नेपालगन्जलाई स्वास्थ्यको हव बनाइँदै
Tuesday, December 14th, 2021, 7:31 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाले शहरलाई स्वास्थ्य हवको रुपमा अघि बढाउन प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पुर्याउने भएको छ । मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा समीक्षा कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपालगन्ज पश्चिम नेपालका तीन प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिने सबैभन्दा ठूलो शहर भएको भन्दै यसलाई स्वास्थ्यको हवको रुपमा अघि बढाउन उपमहानगरपालिकाका तर्फबाट आवश्यक सहयोग प्रदान गरिने बताए । प्रोत्साहन र प्रवद्र्धनका लागि तत्काल कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख राणाले बताए ।
अस्पतालजन्य फोहर ब्यवस्थापन सबै अस्पतालका लागि चुनौती भएको भन्दै उनले उप-महानगरपालिकाले जिआईजेडको सहकार्यमा अस्पतालजन्य फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरेर सञ्चालन हुने चरणमा पुगेको जानकारी दिएका हुन् ।
नेपालगन्ज उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नेपालगन्जमा संख्यात्मक रुपमा धेरै स्वास्थ्य संस्था भएपनि आम नागरिकलाई सहजताका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । वातावरण शाखा प्रमुख प्रकाश डिसीले नेपालगन्जका अस्पतालबाट दैनिक एक हजार दुई ४२ किलोग्राम अस्पताल जन्य फोहर उत्पादन हुने जानकारी दिँदै प्रशोधन केन्द्र सञ्चालन भएपछि अस्पतालजन्य फोहर व्यवस्थापनमा सहज हुने बताए ।
उप-महानगरपालिकासहित निजी स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी, औषधी व्यवस्था विभाग, रेडक्रस सोसाईटी लगायतका संघ-संस्थाका प्रतिनिधि सम्मिलित बैठकबाट प्रशोधन केन्द्रबाट अस्पताल जन्य फोहर व्यवस्थापनको निश्चित मापदण्ड, शूल्क निर्धारणलगायतका विषयमा १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी नेपालगन्ज उप-महानगरपालिकाका वातावरण शाखा प्रमुख डिसीको संयोजकत्वमा र नेपालगन्ज उप-महानगरपालिकाका विशेषज्ञ चिकित्सक डा. प्रकाश नागको संयोजकत्वमा मेडिकल हबका लागि गर्न सकिने आवश्यक प्रोत्साहन र प्रवद्र्धनात्मक कार्यक्रमबारे प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ । दुवै समितिले १० दिनभित्र प्रतिवेदन उप-महानगरपालिकामा बुझाउनेछन् ।