बाँकेका बहिरंग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सम्पन्न
Friday, December 31st, 2021, 2:20 pm
Kalpristha
–नेपालगन्ज
बाँकेका स्वास्थ्य संस्थाहरुबाट सन्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम बहिरंग उपचार केन्द्र (ओटिसी)को प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । सुआहारा, बी ग्रुप र युएसएआइडीको आर्थिक सहयोग एवं स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा जिल्लाका सबै १८ वटा बहिरंग उपचार केन्द्र र एउटा पोषण पुनस्र्थापना केन्द्रका कामको समीक्षा गोष्ठी सम्पन्न भएको हो ।
जिल्लाका आठ स्थानीय तहहरुलाई दुईवटा ब्याचमा विभाजन गरेर सन्चालन गरिएको समीक्षा कार्यक्रममा हालसम्म भएका कामहरु र आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक रणनीति र योजना तय गरिएको छ ।
समीक्षामा स्वास्थ्य संस्थाका प्रमुख, उपचार केन्द्र फोकल पर्शन र स्वास्थ्य शाखा प्रमुखहरु सहभागी थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहको अध्यक्षतामा सम्पन्न समीक्षामा, वरिष्ठ प्राविधिक संयोजक अमृत पौडेल र स्वास्थ्य कार्यालयका पोषण फोकल पर्शन वसन्ती मल्लले सहजीकरण गरेका थिए । साथै कार्यक्रमको उदेश्यका बारेमा सुआहराका वरिष्ठ कार्यक्रम संयोजक विकास रोकायले जानकारी गराएका थिए ।
बहिरंग उपचार केन्द्रका कामको समिक्षा गर्ने, स्वास्थ्यकर्मीहरुको ज्ञान र क्षमता अभिबृद्धि गर्ने एवं आगामी कार्ययोजना बनाउने उद्देश्यले सन्चालित समीक्षामा कुपोषित बच्चाहरु उपचारबाट बिचमै छुट्नुका कारण, कार्यक्रम सुदृढ गर्ने उपायहरु, कार्यक्रमको प्रभाव बढाउने उपायहरु, भोगिएका समस्याहरु, राम्रा अभ्यासहरु र कुपोषणमुक्त समाज निर्माणका उपायहरुबारे घनिभुत छलफल भएको बी ग्रुपका फिल्ड संयोजक सुरेश चौधरीले जानकारी दिए । यसैगरी बहिरंग उपचार केन्द्र स्थापना र सृदृढिकरण, उपचार केन्द्रहरुको विस्तार, स्थानान्तरण वा बन्द गर्ने प्रकृयाका बारेमा पनि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गराइएको उनले बताए ।

वरिष्ठ प्राविधिक संयोजक अमृत पौडेल
वरिष्ठ प्राविधिक संयोजक पौडेलले कडा शीघ्र कुपोषित बच्चाहरुको उपचार गर्न आवश्यक ज्ञान र सीपको पुनरावलोकन, क्षय व्यवस्थापनका चरणहरु, क्षय उपचार सुदृढिकरण (आइमाम) निर्देशिका, बृद्धि अनुगमन कार्यक्रम सुदृढ गर्ने उपायहरु र क्षय उपचार सुदृढिकरण कार्यक्रमको प्रभाव बढाउने उपायका बारेमा सहजीकरण गरेका थिए । पौडेलले समयमै कुपोषित बालबाबिलकाको व्यवस्थापन किन आवश्यक छ ? भन्ने विषमा उत्प्ररेणात्मक प्रस्तुति पनि दिएका थिए । यस्तै प्रोत्साहन भत्ता, बहिरंग उपचार केन्द्र स्थापना र सृदृढिकरणलगायतको बजेट, उपचार केन्द्रहरुको बिस्तार, स्थानान्तरण वा बन्द गर्ने प्रकृया, पोषणयुक्त खानाको तयारी (आरयुटिएफ)को आपूर्ति प्रणालीका विषयमा स्वास्थ्य कार्यालयका पोषण फोकल पर्शन मल्लले सहजीकरण गरेकी थिइन् ।

पोषण फोकल पर्शन वसन्ती मल्ल
समीक्षामा उपचार केन्द्रका फोकल पर्सनहरुले आ-आफ्नो प्रस्तुतीकरण गरेका थिए भने समीक्षाको अन्तमा आगामी कार्ययोजना तयार गरिएको बी ग्रुपका फिल्ड संयोजक चौधरीले जानकारी दिए । कार्यक्रमपछि सहभागीहरुले समीक्षाले थप सक्रिय भएर काम गर्न उर्जा प्रदान गरेको प्रतिक्रिया दिएका छन् ।