दोस्रो चरणको निर्वाचनमा देउवाको संभावना बलियो
Tuesday, December 14th, 2021, 4:10 pm
Kalpristha
कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा जितको संभावना बलियो बनेको छ । संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाको संभावना बलियो बनेको हो ।
पहिलो चरणमा ८२ मत मात्रै अपुग भएर रोकिएका उनलाई संस्थापन इतरबाट उम्मेदवारी दिएका सबै नेताले समर्थन गरेका छन् भने निकट प्रतिस्पर्धीका रूपमा रहेका शेखर कोइराला एक्लिएका छन् ।
कोइरालाले दोस्रो चरणमा संस्थापनइतर समूहलाई एक ठाउँमा ल्याउन सकेनन् । यस समूहका प्रमुख नेता रामचन्द्र पौडेल नै तटस्थ बनेपछि कोइराला अप्ठेरोमा परेका छन् । पहिलो चरणमा प्रकाशमान सिंहले तीन सय ७१ भोट ल्याएका थिए भने विमलेन्द्र निधिले दुई सय ४९ मत ल्याएका थिए । यी दुई नेताको आह्वानमा उनीहरू निकट प्रतिनिधिको सानो अंशले देउवालाई भोट दिए भने पनि उनको जित हुनेछ ।
यदि संस्थापनइतरका नेताहरू रामचन्द्र र प्रकाशमान सिंका साथै अर्का उम्मेदवार विमलन्द्र निधिले समेत समर्थन गरेको भए मात्र कोइरालाले दोस्रो चरणमा देउवालाई टक्कर दिन सक्ने सम्भावना थियो । तर, रामचन्द्र तटस्थ बस्दा प्रकाशमान र निधिले देउवालाई नै समर्थन गर्ने निणर्य गरेका छन् ।
शेखरले पहिलो चरणमा आफूलाई समर्थन गरेका रामचन्द्रलाई पनि उनले दोस्रो चरणमा साथमा राख्न सकेका छैनन् । पहिलो चरणको चुनावमा १७०२ भोट ल्याएका शेखर देउवाभन्दा पाँच सयभन्दा बढी मतले पछि छन् । देउवा बाहेकका सबै उम्मेदवारले समर्थन गर्दा मात्रै शेखरले सभापतिको चुनाव जित्ने आशा राख्न सक्थे । तर, ८२ मत प्राप्त गरेका देउवा अब रेसमा निकै अगाडि देखिएका छन् ।
संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाले सभापतिका रूपमा दोस्रो कार्यकाल खाने सम्भावना प्रबल बनेको छ । देउवालाई सभापतिमा हराउनका लागि संस्थापन इतर पक्षबाट साझा उम्मेदवार उठाउन अन्तिमसम्म प्रयास भएको थियो । तर, यस पक्षका नेताहरु आफ्नो नाममा मात्रै सहमति गर्ने अडान लिए । सहमति नभएपछि सबै लाखापाखा भए । संस्थापनइतर पक्षबाट शेखर र प्रकाशमान उम्मेदवार भए भने रामचन्द्र र शशांक कोइरालाले मैदान छाडेर हिँडे ।
यससँगै कांग्रेसमा नेतृत्व परिवर्तनको आवाज यसपटक पनि आवाजमा मात्रै सीमित हुने देखिएको छ । यद्धपि सभापतिबाहेकका पदको मतगणना भने हुन बाँकी छ ।