अबको विद्यार्थी राजनीति सुसंस्कृत हुनुपर्छ : नेपाल
Saturday, December 18th, 2021, 10:25 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, पुस २
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको विद्यार्थी राजनीति सुसंस्कृत हुनुपर्ने बताएका छन् । नेपालगन्जमा शुक्रबार आयोजित अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेशको प्रथम अधिवशन उ्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको विद्यार्थी संगठन सुसंस्कृत र सृजनशील भएको हेर्न चाहेको बताए ।
लुम्बिनीका विभिन्न जिल्लाबाट भेला भएका अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुलाई निर्देशन दिँदै नेपालले भने, ‘विद्यार्थीको पहिलो काम अध्ययन गर्नु हो । त्यसमा आफूलाई अब्बल साबित गर्नुहोस् ।’ नेता नेपालले एकीकृत समाजवादी पार्टी राष्ट्रियता र समाजवादको सच्चा पहरेदार भएको बताउँदै सोहीनुसार राष्ट्रभक्ति र देशप्रेममा खरो उत्रिन विद्यार्थीहरुलाई निर्देशन दिए । साथै उनले युनियनको सही नेतृत्व छनौट गर्नपनि आग्रह गरे ।
यस्तै एकीकृत समाजवादीका सचिव एवं सहरी विकासमन्त्री रामकुमारी झाक्रीले अहिले देशको परिस्थिति युवा विद्यार्थीहरु चनाखो भएर लाग्नुपर्ने अवस्थाको रहेको बताइन् । उनले समाजका र देशका मुद्धामा शशक्त आवाज उठाउन विद्यार्थी नेताहरुलाई आग्रह गरिन् । उनले संगठनलाई चलायमान गराउन सबैलाई उपयुक्त भूमिका बाँडफाड गर्न र केही न केही गतिविधिमा सामेल भइरहन सुझाव दिइन् ।
उक्त कार्यक्रममा अध्यक्ष नेपालले केही व्यक्तिहरुलाई एकीकृत समाजवादीमा प्रवेश पनि गराएका छन् । अनेरास्ववियुको प्रथम अधिवेशन शनिबारसम्म चल्ने बताइएको छ । अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गरिने छ ।