मृत्युपश्चात् पनि जीवन्त ‘गौरव’
Tuesday, December 28th, 2021, 6:51 pm
Kalpristha
-रमण ओली
मृत्यु एउटा शाश्वत् सत्य हो । हरेक जीवनको शुरुवातसँगै एउटा कटू यथार्थ पनि हो यो । अवधि छोटो या लामो होला तर अन्त्य निश्चित छ । तथापि यो तीतो यर्थाथलाई भुलेर जीवन र मृत्युबीचको अवधिलाई आ-आफ्नो ढंगबाट जिउने प्रयास सबैको हुन्छ ।
विक्रम संवत् २०५५ पुस १३ गते बुबा प्रदीप साह र माता रिता साहको कोखबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा जन्मिएका गौरव शाह २३ वर्षको कलिलो उमेरमा यस संसारबाट विदा लेलान् भन्ने सायदै कसैले सोचेका थिएनन् । अपत्यारिलो तवरले भएको उनको निधनलाई बिर्सन नसकेर अहिले पनि उनका बाबु आमा भक्कानिने गर्छन् । कान्छो सन्तान गुमाउनु पर्दाको पीडामा बाबुआमा भक्किानिनु स्वभाविकै हो तर उनी यस संसारमा छैनन् भनेर साथीभाइ समेतलाई विश्वास गर्न गाह्रो भइरहेको छ । साथीभाइको मनमस्तिष्कमा गहिरो छाप छोडेका गौरवलाई सम्झेर साथीभाइ समेत नतमस्तक छन् ।
हो हाम्रो आफन्त वा साथीभाइ हामी माझ नरहँदा हामीलाई असाध्यै पीडा हुने गर्दछ । केही दिन, केही महिना वा केही वर्ष हामी माझ नरहेका आफन्त वा साथीभाईलाई सम्झेर बस्ने गर्छौं । उनको अभाव महसुस गर्ने गर्छौ । तर गौरव सदा आफन्त र साथीभाई माझ अमर रहनेछन् ।
गौरव आफन्त र साथीभाईका माझ त्यत्तिकै अमर बन्न सफल भने भएका होइनन् । गौरवले यस संसारमा रहुन्जेल उनले समाजका लागि गरेको असल कामका लागि अमर भएका हुन् । उनको सोचका कारण उनी सदा साथीभाई र आफन्तबीच जीवन्त रहेका हुन् । उनलाई जीवन्त बनाउनमा उनका बाबुआमा र साथीभाईले पनि ठूलो योग्दान दिएका छन् ।
ब्याचरमा अध्ययनरत गौरव आफूमा आफैं खुसी भए अरुलाई पनि खुसी दिन सकिन्छ भन्ने महान सोच लिएर अघि बढेका युवा थिए । घरबाट पाउने पकेट खर्चलाई बचत गरेर सामाजिक काममा खर्चिने युवा थिए । यही सोचले पनि उनलाई अमर बनाएको हो ।
मानिसका विभिन्न कालखण्डमा फरक-फरक विचारधारा हुन्छ । त्यही विचारधाराबीच गौरव जब अभावमा परेका व्यक्तिलाई देख्थे तब उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने सोच्थे । जुन सोच उनले आफूसँगैका साथीभाईलाई पनि शेयर गर्ने गर्थे । असल सोचले गन्तव्यलाई पछ्याउँछ । गौरवको असल सोचलाई घरपरिवारदेखि साथीभाईले पनि मनैदेखि साथ दिए । र उनले अभावमा रहेका व्यक्तिदेखि लिएर पशुपन्छीलाई पनि सहयोग गर्ने उद्देश्यले ‘बि योर सेल्फ’ नामक संस्था जन्माए । संस्था त जन्मियो तर बिना सहयोग (पैसा) कसरी चलाउने ? संस्था स्थापनाका बखत गौरवलाई आइपरेको समस्या थियो यो । आफू आफैंमा खुसी भए अरुलाई सहयोग गर्न सकिन्छ भन्ने सोच भएका गौरवले आफैंबाट समस्याको समाधान निकाले । त्यो थियो घरबाट पाउँदै आएको पैसालाई बचाएर समाज सेवा गर्ने । र उनको सोचमा साथीभाईले पनि भरमग्दुर सहयोग गरेर संस्थालाई चलायमान गराए ।
१० जना युवालाई साथमा लिएर हिँडेका गौरवले जीवन पर्यन्त थुपै्र व्यक्तिलाई सहयोग गरेका छन् । २०७६ सालमा स्थापना भएको ‘बि योर सेल्फ’का परिकल्पनाकार गौरवको संस्थालाई अहिले घरपरिवारदेखि साथीभाईले चलाइरहेका छन् ।
गौरवको अगुवाइमा संस्थाले करिब २० प्रकारका विभिन्न कार्यक्रम गरी अभावमा रहेका व्यक्तिका लागि खाजा बेचेर आएको पैसाले सहयोग गर्नुका साथै, रक्तदानको कार्यक्रम संचालन गर्ने, पकेट खर्च बचाएर माक्स वितरण गर्ने, सार्वजनिक ठाउँको सरसफाई गर्ने, अनाथ आश्रम र वृद्धाश्रममा रहेका व्यक्तिलाई खानेकुरादेखि लत्ताकपडा सहयोग गर्ने छाडा चौपायालाई औषधिउपचार गर्ने लगायतका मनकारी काम गरेका छन् ।
संस्थाका परिकल्पनाकारको निधनपश्चात् त्यसमा संलग्न युवालाई संस्थालाई चलायमान बनाउन विभिन्न समस्याको सामना गर्नु पर्यो । संस्थाका परिकल्पनाकार नै नरहे संस्था कसरी अघि बढ्छ भन्ने पनि सोच पनि युवामा आयो । तर अहिले त्यो संकुचित सोच फराकिलो भएको छ । कारण जुन सोचले गौरवले संस्था स्थापना गरेका थिए त्यसलाई साकार पार्न अहिले गौरवका परिवार पनि युवाहरुसँग उभिएका छन् ।
कमै व्यक्ति हुन्छन् । यस संसारमा नरहेका व्यक्तिको सपनालाई आफ्नो बनाउने । तर गौरवका बाबु आमाले छोराको मृत्युपर्यन्त पनि प्यारो छोराको सपनालाई आफ्नै सपना सम्झेर उभिएका छन् । छोराले लिएको महान सोच, छोराको सपना ‘अभावमा परेका व्यक्तिलाई सहयोग गर्ने’ त्यसको अभिभारा अहिले गौरवका बाबुआमाले लिएका छन् । छोराले स्थापना गरेको संस्थालाई अघि बढाउन र संस्थालाई गौरवको अभाव नखट्कियोस् भन्ने उद्देश्यका साथ गौरव स्मृति अक्षय कोष स्थापना गरेका छन् ।
७ लाख रुपैयाँको अक्षय कोषबाट आएको ब्याजले छोराको सपना पूरा हुनेमा उनीहरु विश्वस्त छन् । र, संस्थामा आवद्ध युवा पनि अहिले उत्साहित भएका छन् । मनमस्तिष्कमा बस्न सफल साथीको सपना पूरा गर्न हौसिएका छन् । यस संसारमा छँदा गौरवले गरेको कार्यले नै उनलाई अमर बनाएको हो । संसारमा रहुन्जेल जीवन यसरी नै बिताउनु पर्छ भन्ने अमिट छाप छोड्न सफल भएका छन् गौरव । उनले लिएको महान लक्ष्य बिना बाधाअड्चन अघि बढिरहोस् । शुभकामना !