लघुकथा : मौन प्रतिवाद
Saturday, January 22nd, 2022, 11:00 am
Kalpristha
–विष्णु पादुका
उसो त नरनाथ पाध्ये धुरुन्धर पण्डित हुन् । आधुनिक हुँ भन्नेहरुलाई पनि नतमस्तक पारी छाड्छन् । हरिहर काकाको घरमा सप्ताहको बाचनको तेस्रो दिन थियो । गाउँभरीका मानिसहरू सप्ताह सुन्न भेला भएका थिए । फागुनको अन्त्यतिर सबैको फुर्सद अनि न्यानो मौसम थियो । भर्खर आरती सकिएर बाचन शुरु हुँदै थियो ।
गाउँको हर्के कामी बिहानै देखि भेटे रक्सी नत्र जाँड भए पनि खाइदिन्थ्यो । उसको नियमितता बर्षौदेखी टुटेको थिएन । गाउँमा लागेको सप्ताह बाहुनका उपदेश सुन्न जाउ भनेर बुढिले कचकच गरिरहेकोले आज उ पनि मण्डपको नजिक पुग्यो । धुपबत्ति र फूलको सुगन्धले छोपिएको थियो । उ बिस्तारै मण्डप घुम्न थाल्यो । चौकामुनी वरिपरि बसेका भक्तजनहरुले गुन्द्रीको बिट फर्काएर उसलाई बाटो दिए ।
उसले खाएको जाँडको गन्धले सबैले नाक खुम्च्याए । उ अबुझ थिएन । उसले लगाएका लुगा पनि सुकिला थिएनन् । आवाज सुन्नु न हो भनेर उ कसैलाई नछुने गरि छेउमा बस्यो । उसले हातमा फूल लिएर स्थापना गरिएका मुर्ति र पुस्तकमा चढाउन जाँदा सबैले ठुल्ठुला आँखाले हेरे । उसले बुझ्यो उ केही नभनी हातको फूल हातैमा लिएर प्रार्थना मुद्रामा बस्यो ।
केही बेरमा बेदकुमारी साहुनी फूल प्रसाद लिएर मण्डप घुम्न आइ पुगीन् । टपरीमा फूल धुपबत्ती र पचासको नोट टाढैबाट देखिन्थ्यो । अघि भर्खर हर्केले बेदकुमारीलाई रक्सी किन्दा दिएको नोट देखेर हर्केले घुटुक्क थुक निल्यो । स्थापना भएका देउता र पुस्तक घुमाएर बेदकुमारीले टपरी पण्डितकै हातमा दिइन् ।
रक्सी जुठो र गन्हाउने भए पनि रक्सि बेचेको पैसा पवित्र भएको देखेर हुर्केको ध्यान प्रवचनसँग मनमनै प्रतिवाद गरिरह्यो ।