कथा : मोक्ष
Sunday, February 27th, 2022, 11:45 am
Kalpristha
फाल्गुण महिना जाडो याम सकिँदै गएर दिन लामा र रापिला हुदैँ जाने समय । दिन घमाइलो हुदैँ जाने र रात छोट्टिदै जाँदा बिहानको समयमा चहल-पहल सडक पेटीमा बाक्लै हुने गर्छ । लामो मर्निङवाक गर्नेहरु बीच मेथ्लाङको डाँडोमा सुर्योदय अगाडि पुग्ने अघोषित प्रतिस्प्रधानै चलेको हुन्छ ।
कोभिडको दोस्रोेेेे लहरपछि बजारमा अलि-अलि चहलपहल आएको जस्तो लाग्दथ्यो । आधा जनमानसले त माक्स पनि लगाउन छोडिसकेका थिए । ओमिक्रोनको लहर त यस्तो आयो कि सबैले फेरि माक्स लगाउन थाले । यसको कहरबाट कोही पनि अछुत रहेन होला । सबैले छ दिने रोग भन्न थाले ।
हाम्रो जम्बो टोली पनि फर्केर सृजनाचोक आईपुग्दा पातलो भैसकेको हुन्थ्यो । म सृजनाचोकको मेडिकल पसलमा औषधी लिन पस्दै थिएँ ।
पछाडिबाट चिरपरिचितजस्तो लाग्ने स्वर आयो ।
‘ए ..भिनाजु..!’
‘भिनाजु !’
केसरिया वस्त्रमा पाँच-छ जनाको टोलीबाट गोलो मुखाकृति भएकी पचासको नेटो काटेकी अधबैँसे महिलाले मुस्कान पस्किदै नजिकै आएर भनिन् ।
‘चिन्नु भएन र भिनाजु…?’
‘म सीता ! ’
उनको शिरदेखि पैतलासम्म सरर नजर लगाएँ मैले । एकछिन हेराहेर भयो, म जिल्ल परें र सोधेँ ।
‘के ! हुलिया बनाएको यस्तो ? केसरिया वस्त्रमा,सन्यास लियौ र?’
‘त्यस्तो त होइन । वस्त्रमात्र होइन, मैले सोंच नै बदलेँ । जीवनको लय र जिउने कला फेरेँ । मसंग अब चिन्ता गर्नु पर्ने केही छैन । मुक्त भैसकें म । द्वेषभावबिनाको उन्मुक्त जीवन बाँच्दै छु । जेमा पनि रमाउन सक्ने भएकी छु । हेर्नु मलाई फरक देख्नुहुन्छ होला, नि?’
बाटो काटेर अगाडि पार्कमा लाग्याँै हामी कुरा गर्न । आत्मीक सुखले दिएको शान्तिले उनको अनुहारमा छाएको कान्ति अति मनोहर थियो । वैँसमा पनि मैले यस्तो चमक उनमा देख्न पाएको थिईन । चियाको चुस्की लिदैँ म यिनको बिगततर्फ फर्किएँ ।
— — — — — — — – — — — — — — — — – — — — — — — — — — – — — — — — — — — – — —
तीस बर्षअगाडि बागलुङ बजारमा जागिरको पोष्टिङ् भएर जाँदा पोखरादेखि लामो पैदल यात्रा तय गर्नु परेको थियो मलाई । एक दुई वटा बाहेक बाग्लुङ बजारमा पक्की ढलान घर थिएनन् । धुले मोटर बाटोको कालिगण्डकी किनार मालढुङ्गासम्म रेखा बनेको थियो । मालबाहक डम्फर कुश्माबजारसम्म देखिन्थ्यो । कालिगण्डकीमा फलामे अस्थाई पुल हाल्ने तयारी भैरहेको थियो । अगाडि नदी किनार जहाँ बोटे र माझीहरुको बस्ती थियो, त्यहाँ लश्करै अस्थाई छाप्रा हालेर बजारको विकास भैरहेको थियो । बजार उक्लिने बाङ्गेचौरको भिरमा चाईनिजहरुले बाटो खन्ने क्रममा बम ब्लाष्ट गरिरहन्थे । त्यसको आवाजले बजारसम्मै थर्काउथ्यो ।
हस्पिटललाईनको मेरो डेराअगाडि काँचो इट्टाको टिनको छत भएको एक तले घरमा यिनको गृहस्थी चल्ने हिसावको एउटा पसल थियो । मौसमी तरकारीका आइटमसहित ठूलो खेलोको नभए पनि दैनिक जीवनयापनका सामानहरु पाइन्थे पसलमा । पसलको एउटा कुनोमा बालक सुताउने चोयाको कोर्को थियो । कोर्कोको बिटमा डोरी बाँधेर वरैबाट हल्लाउन मिल्ने बनाइएको थियो ।
बालक रोएको बेला बसेको ठाँउबाट डोरी तानेर हल्लाइरहन्थिन् उनी । सुत्केरी पछिको भरिएको पुष्ट र सुडौल शरीर, मिलेको उचाई, गोलाकार मुखाकृति भित्रको आलोकले यूवाहरुको दृष्टिमा यिनी लोभलाग्दी थिइन् ।
कार्यालय समय अगाडि र पछाडि दाँयाबाँयाका पसलमा भन्दा प्रायः यही पसलमा भीड देखिन्थ्यो । रसिला केटाहरु कुनै न कुनै निँहुमा त्यहीं झ्याम्मिएका देखिन्थे । अधबैंसे महिलाहरुले सामान किन्दै गर्दा एकाध पटक ‘ए ! नानी ! बालकसंग यो पसल कसरी धान्ने हो? सकिन्न ! गाहृो हुन्छ, जहानलार्ई बोलाऊ । स्वास्नी र बालक छोडेर हिड्ने कस्ता होलान्?’ यस्तैयस्तै भनेको बाटोमा हिड्दै गर्दा सुनिन्यो । एक त गरी खानेको डाहा गर्ने समाज त्यसैमाथि बालक सहितकी तरुनी महिला अरु पसलेहरु र वरिपरिकाको लागि चासोको पात्र भएकी थिइन् उनी ।
डेराअगाडिको पसल कामले पनि आउजाउ भै रहन्थ्यो । खाली समय सामान किन्ने बहाना बनाएर जाँदा समय बितेको पत्तै हुँदैनथ्यो । यिनी पनि बिस्तारै कुरा गर्न खुल्दै गएकी थिइन् । प्रायः उदास मुडमा देखिने यिनी बिस्तारै मसंग धक फुकाएर कुरा गर्न थालेकी थिइन् । तर घर परिवारको बारेमा प्रसङ्ग आयो भने कुरा अर्कैतर्फ मोड्थिन् । यिनको पारिवारिक स्थिति चाहेर पनि बुझ्न सकेको थिइन मैले । छिमलकी भएर पनि होला कुरा गर्दा दुबै रमाउने बातावरण बन्दै गएको थियो । पछिपछि नभेटिएको दिन मनमा खालीपनको आभास हुन लाग्यो । ओझेल नपरुन्जेल हेरिरहेको चाल पाउंँदा कहिलेकाही दुबैलाई लज्जित बनाउँथ्यो ।
अरु कुरा लक्ष्मणरेखाभित्रै थिए ।
म यिनलाई सीता भनेर बोलाउथेँ, यिनी मलाई अफिसको हिमाल सर भन्थिन् । यसै गरी दिन बितीरहेका थिए । एकदिन सामान किन्दै गर्दा सोधेको थिएँ—
‘यो बालकको बाबु देख्दिन, नि !’
‘कता हुनुहुन्छ ?’
‘इण्डीयातिर मरेका छन् रे ! ’
उत्तर आयो यस्तो । अगाडि कुरा बढाउन कडी नै मिलेन । उसै बेला गाँउबाट डोकोमा तरकारी बेच्न ल्याउनेहरुले पसलअगाडि भारी बिसाए । उनको चासोे तरकारीतिर भएकोले म फर्केँ । प्रश्नका अरु कुतुहलहरु मनमै रहिरहे ।
ओछ्यानमा पल्टिएर मनमनै सोचेँ — यस्ती कलिली श्रीमती र सानो काखे बालक छोडेर किन गएको होला इण्डिया? यिनको बुढा भाग्यमानी हो कि मुर्ख?…., मनले परख गर्नै सकेन । एक मनले कति चासो गरेको हो ! भने जस्तो लाग्यो अनि आफ्नै दिनचर्यामा लागेँ ।
समय आफ्नै लयमा हिडिरहेको थियो ।
बागलुङबजारदेखि पश्चिम बुर्र्तिबाङमा हाकिम बनाएर पठायो अफिसले मलाई । उनलाई यो कुरा हिड्दाको दिन भनुँला भनेर बसेको थिएँ । मेरो हिड्ने दिन त उनको पसलनै बन्द रहेछ । थकथक लागेर आयो । मनभित्र अनौठो उकुसमुकुसले मलाई पछ्याइरह्यो बुर्र्तिबाङतर्फ लाग्दा । समय बित्दै गएपछि चासोपासो पनि हराउँदै गयो ।
उक्त क्षेत्रबाटै सरुवा भै फँर्कदा रात्रीबसको टिकट बुकिङ गरेर समय बिताउन बजार घुम्न लागेँ । मनको कतै कुनामा यिनी अझै बसेकी रहिछिन् । याद आयो । खुट्टा त्यतैतिर तानिदै गए ।
पसलमा पुग्दानपुग्दै उनैले मुस्कानसहित नमस्कार गरिन् । मनमा खसखस भैरहेको बेला त्यो आत्मियताको स्वागतले म भित्रभित्रै मजुर नाँचेझै भएँ । ठाँउअनुसार नयाँनयाँ बानाका सामानहरु भरिभराउ पुजींको बढोत्तरी देखेर मातृ शक्तिप्रति गर्व लागेर आयो । मौन रुपमा भएको हेराहेरलाई उनैले बिट मार्दै सोधिन् :—
‘लामो समय सरलाई देखिनँ, कता जानु भएको थियो? तपाईको घरभेटीलाई सोधेको थिँए । सरुवा भएर बुर्तिबाङ हो कि? तमान भनेका थिए ! निष्ठुरी हुनु भएछ, एक पटक पनि याद आएन?’
अपराधबिनाको अपराधीजस्तै मुटुमै एकैपटक चस्स भयो । समालिदै आमुन्नेसामुन्ने भएर मनका कुरा राख्न बाटो फुके जस्तै भएको थियो । मनका कुरा भन्न गलासम्म आइसकेका थिए । उत्निखेर भित्रबाट छ बर्ष जतिको बच्चाको हात समाउँदै अन्दाजी पैतिस कटेको हेर्दै चिम्सो आँखा गडेको, ख्याउटे अधवैँसे मान्छेले मेरो नजिकै आएर ‘को हुनुहुन्छ ?’ भनेर सोधे ।
मैले ‘पङ्गाली साहुथर घर, फलानोको छोरा नाती’ सबै खुलाईदिएँ । ‘हालको बसाई मधेशतिर छ, जागिरको सिलसिलामा यतैतिर थिएँ’ भनि दिएँ ।
यी मानिस एकछिन सोचमग्न भए । मलाई वसन्त ऋतु हराएर शिशिर ऋतु आएजस्तो भान भैरहेको थियो ।
यिनले सोधपुछ गर्दै नाता खुट्टाउन थाले । ‘हैन, तपाईको मावली खलकमा हाम्रो बैनी दिएको छ । हाम्रा फलाना भिनाजुलाई तपाईले के भन्नु पर्छ ?’ सोधे ।
मैले ‘दाजु भन्नु पर्छ, जेठो मामाको कान्छो छोरा गाडीलाईनमा हिड्छन्’ भनेँँ ।
‘ए ! उसो भए हामी त साला भेना पर्ने रहेछौँ ।’ भन्दै खिस्स हाँसे । बिजुली खैनीले बनाएको पहेँला दाँत र खैनीको बुझो फिस्स देखियो । थुक्न भनेर साला जुरुक्क उठेर बाहिर लागे । हामी दुईको हेराहेर भयो । असजिलो मान्दै उनैले भनिन् :—
‘न जाँडरक्सी छोड्छन, न खैनी पानपराग, न पसलनै धानेर चलाउँछन् । कमाईधमाई केही छैन, अझै धाक ठुलो हुन्छ सुुुकुलगुण्डोको । यस्ता असत्तीसित लगनगाँठो जोडियो’ बिरक्तिएका भावमा…….ख्युइ्य……….
उनी आफ्नै सुरमा बोलिरहिन् — ‘अरु बैनी कस्ताकस्ता संग परे ! स्कुल सकेर बाग्लुङ् क्याम्पस पनि पढी कान्छीले त । म जेठी गोरु जोतिए सरी काम गर्नु पर्ने । आठ कक्षामाथि पढ्न पनि दिएनन् । याद आउँछ, पिढीँमा काम्लो बिछ्याएर टिकाटालो गरी दही खुवाएको त्यो कालो दिन । चौध बर्षकीलाई बिहे गरेर लखेट्ने हो त, भिनाजु? बाउआमा नै बैरी हुन् मेरा । के देखेर दिए?……अन्धै रहेछन् ।’
यिनको कुराले मेरो शरिर एकैपटक बरफ जमेजस्तो भयो । भाङ्ग्राको गाँजोमा गुँयलाको फुलजस्तो यो जोडीसंग अर्थ न बर्थ गोविन्दगाई भने जस्तो बसिरहनुको अर्थ देखिनँ । गाडी छुट्ने समयभै सकेको थियो । एक बोतलपानी र खाजाका सामान किनेर फर्किन लागेँ । लाख कोशिस गर्दा पनि पैसा लिन मानिनन् । बालकको हातमा सगुन भन्दै राखिदिएँ । फर्किदै थिएँ, कानमा आवाज पर्यो-
‘न भुल्नुहोला है ! ’
चारो खोज्न गएको चरी आफै चारो भएजस्तो भयो । यिनका शब्दशब्दले बसपार्क नपुगुन्जेल शरिरलाई झङ्कृत पारिरहे । बसको सिटमा ज्यान फालेर बसेँ । दुध उम्लिए जसरी उम्लिएको वेदना त देखियो । उम्लिन बाँकी अझै कति छ? परख गर्न सकिएन । बस हिँडेको पनि गम भएन छ । कालिका मन्दिरको गेटनेरको घुम्तीमा आइ पुगिएछ । मनबाटै देवीलाई प्रणाम गरेँ । धौलागिरिको हिँउलाई चुमेर आएको हावाको चिसो सिरेटो झ्यालको चरचरबाट भित्र पसेको थियो । यो अनमेल जोडी श्राप हो कि आशिर्वाद हो? बसको गतीसंगै मनमा यस्ता अनेक तर्कना आउँदै जाँदै गर्न थाले । कसैकसैको निम्ति त भगवान पनि बैरी हुँदा रहेछन्, यात्रा भरीको ठम्याई यही रह्यो ।
— — — — — — — – — — — — — — — — – — — — — — — — — — – — — — — — — — — – — —
लामो अन्तरालपछि सीतासंग भरतपुर क्यान्सर अस्पतालमा भेट भएको थियो । हामी आफन्तको औषधि मुलोको लागि क्यान्सर हस्पिटलमा आएका थियौं । डाक्टरको प्रेस्किप्सन हातमा लिएर म औषधि लिन भर्याङ झर्दै गरेको बेला भेटेको थिएँ उनलाई । यिनको शरिर थकित र कमजोर देखिन्थ्यो । पहिले देखेको चमक कतै थिएन । लवाई पनि असरल्ल थियो । आँखाका चेप र नाकका पोरा सकसकाउदै यिनी बोल्न खोज्दै थिईन । ‘औषधि लिएर आउँछु अनि कुरा गरौंला है सीता !’ भनेर म अगाडि बढेँ ।
फर्कदाँ यिनी दोस्रो तलामा पर्खेर बसेकी थिइन् ।
‘हस्पिटललाईनमा हाम्रो चियापसल छ । त्यतै जाउँ कुरा गरौँला’ भन्ने आग्रहलाई स्वीकार गर्दै पछि लागेँ म । जेठको महिना उखरमाउलो गर्मी थियो । बिरामी र आफन्तका भीडले अस्पतालको परिसरमा जात्राजस्तो कोलाहल थियो ।
एक नम्बर गेट अगाडिको सटरमा बाटो क्रस गर्दै हामी पुग्यौं । मैले चारैतिर नजर दौडाएँ । दश बाह्र जना चियानास्ता गर्न मिल्ने ठाँउ, र्याकमा बिस्कुट र चाउचाउका पोकाहरुसहित अरु सामानले भरिएका भित्र दुई वटा सुत्ने कोठा सहितको ठाँउ रहेछ ।
‘भिनाजु, चिया कस्तो, चिनी के गरौं?’ भन्दै म बसेको टेवलको वारपार हुने गरि बसिन् उनी । दुधवाला चिया, चिनीसहित….भनेँ । किचनको सहयोगीलाई बनाउन लगाईन् ।
पछिल्लो भेटपछि ठूलै उतारचडाव आएको लख काट्न गाहृो भएन । पहिले देखेको उनको लालिपन र अहिलेको कालीपनले स्तब्ध बनायो । घामले भन्दा पीरले पोलेको देखेर म आफै पिलपिल भएर सोधेँ-
‘कसरी भयो यस्तो ?!’
‘व्यापार राम्ररी चलेको थियो । दुईवटा घडेरी जग्गा ऋणधन गरेर बजारकै रामरेखामा किनेका थियाँै । के जानी, के भयो? पसलमा एक्कासी राती आगोलागी भयो । सबै सकियो केही बचेन ज्यान बचाईयो । त्यो दिनदेखि ओहृालो लागेको लाग्यै भयो ।
साहु फस्र्याउनै पर्यो, आसामी उठ्नै छोड्यो । जोडेको घडेरी बेचेर ऋण धन मिलाइयो । आजसम्म अडाउन सकेको भए करोड पर्ने रहेछ । दुखीलाई कसैगरी हुन्न ।
लहलहमै लागेर नौ कक्षा पढ्दा पढ्दैको छोरो माओवादीमा लागेछ । शुरुमा थाहा नै पाईएन । नाताले काका पर्ने नेता भएर हिंडेका थिए । त्यस्तो बालकलाई नै फकाएर लगेका रहेछन् असत्तीहरुले । छोरो त्यता लागेको थाहा पाएपछि मुटु ढकढक मात्र हुने राती निद्रा पनि लाग्न छोड्यो । आर्मी पुलिसले थाहा पाएछ । खानतलासी लिन थाले । इष्टमित्र पनि टाढाटाढा हुन थाले । बसिखानु भएन । त्यताको लट्टीपट्टी पारेर यतै चियापसल थापेर बस्यौँ । युद्वबिराम भएपछि छोरो लामो समय सम्पर्कमा आएन । बुझ्न लाग्यौं प्रशासन, आर्मी पुलिस र नेताहरु । काका भन्ने बेनीको लडाईंमा मरेका भन्ने थाहा लाग्यो, छोरोको बारेमा कसैले बेनी भने, कसैले ज्यामिरेघाटको कालिगण्डकीमा जिउदँै…….। ’
बुर्तिवाङबाट फर्किदा हातमा सगुन राखिदिएको बालकको याद झलझली आयो । यिनको आखाँमा नजर लगाएँ, पानी डबडब भएर पोखिन बाँकी रहेको । बस्न सकिनँ, उठेर चिया भएन भन्दै किचनतर्फ लागेँ ।
चियाको सुर्को धीत मरुन्जेल पिएर सोँधे –
‘भाइ खै ! त आजभोलि?’
‘कहाँ हुने हो ,अस्पतालको बेडमा नि । किमो दिएर राखेको छ । तिनवटा कोर्स पुरा भयो, अझै तिनवटा कोर्स पुरा गर्नु पर्छ भनेको छ डाक्टरले । फोक्सो त ड्यामेज भैसकेको छ रे’
न भन्नेलाई भनिसाध्य, न सुन्नेलाई सुनिसाध्य, कुरा सुन्दा नै भाउन्न भएर आयो ।
भर्खरै टेलिकमले मोबाईल सेवा सुरु गरेको थियो । सानो फुच्चे नोकियाको सेटमा टिरिलिङ्ग गर्दै घन्टी बज्यो । कुरुवा बस्ने दाजुको फोन रहेछ । ‘भेट्दै गरौंला, म यतै हुन्छु’ भनेर बिदावादी भै म अस्पताल फर्किएँ ।
भोलिपल्ट सेमी वार्डको बेडमा बिरामीसंग भेट भयो । एप्रोन लगाएर भेट््नु पर्ने रहेछ । किमो चलाएको बेला उच्च संवेदनसिल मानिदो रहेछ । किमोको कारणले कपाल झरेर टाउको चिण्डे र ज्यान शिथिल भएको बिरामीले मलाई चिनेको आभास दिए । खासै कुरा हुन पाएन । सामान्य अवलोकन पश्चात म निस्किएँ । उनी पनि एकछिनपछि निस्किईन् ।
बिरामी कुरुवाकक्षको बेन्चमा म सुस्ताएँ । एछिनपछि उनी पनि आएर बसिन् । कक्ष लगभग खालि थियो । शुण्य नीरवरतालाई चिर्दै मैले सोधेँ ।
‘डाक्टर के भन्छन् नि ?’
‘छ वटा कोर्स पुरा भएपछि थाहा हुन्छ । क्यान्सरको केशमा आत्तिनहुदैन । स्याहारसंभारको बढी आवश्यकता हुन्छ । धैर्य गर्नुहोस् भन्छन् ।’
कुरा त सही हो । यस्ता बिरामीहरु सन्चो भएर गएको उदाहरण दिँदै उनको मन बलियो बनाउने भग्मग्दुर चेष्टा गरें । समय र परिवेशले लघारेर भित्तैमा पुर्याएका मानिसहरुलाई सानो मल्हमपट्टीले काम गर्दैन हृदय नै पाषाण हुन्छ भन्छन् त्यस्तै सानोतिनो आश्वासनले काम गरेको देखिन मैले ।
उनको अनुहारमा एकोहोरो टक लगाएर हेरिरहेँ । उनको मनभरि ठूलो द्वन्द र क्लेश छ घरपरिवारप्रति । असिम घृणा छ स्वास्नी बनाउने लोग्ने पात्रप्रति । गहिरो सुख्खा सागर छ चाहनाहरुको । भवसागरको बीचमा पौडिरहेकी छन् यिनी । मानौं जिउँदो माछो तावाबाट उछिट्टिएर तलाउमा पुग्न खोजेजस्तो ।
‘किन यसरी हेर्नु भएको , भिनाजु? म त थोत्री भएँ थोत्री । मलजल नपाएको, गोडमेल नपाएको टारी खेतजस्तो , बञ्जर ….। बागलुङ् हुँदा कस्ती थिएँ, आज कस्ती भएँ’ ।
‘घर पनि घरजस्तो थिएन । रातदिन कामैकाम हुन्थ्यो, पेटभरीको माम थिएन । खप्नै नसक्ने डहन थियो । जसको लागि जन्मघर त्यागेर आईयो उही भौतारिएर हिँडेको छ । अनि घरको र छिमेकको हेलाँ त्यसै हुने भोे । ईख राखेर एक्लै बजार झरेँ । राम्रै भएको थियो । आजभोलि त्यो हिम्मत कहाँ पाउनु ?’
‘घरवार राम्रो नभएपछि आमाबाले गल्ती गरेको महशुस गर्नु भयो । गोटा खेल्दै गरेकी छोरीलाई जग्गेमा अन्माउने अपराधी हौ भनेको थिएँ हाकै । पछि मन मिल्ने पाए विचार गर नातीलाई समाल्दिउँला भनेका थिए । ……पनि सकेँ दैलो पनि देखेँ भनेजस्तो । जमाना आजको जस्तो खुला थिएन, लोकाचार बढी थियो । गाईको कानमा ट्याग लगाएकीजस्ती म बिवाहितालाई कसैले भन्न पनि गाहृो । मन साटासाट भए पो भन्नु । साटासाट हुनै पाएन । मनले कल्पेर बसेका त थिए एक दुई जना, छाडा भएर भन्न पनि सकिएन । अब त आसे राँड हुनुभन्दा खासा राँड हुनु जाती, के बाँकी रह्यो र ?’ भन्दै लामो सुस्केरा हालिन् उनले ।
कुरा सुन्दै म एकछिन सन्न भएँ । मन्दिरमा बज्ने घण्टाकोे ध्वनिको उतारझैं शब्द-शब्दको ध्वनि मस्तिष्कमा ठोक्किदै हराउन थाले । प्रसङ्ग पाइएन, वाक्य पनि फुटेन…..।
पसल जान ढिला भो भन्दै उनी उठिन् । गहृ्रौ गोडा लिएर म पनि आफ्नो वार्डमा आएँ ।
भुगोलको केन्द्रमा भएर होला अस्पतालमा चाप बढी भएको देखिन्थ्यो तर राम्रा बिशेषज्ञ डाक्टर राजधानीमै बस्ने आक्कलझुक्कल महिनाको दुई चार पटक आउने गरेको सुन्न पाइयो । डायग्नोसिसका राम्रा मेशिन छन् भने पनि खै ! हामीलाई चित्त बुझेन । बिरामी लिएर भोलिपल्टै राम्रो उपचारको लागि राजधानी हानियौं ।
— — — — — — — – — — — — — — — — – — — — — — — — — — – — — — — — — — — – — —
आज नयाँ गेटअपमा देख्दा भ्रमित भै अनौठो लाग्नु स्वभाभिक थियो । अब यिनको बिगत जान्नुको मलाई कुनै उत्सुकता थिएन । बिगतमा होइन आगतमा यिनलाई पढिरहेँ । यिनको कुरा गर्ने शैलीको ओज र शब्दहरुको घनत्वले मलाई द्रवीभूत बनायो । कालिगण्डकीको ढुङ्गा ठोकिदैठोकिदै शालिग्राम भएजस्तो ।
यिनी एउटा सामाजिक संस्थामा आबद्वभै परोपकारी कामको लागि खटेकी रहिछिन् । दुःख र सुख भन्ने कुराहरु मनका रहेछन् । वास्तविक जीवन त कुन शैली र लयमा जिउने भन्ने कलामा रहेछ । यस्तै सन्देश दिदैं बिदा मागिन् । यिनमा आएको निखारले म दङ्ग परिरहेँ ।
बाटो पार गर्न उनीहरु आकासे पुलका तलाहरु चड्दै गए । विकाररहित सत्मार्गको यात्रामा हिँडेकी निश्छल प्रतिमुर्तीको चढाई हेर्दा महाभारतकालिन पाण्डवहरुको हिमालयपर्वत तर्फको यात्राको अनुभुत भैरह्यो ।
ओझेल नपरुञ्जेल हेरिरहेँ यो कैवल्य प्रस्थान । मनमा अपार शान्तिको अनुभुति भैरह्यो । प्रार्थना गरेँ — दिव्य रहोस् सीता ! तिम्रो यो मोक्षको यात्रा ! ’