केल्मी र न्यू डायमन्डबीच सम्झौता
Tuesday, January 4th, 2022, 7:47 pm
Kalpristha
खेलकुद सामग्री कम्पनी केल्मी र राष्ट्रिय भलिबल च्याम्पियन होंगान्जी न्यु डायमन्ड क्लबबीच सम्झौता नविकरण भएको छ ।
दुवै पक्षले मंगलबार एक कार्यक्रममाझ सम्झौता नविकरण गरेका हुन् । केल्मीको तर्फबाट आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपाने र न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
गत वर्षबाट सुरु भएको सम्झौता अनुसार केल्मीले न्यु डायमन्डलाई एक वर्षका लागि आवश्यक खेलकुद पोशाक र भलिबल उपलब्ध गराउनेछ । न्यु डायमन्डले वर्षभर सहभागिता जनाउने सम्पूणर् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा केल्मीको सामग्री प्रयोग गर्नेछ ।
केल्मीका निर्देशक न्यौपानेले न्यु डायमन्डसँगको सम्झौता दीर्घकालिन रहेको र खेलकुद विकासमा आफ्नो साथ निरन्तर रहने बताए । यस्तै अध्यक्ष मालीले केल्मीको साथलाई धन्यवाद दिँदै आगामी दिनमा थप सफलता हात पार्न मनोबल उच्च हुने बताइन् ।
न्यु डायमन्डले अर्को साता पोखरामा हुने दोस्रो टाइगर कप भलिबलमा सहभागिता जनाउँदै छ । केल्मीले यसै वर्षदेखि राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीलाई समेत प्रायोजन गर्दै आएको छ । केल्मीले तेक्वान्दो, कराते, गल्फ लगायत राष्ट्रिय टोली तथा ओलम्पिक र पारालिम्पिक टोलीलाई खेल सामग्री प्रायोजन गरेको थियो । फुटबलमा ए डिभिजन लिगका ४ टोलीले पनि केल्मीकै सामग्री प्रयोग गर्दै आएका छन् ।