नेपालगन्ज सभाहल निर्माणमा ढिलाई, काम रोकियो
Sunday, October 24th, 2021, 8:25 pm
Kalpristha
निर्माणको जिम्मा लिएको कम्पनी लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सुलभ पौडेलले संघीय आयोजना कार्यान्वयन इकाईबाट भेरियसन अर्डर आउन ढिलाई भएका कारण हाल काम रोकिएको बताए । उनले निर्धारित समयमा काम सम्पन्न नहुनुमा कोरोना महामारीका साथै समयमा बजेट प्राप्त नहुनु पनि कारण रहेको बताए ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ७ कात्तिक
नेपालगन्ज उपमहानगरपालिका-१४ भवानीयापुरमा निर्माणाधिन सभाहलको निर्माण कार्यमा ढिलाइ भएको छ । कम्तिमा ८ सय जना अट्ने क्षमताको उक्त सभाहल अत्याधुनिक ढाँचा र प्रविधियुक्त हुनेछ ।
सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जमार्फत निर्माण भइरहेको उक्त सभाहल गत श्रावण २८ गतेसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेमा हालसम्म मात्र ६५ प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । अहिले निर्माण कार्य रोकिएको छ ।
२०७५ माघ २५ गते लामा कन्सट्रक्सनसँग सम्झौता भइ निर्माण सुरु भएको सभाहल तीन वर्षमा पनि पूरा हुन सकेन । ३२ करोड चार लाख ६३ हजार रुपैयाँ लागत लाग्ने इस्टिमेट गरिएको सभाहल निर्माणको सम्झौता भने २६ करोड ८४ लाख ४४ हजार एक सय ९ रुपैयाँमा गरिएको थियो ।
संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर विजयकेशर खनाल कोरोना महामारी सृजित लकडाउनका कारण निर्माण कार्य प्रभावित भएको बताउँछन् । ‘कोरोनाका कारण कामदारहरु पर्याप्त नपाइँदा केही ढिलो हुन गएको र भेरियसन गर्नुपर्ने भन्ने निर्माण कम्पनीबाट आएपछि हामीले म्याद थपका लागि मन्त्रालयमा लेखिपठाएका छौँ । भेरियसन अर्डर आएपछि निर्माण कार्य सुचारु हुन्छ । चैतसम्म निर्माण सम्पन्न हुनेछ भन्ने आशा गरेका छौँ,’ खनालले भने ।
निर्माणको जिम्मा लिएको कम्पनी लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सुलभ पौडेललेसंघीय आयोजना कायान्व्यन इकाईबाट भेरियसन अर्डर आउन ढिलाई भएका कारण हाल काम रोकिएको बताए । उनले निर्धारित समयमा काम सम्पन्न नहुनुमा कोरोना महामारीका साथै समयमा बजेट प्राप्त नहुनु पनि कारण रहेको बताए । ‘कोरोना त मुख्य कारण नै हो । अर्कोतिर हामीले पेश गरेको बिल भुक्तानी पनि समयमा हुँदैन । किस्ता-किस्तामा हुन्थ्यो । त्यसकारण पनि निर्माण कार्य हामीले सोचेजस्तो हुन सकेन ।’
पौडेलले अहिले सभाहल निर्माणका लागि अर्को साउनसम्म म्याद थपिएको बताए । थपिएको म्यादभित्र निर्माण कार्य सम्पन्न हुने दावी पौडेलको छ ।
के हो सभाहल ?
विभिन्न सभा सम्मेलनहरु गर्न मिल्ने सुविधासम्पन्न र अत्याधुनिक हल हो सभाहल । जसमा एउटा विशाल हल, अण्डरग्राउण्ड पार्किङ र आकर्षक परिसर निर्माण गरिनेछ । यस किसिमको हल अहिले नेपालगन्जमा छैन । ठूला सभा सम्मेलनका लागि होटेलहरुबाहेक अन्य विकल्प छैन । ठूला प्रदर्शनीहरु गर्नका लागि पनि उपयुक्त स्थलको अभाव छ ।
राजनीतिक देखि अन्य साँस्कृतिक कार्यक्रमहरु पनि गर्नका लागि उक्त सभाहल बहुउपयोगी सिद्ध हुनेछ ।
उप-महानगरपालिका स्तरको स्थानीय तहको मापदण्डमा पनि सभाहल एक मुख्य पुर्वाधार मध्येमा पर्छ । उक्त सभाहल निर्माण सम्पनन भइसकेपछि नेपालगन्ज उप-महानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।