म सभापतिको स्वभाविक उम्मेदवार हुँ : रामचन्द्र पौडेल
Monday, October 25th, 2021, 2:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ कात्तिक
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको लागि आफू स्वभाविक उम्मेद्वार भएको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा पत्रकारले राखेका जिज्ञासाको जवाफ दिँदै नेता पौडेलले १४ औं महाधिवेशनमा सभातिको उम्मेदवारीका लागि आफ्नो खेमाबाट अन्य नेताले पनि आकांक्षा राखेको भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने दावी गरे ।
आफु १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट आफुलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने आशा ब्यक्त गरे ।
‘प्रजातन्त्र भनेको सामुहिक नेतृत्व पनि हो, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं,’ उनले भने ‘केही साथीहरुको आकांक्षा कता कता सुन्नमा आएपनि सबै साथीहरुसँग छलफल गरेर एउटै उम्मेदवार टुंगा लगाउँछौं ।’
उनले अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने पनि बताए । आफु काठमाडौं फर्केर अधिवेशन समयमै गर्नका लागि सभापति शेरबहादुर देउवालाई अनुरोध गर्ने बताए । ‘पार्टीको अधिवशेन हुनुपर्छ, अधिवेशन नहुँदा पार्टी बैधानिक संकटमा परेको अवस्था छ । मै हिजो पनि त्यही भन्दै आएको थिएँ । अब पनि म सभापतिलाई त्यसैका लागि दवाब दिन्छु ।’ नेता पौडेलले भने ‘वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं ।’
प्रधान्यायाधीशमाथि लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नुपर्ने पौडेलको सुझाव छ । ‘उहाँमाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई प्रष्ट पार्नुपर्छ ।’
पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझ्न तथा पार्टीका नेता, कार्यकर्तालाई भेटघाट गर्नका लागि आइपुगेका वरिष्ठ नेता पौडेल बाँकेका कार्यकर्तालाई सम्बोधन गरेर सोमबार नै काठमाडौं फर्किएका छन् ।
संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पुरा गर्नुपर्ने उनको भनाइ छ । कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजान खोज्दा सरकारलाई हटाउन बाध्य भएको बताउँदै पौडेलले अहिलेको सरकारले पनि विगतका गल्तीलाई दोहोर्याउन नहुने पौडेलले बताए ।
आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्छ कि गठबन्धन बन्छ भन्ने पत्रकारको जिज्ञासामा पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितीले के कुराको अनुभती गर्दछ, त्यतिखेर नै निणर्य होला ।’
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा पत्रकार भेटघाट सम्पन्न भएको थियो ।