लघुकथा : हिंसा
Saturday, January 22nd, 2022, 10:00 am
Kalpristha
–रचना शर्मा
‘तँ हत्यारा होस् ! अब मेरो घरमा काम गर्न आउन पर्दैन सावित्री ! वर्षदिन पछि फेरि यो दशैंको बेलामा अर्को हत्या गरिस् तैंले ।’
‘किन ? कसको हत्या गरें र मालिक्नी मैले ? थाहा छैन तपाईंलाई ? म त एक शाकाहारी हुँ ।’
‘शाकाहारी ? अनि तँ ? अल्लि पचेन सावित्री तँलाई । हाम्रो परिवारमा सबैको चित्त बुझाउने काम गरिस् ठिक छ । तर लुकिछिपी हाम्रो अपमान किन गरिस् ? अर्काको अपमान गर्नकक पनि हिंसा हो भनेर तैंले नै भनेकी होइनस् ?’
‘अपमान ….! कहिले गरें मालिक्नी ?
’घरमा लगेर खान्छु भनेर यहाँबाट लगेको खाना किन त्यो चोरलाई दिइस् हिजो राती ? अस्ति हाम्रै घरमा चोर्न आउने त्यही चोर होइन ? मैले देखें र पो चोर्न पाएन । त्यस्तालाई खानेकुरा मिल्काएर हिंडिस् ? हाम्रो अपमान गरिस् तैंले ?’
’मालिक्नी ! त्यो चोर होइन । खान नपाएरै हिंडेको भोको र गरिब मान्छे हो । बोल्न पनि सक्दैन त्यो । तीनदिन देखि भोको रहेको करा इसाराले बतायो मलाई । म त दिउँसो खाजा खाएर अघाएकी थिएँ । त्यसैले उसलाई दिएकी हुँ । के यस्तो भोकोलाई खान दिंदा पनि अपमान गरेको अनि हिंसा गरेको हककन्छ र ?’
सावित्रीका कुरा सुनेर आँखा भरिएर आयो उनकी मालिक्नीको ।