विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
Tuesday, December 14th, 2021, 6:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ मंसिर
नेपालगन्जमा एक शिक्षकले विद्यार्थीलाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज कारकाँदो स्थित एक विद्यालयमा अध्यक्ष तथा कलेजका अङ्ग्रेजी विषयको शिक्षकसमेत रहेका हिक्मत रावललाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
४१ वर्षीय रावलले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाउँदै जाहेरी परेपछि मंसिर २४ गते पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । एक १७ वर्षीया छात्राले आफूलाई ट्युसन पढाइदिने र छुटेको विषय पढाइदिने नाममा होटलमा समेत बोलाई बलात्कार गरेको आरोप जाहेरीमा लगाइएको प्रहरीले जनाएको छ । उनले ती छात्रालाई कहिले होटल त कहिले घरमै बलात्कार गरेको ती छात्राले बयान दिएकी छन् ।
रावलले साउन २७ गते अनलाइन क्लासमा छु्टेको विषय पढाइदिने भन्दै पुष्पलालचोकस्थित एक होटलमा बोलाए बलात्कार गरेको र त्यसपछि फोटो र भिडियो बनाएको भन्दै ब्ल्याकमेलिङ गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । त्यसको दुई दिनपछि २९ गते धम्की दिँदै फेरि त्यही होटलमा र मंसीर १० गते कोठामा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
पक्राउ परेका शिक्षकलाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।