एनसार्कले मनायो ३८ औँ वार्षिकोत्सव
Friday, December 31st, 2021, 4:30 pm
Kalpristha
नेपालगन्जस्थित नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र (एनसार्क)ले आफ्नो ३८ औँ वार्षिकोत्सव मनाएको छ । नेपालका पहिलो छाला तथा यौनरोग विशेषज्ञ डा. जिराज शाक्यले स्थापना गरेको एनसार्कले एड्स तथा एचआइभिविरुद्ध जनचेतना एवं उपचारमा सहयोगका कार्यक्रम सन्चालन गर्दै आएको छ ।
एनसार्कका अध्यक्ष शाक्यको सभापतित्व र जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहको प्रमुख आतिथ्यतामा सम्पन्न ३८ औँ स्थापना दिवस कार्यक्रममा संस्थाले गरेका कामको समीक्षाका साथै अनुभव आदानप्रदान गरिएको थियो । कार्यक्रममा भेरी अस्पतालको एआटी सेन्टर, एएचएफ नेपाल, चेन्ज टिम, एनडिसी, जुनकिरी महिला समूह, पश्चिम तारा नेपाल, टिभी नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका निर्देशक बचनु झाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका कार्यक्रम संयोजक माजिद अलिले गरेको संचालक समितिका सदस्य शंकर प्रशाद जोशीले जानकारी दिए । कार्यत्रममा संस्थाका पूर्व कोषाध्यक्ष स्व. अरुण कुमार गुप्ता (सानु)प्रति फूल तथा अबिर अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
एनसार्कले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्य गरेर सन्चालन गरेका एचाइभी एड्स विरुद्ध जनचेतनाका कार्यक्रमहरुको प्रतिफल सह्राहनिय रहेको कार्यक्रमका सहभागीहरुले बताए ।
संस्थापक डा. शाक्यले सन् १९८३ मा संस्थाको स्थापना गरिएको बताए । छाला तथा यौनरोगमा विशेषज्ञता हासिल गरेर आएपछि आफूले सामाजिक सेवामा पनि काम गर्नुपर्छ भन्ने उदेश्यले संस्थाको स्थापना गरेको उनले बताए । त्यस समयमा एचाइभि एड्सबारे अनेक हल्ला एवं डर फैलिएको र यौन रोग भनेपछि समाजिक विभेद पनि भोग्नुपर्ने अवस्थालाई ध्यानमा राखेर जनचेतना अभिबृद्धि गर्ने उदेश्यले संस्थाको स्थापना गरेको उनले बताए । एनसार्कले नै पहिलोपल्ट नेपालगन्जमा एड्सको संक्रमित पत्ता लगाएको उनले जानकारी दिए ।
हाल एनसार्कले विभिन्न दातृ निकायसँग सहकार्य गरेर एचआइभि एड्स संक्रमितलाई खोज्ने र उनीहरुलाई उपचारको पहुँचमा ल्याउने कार्यक्रम गर्दै आएको जनाएको छ । स्थापनकालदेखि हालसम्म एनसार्कले पश्चिम नेपालमा एचआइभि एड्सबारे अनेक कार्यक्रम सन्चालन गरेकोमा हाल मानिसहरुमा जनचेतना अभिबृद्धि भएको शाक्यको दाबी छ । मानिसहरुमा एड्स रोगप्रति सचेतना बढेको र संक्रमितलाई गर्ने विभेद घटेको उनको भनाइ छ ।
डा. शाक्यले सरकारी र गैरसरकारी निकायको प्रयासमा एड्सबारे जनचेतना मात्रै नभै उपचारमा पनि उल्लेखनीय सफलता मिलेको तर बाँकेजस्तो सीमावर्ती जिल्लामा सीमाका खुला सीमा र मानव बेचबिखनका कारण हुने एड्सको जोखिम घटाउनेगरी सरकारले कार्यक्रम तय गर्नुपर्ने सुझाव दिएका छन् ।