नेपालगन्ज उपमहानगरले साना व्यवसायीलाई दियो ४ करोड ११ लाख ऋण
Saturday, January 1st, 2022, 6:00 am
Kalpristha
आर्थिक वर्ष २०७५-७६ देखि गत आर्थिक वर्ष २०७७-७८ सम्म तीन वर्षको अवधिमा तीन सय ३० जना व्यवसायीले दुई करोड ३१ लाख ८२ हजार रुपैयाँ ऋण लिएका छन् । तीमध्ये एक सय १२ जनाले ऋण चुक्ता गरिसकेका छन् । चालु आर्थिक वर्षको पुस ११ गतेसम्म एक करोड ८० लाख रुपैयाँ ऋण लिइसकेका छन् ।
–वीरेन्द्र जैसी
नेपालगन्ज वडा नम्बर ७ की रेणु नेपालीले नेपालगन्जको त्रिवेणीमोडनजिकै घुम्तीमा सानो लगानीमा कपडाको व्यापार गर्दै आएकी थिइन् । श्रीमान्को सामान्य कमाइ हुने जागिरले उनको पसल व्यवस्थित गर्न सकिने अवस्था थिएन । न उनको बैंकबाट ऋण लिएर व्यवसाय बढाउन सक्ने क्षमता थियो । यस्तो अवस्थामा रेणुका लागि नेपालगन्ज उप-महानगरपालिकाको साझेदारी विकास कार्यक्रम साँच्चिकै साझेदार बनेर आयो ।
कार्यक्रम अन्तर्गत टोलमा गठित टोलस्तरीय संस्थाको सम्पर्कमा आएपछि उनले सहजरुपमा बिना धितो ऋण पाइने जानकारी पाइन । त्यसपछि उनले दुई वर्षअघि ७५ हजार ऋण लिएर पसललाई व्यवस्थित गरिन् । अहिले उनको त्रिवेणीमोडमै पसल छ । ‘पहिले त सामान नै हुन्थेन । ग्राहकहरु आउँथे खोजेको समान नपाएपछि फर्किन्थे । ग्राहकलाई तान्नेगरी झकिझकाउ सामान राख्न पाइएको थिएन । अहिले त पहिलेभन्दा व्यवस्थित पसल बनेको छ । ऋण पाएपछि सामान थप्न पाइयो । त्यसले आम्दानी पनि बढेको छ । मेरो लागि त यो कार्यक्रम एकदमै बरदान बनेर आयो,’ रेणुले भनिन् ।
रेणुले पहिलोपटक लिएको ऋण चुक्ता गरेर अहिले पुनः दुई लाख रुपैयाँ ऋण लिइसकेकी छन् । उक्त ऋणको ब्याज पनि नियमित तिर्न सकिने उनको विश्वास छ । उनी भन्छिन्, ‘बैंकले हामीलाई पत्याउँदैनन् । ऋण दिइहाले पनि एकदुई दिन किस्ता तलमाथि हुँदा अनेक तनाव दिन्छन् । समूहबाट लिएको ऋणपनि १८ प्रतिशत ब्याज तिर्नुपर्छ । तर, नगरपालिकाले दिने ऋणमा त वार्षिक १० प्रतिशत ब्याजमा ऋण पाइन्छ । यो त हामीजस्ताका लागि धेरै ठूलो गुन हो ।’

कमला शर्माले सन्चालन गरेको स्टोर
रेणुजस्तै नेपालगन्ज-१ की कमला शर्माको अनुभव पनि उस्तै छ । शर्माले खजुरा रोडमा मजदुर स्टोर नामको किराना पसल सन्चालन गर्दै आएकी छन् । दुईवर्षअघि कमलाको पसलमा सामान नै कम थियो । आवश्यक लगानी गर्न पैसा थिएन । बैंकले पत्याएका थिएनन् । कमलाले उपमहानगरको साझेदारी विकास कार्यक्रमबाट ऋण लिइन् । अहिले उनको पसल पनि झकिझकाउ छ । उनी भन्छिन्, ‘यति सस्तो ब्याजदरमा बिना धितो र सामूहिक जमानीमा ऋण पाउनु सानो कुरा होइन ।’
नेपालगन्ज-२ बागेश्वरी मन्दिर परिसरमा मिठाई पसल सन्चालन गर्दै आएका त्रिलोकी गिरिलाई पनि साझेदारी विकास कार्यक्रमको ऋणले सहयोग पुर्याएको छ । करिब २५ वर्षदेखि मिठाइ पसल चलाउँदै आएका र करिब दुई दर्जन व्यक्तिलाई मिठाइको कारिग बनाएको बताउने त्रिलोकीको पसल भने सानो लगानीमा चलिरहेको थियो । लगानीको अभावमा उनले उत्पादन बढाउन सकेका थिएनन् ।
उनले पनि दुई वर्षअघि ५० हजार ऋण लिएर पसलमा लगानी गरे । थोरै लगानी उनकी श्रीमतिले बागेशवरीकै सटरमा सन्चालन गर्दै आएको पुजा सामग्रीमा पनि गरे । अहिले उनले पनि पहिले लिएको ५० हजार ऋण चुक्ता गरेर थप दुई लाख लिएर व्यवसायमै लगानी गर्दै छन् ।
यी केही उदाहरण मात्रै हुन् । नेपालगन्ज उपमहानगरपालिकाको सामाजिक विकास शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ देखि गत आर्थिक वर्ष २०७७-७८ सम्म तीन वर्षको अवधिमा तीन सय ३० जना व्यवसायीले दुई करोड ३१ लाख ८२ हजार रुपैयाँ ऋण लिएका छन् । तीमध्ये एक सय १२ जनाले ऋण चुक्ता गरिसकेका छन् । चालु आर्थिक वर्षको पुस ११ गतेसम्म एक करोड ८० लाख रुपैयाँ ऋण लिइसकेका छन् ।
साझेदारी विकास कार्यक्रम नेपालगन्ज उप-महानगरपालिकाको सामाजिक विकास र विपन्नहरुको आर्थिक विकासका लागि बनाएको सबैभन्दा महत्वाकांक्षी योजना हो । यस कार्यक्रमले साना लगानीका व्यवसायीलाई टोलमा गठित संस्थाको सिफारिस र सामूहिक जमानीमा २५ हजारदेखि दुई लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ । वार्षिक ब्याजदर मात्र १० प्रतिशत छ । मासिक किस्ताको रुपमा ऋण फिर्ता गर्दै जानुपर्छ ।
यस कार्यक्रमबाट व्यवसायलाई बढाउन चाहने तर लगानी अभाव भएका साना व्यवसायीलाई ठूलो लाभ प्राप्त भएको कार्यक्रमका संयोजक एवं कार्यपालिका सदस्य कौशलकुमार धोबी बताउँछन् । सामाजिक विकास शाखका प्रमुख कृष्णप्रसाद जोशी साझेदारी विकास कार्यक्रम सामाजिक विकासका लागि एक नमूनायोग्य कार्यक्रम भएको दाबी गर्छन् ।
ऋण चुक्ता गर्नेभन्दा नगर्ने धेरै
साझेदारी विकास कार्यक्रमको चुनौतिमध्ये एक हो ऋण चुक्ता । एकदमै कम दरको ऋण पनि चुक्ता नहुने समस्या देखिएको । गत आर्थिक वर्षको तथ्यांक हेर्दा ऋण चुक्ता गर्नेभन्दा नगर्ने धेरै छन् ।
ऋणिहरुको संख्या पनि घट्दो छ । कार्यक्रम सुरु भएको पहिलो वर्ष २०७५-७६ मा दुई सय ४७ जनाले श्रण लिएकोमा ७६-७७ मा ७८ र गत आर्थिक वर्ष ७७-७८ मा मात्र पाँच जनाले ऋण लिएका छन् । कोरोना महामरीका कारण पनि ऋण लिनेहरु घटेको कर्मचारीहरु बताउँछन् । त्यसको उदाहरण यसवर्ष पुनः ऋण लिनेहरु बढ्नु रहेको उनीहरुको दाबी छ ।
गत आर्थिक वर्षसम्म ऋण लिएकामध्ये दुई सय १८ जनाले ऋण चुक्ता गरेका छैनन् । त्यसमा पनि कोरोनाको मुख्य कारण रहेको बताइएको छ । यद्धपि पछिल्लो महिनामा ऋण चुक्ता गर्न आउनेहरु बढेको कर्मचारीहरुको भनाइ छ ।
सामाजिक विकास शाखा प्रमुख जोशी जनप्रतिनिधि, टोलस्तरीय संस्थाका प्रतिनिधि र कर्मचारीहरुको प्रयासमा ऋणीहरुलाई चुक्ता गर्न उत्प्रेरित गरिँदै आएको र ऋण नउठ्ने समस्या नहुने दाबी गर्छन् ।