चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचनः आयोग
Monday, October 25th, 2021, 6:46 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ८ कात्तिक
निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् ।
सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् ।
संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था पनि नभएको र स्थानीय तह पदाधिकारीविहीन राख्न पनि नमिल्ने भएकोले देशभर एकै चरणमा, एकै पटक स्थानीय तहको निर्वाचन गर्न तयार रहेको आयोगबा पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । त्यसैले पहिला स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने आयोग पदाधिकारीहरुको जोड थियो । तीनै तहको निर्वाचन एकै पटक गर्ने, अर्ली इलेक्सन जस्ता बाहिर भएका चर्चाजस्तो संविधानमा त्यस्तो कुनै व्यवस्था नभएको पनि स्मरण गराएको छलफलमा सहभागी एक आयुक्तले बताएका छन् ।
आयोग पदाधिकारीहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि देशभर एकै पटक गर्न सकिने बताएका छन् । एक आयुक्तका अनुसार प्रधानमन्त्री देउवा स्थानीय चुनाव पहिले कि प्रदेश र प्रतिनिधिसभा भन्ने बहसमा प्रवेश नै गरेनन् ।
तर देशभर एकै पटक चुनाव गर्ने आयोगको प्रस्तावमा उनी सहमत देखिएका छन् ।