महानगर यातायातले थप ४० बस थप्दै
Tuesday, December 20th, 2016, 10:33 pm
amit
पुस ५, काठमाण्डौ । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको जानकारी गराएको हो ।
महानगरले अब राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्ने जानकारी अध्यक्ष मधुसुदन अधिकारीले दिनुभयो । यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिने महानगरले जनाएको छ ।
यस्तै, महानगर यातायातले यही पुस १० गतेदेखि नै आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरेको जनाएको छ ।
हिमालयन हर्वल कम्पनीसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको उपहार योजनाअन्तर्गत यात्रुले प्रत्येक टिकटबापत लक्की ड्र मा सहभागी हुन पाउनेछन् जसबाट दैनिक रुपमा १५० भाग्यशाली यात्रुले हिमालयन हर्वलका तर्फबाट आकर्षक उपहार पाउनेछन् ।