प्रधामन्त्री कप भलिबल चैतमा
Wednesday, March 9th, 2022, 8:43 pm
Kalpristha
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता यस बर्ष चैत महिनाको दोस्रो साता हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । प्रधानमन्त्री कप यसपटक चैत १० देखि १५ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्डहलमा हुनेछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको हो । यसअघि यो प्रतियोगिता फागुनको अन्तिम साता हुने गर्दथ्यो ।
प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास भैरहेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए । प्रतियोगितालाई निकट भविष्यमा दक्षिण एशियाली क्लब च्याम्पियनसीपका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने आयोजकले बतायो । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई सहभागि गराउने प्रयास भइरहेको छ । यसअघि भारतीय चर्चित क्लबका साथै बंगलादेशको टिमले समेत यस प्रतियोगितामा सहभागिता जनाइसकेको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथो संस्करणमा रेलवे इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिसले उपाधि जितेका थिए । प्रधानमन्त्री कपको सातौं संस्करणमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो ।