५२५ जना हराएको निवेदन, २०३ जनामात्रै फेला
Friday, December 31st, 2021, 8:01 pm
Kalpristha
माइती नेपाल नेपालगन्जमा सन् २०२१ मा ५ सय २५ जनाको खोजतलासको निवेदन परेको पायएको छ । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार वर्ष २०२१ मा ५ सय २५ जनाको खोजतलासको निवेदन परेकोमा दुई सय तीन जनामात्रै फेला परेका छन् । तीमध्ये कतिपय हराएकै हुनसक्ने र कतिपय भेटिएर पनि भेटिएको जानकारी नआएको हुनसक्ने उनले बताए ।
साथै भाइती नेपालले नेपालगन्ज नाकाबाट चार सय ३४ जनालाई घर फिर्ता गरेको जनाएको छ । नेपालगन्जमा आयोजित अन्तर्कृया कार्यक्रममा कोइरालाले चार सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको जानकारी दिए । सन् २०२१ मा सुर्खेतका ६५, दाङका ६१, बाँकेका ५६ र बर्दियाका ४६ महिला र बालबालिका जोखिमपूणर् यात्रामा रहेकालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।
माइती नेपालले नेपालगन्ज नाकामा बसेर जोखिमपूणर् यात्रामा जान थालेका महिला तथा बालबालिकालाई रोक्ने काम गर्दछ । उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइन्छ ।
यस्तै ११ जना श्रम र यौन शोषणमा परेकालाई पनि उद्दार गरिएको छ । कोइरालाले सामाजिक बेचबिखनकर्ताले सन्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए ।
विगतमा नाकाबाट उद्धार गर्ने बढी र खोजतलासको निवेदन कम पर्ने गरेकोमा यो वर्ष त्यसको विपरित भएको छ । कोभिडका कारणले गर्दा यस्तो भएको कोइरालाको भनाइ छ । माइती नेपालमा महिला तथा बालबालिका सम्पर्कबिहीन भएको भन्दै खोजतलासको निवेदन पर्ने गरेकोमा यो वर्ष तीन जना पुरुष भारतमा बन्धक भएकाले उद्धारका लागि निवेदन परेको छ ।
यसै वर्ष गर्भासय बेचबिखनको घटना पनि बाहिर आएको छ । बाहिर खुल्न नचाहेपनि सम्पर्कमा आउनेहरु बढेका कोइरालाले बताए । यी मध्ये अहिले एउटा घटना परीक्षणमा रहेको उनले जानकारी दिए । यस विषयमा बुझ्ने काम भइरहेको कोइरालाले बताएका छन् ।