प्रदेशको गौरव सडक निर्माण सुस्त गतिमा
Tuesday, December 14th, 2021, 4:11 pm
Kalpristha
लिलाधर ओली
दाङ, २८ मंसिर
घोराही उपमहानगरपालिका-३ कुइरेपानीदेखि घोराही उपमहानगरपालिका-१६ सर्रा जोड्ने कुइरेपानी-सर्रा बाइपास सडक प्रदेशको गौरवको आयोजनाभित्र पर्छ । कुनै समय घोराहीको रिङरोडभित्र पर्ने उक्त सडक प्रदेश सरकार स्थापना भएसँगै घोराही बजारमा सवारी जाम कम गर्ने उद्देश्य अनुसार प्रदेश सरकारले उक्त सडकलाई बाईपास सडकका रुपमा अघि बढायो । तर तीन वर्षअघि काम सुरु भएपनि सडक निर्माणको गति भने सुस्त रहेको छ ।
प्रदेश सरकारको गौरवको सडक आयोजनाका रुपमा रहेपनि बजेट अभावसँगै सडक बिस्तारको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अघि नबढ्दा सडक निर्माणले गति लिन सकेको छैन । बाईपास सडकको मुख्यद्वारमै जग्गा प्राप्त गर्न नसक्दा सडक निर्माणको काम सुस्त रहेको पूर्वाधार विकास कार्यालय घोराहीका सूचना अधिकारी चन्द्रबहादुर शाहले बताए । उनका अनुसार बाईपास सडकलाई घोराही-लमही सडकखण्डमा जोड्ने सडकको निकास टुंगो लाग्न सकेको छैन । ‘बाईपास सडक निर्माणको लागि डिपिआर निर्माणदेखि सिस्ने खोलामा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अन्य खोलाहरुमा कल्र्भट निर्माणदेखि ९ किलोमिटर सडक मध्य ६ किलोमिटर ग्राभेल गर्ने भैसकेको छ’, सूचना अधिकारी शाहले भने,‘तर सडकको मुख्य खण्डमै जग्गा प्राप्त नहँुदा सडकको निकास जाम जस्तै भएको छ ।’
शाहका अनुसार वाइपास सडकको प्रदेशद्वारमै पुल भएकाले सिधा जोड्न नमिल्ने र सडक घुमाएर अन्यत्रबाट लग्दा व्यक्तिको जग्गा भएकाले सडक निर्माणमा समस्या भएको बताए । कुइरेपानीमा सडकलाई घोराही-लमही सडक खण्डमा जोड्नका लागि करिब दुई सय ८० मिटरसम्म जग्गा खरिद गर्नुपर्ने भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । तर उक्त जग्गा निजी व्यक्तिको नाममा भएकाले समस्या भएको सूचना अधिकारी शाहले बताए छ । ‘जग्गा प्राप्तीका लागि स्थानीय सरकार, सम्बद्ध निकायसँग पटक-पटक छलफल भएको छ’, उनले भने, ‘तर निकास निस्कन सकेको छैन ।’
उक्त समस्या समाधानका लागि प्रदेश सरकारले घोराही उपमहानगरपालिकालाई पहल गरिदिन आग्रह गरेपनि समाधान हुन नसकेको उनले बताए । सडक बिस्तारका लागि पहिलो वर्ष ६ किलोमिटर ग्राभेल गर्नेदेखि उक्त सडक खण्डका विभिन्न स्थानमा करिब ४२ वटा बक्स कल्भर्ट निर्माण गर्ने काम भएको कार्यालयले जनाएको छ । कोरोनाका कारण र जग्गा प्राप्तिमा समस्या भएपछि गत आर्थिक वर्षमा सो योजनामा बजेट खर्च हुन सकेन ।
आर्थिक वर्ष २०७५-०७६ मा सडकका लागि दश करोड रुपैया छुट्याएको भएपनि करिब ६ करोड खर्च भएको कार्यालयले जनाएको छ । गतवर्ष सडकको डिपिआरलगायत अरु प्राविधिक काम सकिएको जानकारी गराउँदै सुचना अधिकारी शाहले जग्गा प्राप्तिको काम सकिए लगत्तै सडक बिस्तारको कामले गति लिने बताए ।
प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको करिव नौ किलोमिटर कुइरेपानी-सर्रा बाईपास सडकका लागि कार्यालयले करिब ८० करोड लागत अनुमान गरिएको जनाएको छ । प्रदेश सरकारले यस आर्थिक वर्षमा उक्त सडकका लागि एक करोड बजेट विनियोजन गरेको जनाएको छ ।