उत्साह जनक देखियो हात्तीपाइले अभियानको सुरुवात
Saturday, March 12th, 2022, 9:15 pm
Kalpristha
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमको पहिलो दिन बाँकेमा उत्साह जनक रुपमा अभियानको प्रभाव परेको छ । बाँकेको आठै पालिकामा शनिबार देखी हात्ती पाइले रोगको लागि औषध खुवाउने अभियान सुरु भएको छ ।
पहिलो दिनमा आठै वटा पालिकाबाट पुर्व विवरण आएको छैन । तर प्रारम्भिक रुपमा आएको रेकर्ड अनुसार बाँकेमा उत्साह जनक रुपमा अभियान सुरुआत भएको जिल्ला स्वास्थ्य कार्यालय बाँके प्रमुख धिरजंग शाहले बताए । उनले भने,‘विगतको वर्ष भन्दा यस वर्षको अभियानलाई प्रभावकारी बनाउनु पर्ने हामीलाई चुनौति थियो । आज पहिलो दिन जनप्रतिनिधि ज्युहरु, सरकारी निकायका प्रमुखबाट औषधी खाएर यस अभियानको थालनी गरिएको छ । यसले राम्रो प्रभाव देखाएको छ । यसअघिका वर्षमा औषधी नखाएका व्यक्तिले पनि आज खानु भएको छ ।’
शनिबार अबेर रातीसम्म आंशिक रुपमा सबै पालिकाको रेकर्ड प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी हात्तीपाइले फोकल पर्सन दुर्गा गौतमले बताइन ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा ५ लाख ६८ हजार ३९ जनालाई औषधी खुवाउने कार्यक्रम छ । पहिलो दिनमा बुथ मार्फत अभियानको सुरुआत गरिएको छ । दोस्रो चरणमा स्वास्थ्यकर्मीले घर–घरमा गएर औषधी खुवाउने छन । त्यसका लागि ५ सय ६० स्वास्थ्यकर्मी ७ सय ८९ महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको प्रमुख शाहले बताए ।
शनिबार नेपालगन्जका विभिन्न बुथमा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुना,जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, नेपालगन्ज उप–महानगरपालिका उपप्रमुख उमा थापा मगर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारी लगायतले औषधी खाएर अभियानको सुरुआत गरेका थिए । यसपटक उचाईका आधारमा पनि औषधी दिइएको छ । विगतमा दुइ औषधीसँगै एक थप गरिएको छ । यसपटक डाइथाइलकार्बामाजिन, अल्डेबन्डाजोल र आइभरमेक्टिभ रहेका छन ।
हात्तीपाइकले फोकल पर्सन गौतमका अनुसार जानकी गाउँपालिकामा पहिलो दिन ६ हजार १ सय १२ जनाले र कोहलपुरमा ६ हजार ७ सय ५४ जनाले औषध खाएका छन ।
यसैगरी नेपालगन्जमा १३ वडाको रिर्पोटमा ४ हजार औषधी खाएको नेपालगन्जका हात्तीपाइकले फोकल पर्सन बिनोद विकले बताए ।