछिन् ।
चाडपर्वको बेला मात्र बनाउने भएकाले त्यस्ता व्यवसायीलाई मूर्ति बनाउन बेच्न छुट भएको र त्यस बापतको कुनै राजश्व नलिएको तर आगामी दिनमा यसलाई व्यवसायीक रुपमा अगाडि बढाउने हो भने नगरपालिकाले यस विषयमा सोच्न जरुरी रहेको उप-प्रमुख थापाको भनाई छ ।
नेपालगन्जमै मूर्ति बन्नले भारतबाट खरिद गर्नुपर्ने अवस्थामा केही हदसम्म कमी आएको र नेपाली रुपैयाँ भारत जानबाट रोकिएको स्थानीय बताउँछन् ।
नेपालगन्जमा यस्ता माटोको मुर्ति बनाउने व्यवसायी कति छन् यसको एकिन तथ्यांक भने छैन ।
घटस्थापना देखि पूजा गर्ने गरेको माता दूर्गाको मूर्ति एकादशीका दिन विसर्जन गर्ने गरिन्छ । नवरात्रीभर नेपालगन्जका चोक-चोकम मा दूर्गाको मुर्ति स्थापना गरि पूजा गर्ने प्रचलन रहीआएको छ ।