नेपालगन्जका स्थानीय उत्पादनको संगम, कोसेली घर (भिडियोसहित)
Friday, December 31st, 2021, 3:37 pm Kalpristha
गोपाल बुढाक्षेत्री नेपालगन्ज, १६ पुष
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ स्थित जयबागेश्वरी मावि हुँदै बागेश्वरी मन्दिर जाने बाटो छेउमा एउटा घर छ । जहाँ हातैले बनाएका पोतेका विभिन्न आइटम, दाल, मस्यौरा, घ्यु, मह, ओखर, थारु हस्तकलाका विभिन्न आइटमहरु सजाएर छन् । बाहिरपट्टि बोर्डमा लेखिएको छ, कोसेली घर ।
स्थानीय सरकार गठनपछि स्थानीय उत्पादनहरुको बजारीकरणमा सरकारको दायित्व पूरा गर्ने योजनाका रुपमा अघि सारिएको थियो कोसेली घरको अवधारणा । सोही अवधारणमा आधारित भई नेपालगन्ज उप-महानगरपालिकाको सहयोगमा २०७६ सालको वैसाख महिनामा उद्घाटन गरिएको थियो कोसेली घर । तर यसबिचमा कोसेली घरले व्यवस्थित भवनको अभाव र कोरोनाका कारण उदेश्यअनुसारको सफलता प्राप्त गर्न सकेन । अढाई वर्षपछि बल्ल घर व्यवस्थित बनेको छ ।
अहिले कोसेली घरको आफ्नै एकतले भवन बनेको छ । एक कठ्ठा २० धुरको आफ्नै जमिनमा स्थापना भएको कोसेली घरले अब स्थायित्व प्राप्त गरेको छ । घरमा चाडै बिग्रने उत्पादनहरु राख्नका लागि फ्रिजरको पनि व्यवस्था गरिएको छ ।
विन बाँकेले आयोजना गर्दै गरेको उद्यमी मेलाबारे भिडियो सामग्री र कोसेली घरका दृष्य :
उद्घाटन भएपछिका करिब अढाई वर्षमा कोसेली घर व्यवस्थित भवनको अभाव र कोरोनाका कारण प्रभावकारी बन्न सकेको थिएन । महिला उद्यमी संघ (विन) बाँकेले सन्चालनको जिम्मा पाएको उक्त कोसेली घरलाई विशेषगरी महिला उद्यमीले घरमा उत्पादन गरेका हस्तकलाका साथै घरेलु उद्योगका उत्पादनहरु बिक्रीवितरण गर्ने स्थलका रुपमा विकास गरिँदै छ ।
कोसेली घरको भौतिक निर्माणका लागि हालसम्म घरेलु तथा साना उद्योग कार्यालयले एकपटक १५ लाख र अर्कोपटक १० लाख गरी २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने नेपालगन्ज उप-महानगरपालिकाले पाँच लाख नगदसहित भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको थियो ।
कोसेली घरबाट जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादन भएका अर्गानिक र हस्तकलाका सामग्री बिक्री वितरण गर्ने उदेश्य राखिएकोे छ ।