गठबन्धन तिनै तहको निर्वाचन सम्म हुन्छः मन्त्री कार्की
Sunday, March 13th, 2022, 1:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ फागुन
नेपाल सरकारका प्रवक्ता एवम् संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिलेको सत्ता गठबन्धन तिनै तहको निर्वाचन सम्मलाई कायम रहने बताएका छन ।
आगामी तिनै तहको निर्वाचनमा यसले निरन्तरता पाउँने बताउँदै मन्त्री कार्कीले कानुनी शासन, सुशासन र संविधान रक्षाको लागी एउटा विशेष परिस्थितीमा विशेष उद्देश्यका लागि गठबन्धन निर्माण भएको बताए ।
नेपाल प्रेस युनियन बाँकेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘यो गठबन्धन तिनै तहको निर्वाचन सम्म हुन्छ । तपाईहरुले भन्नुहोला तालमेल कसरी गर्नु हुन्छ । यसलाई आवश्कताका अनुसार वास्तविकतालाई गम्भिर रुपमा विश्लेषण गरेर हामी अगाडी बढछौं ।
हाम्रो डर एउटै मात्र हो । समाजलाई एकताबद्ध गराएर शान्तिपुर्ण र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गरेर जनताको नयाँ जनआदेश अनुसार सरकार निर्माणको वातावरण बनाउनु ।’
नेकपा एमाले विरुद्ध यो गठबन्धन नगरेको प्रष्ट पार्दै मन्त्री कार्कीले थपे, ‘यो गठबन्धन कसैका विरुद्धमा गरिएको गठबन्धन होइन । यो कुरा धेरै अगाडीदेखी सम्मानीय प्रधानमन्त्रीले भनिसक्नु भएको छ । गठबन्धन मुलुकको एकता र स्थितरताको लागि हो । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले कार्यकर्ताको मात्र भावना होइन सिंगो देशका जनताको भावना अनुसार चल्छ । कांग्रेस आफनो विधि र विधान अनुसार चल्छ ।’
नेपाल अब चुनावी वर्षमा प्रवेश गरेको बताउँदै मन्त्री कार्कीले बैशाख ३० गते हुने निर्वाचनलाई उत्सवका रुपमा मानेर आफनो अभिमत प्रकट गर्न सबै जनतालाई अनुरोध गरेका छन ।
‘स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तर्फ मुलुक अगाडी बढदैछ । अबको नेपाललाई कसरी अगाडी बढाउने । नेपाली जनताको समृदीको चाहनालाई कसरी पुरा गर्ने भन्ने बारेमा गम्भीर भएर सोच्न म पार्टीका साथीहरुलाई आग्रह गर्दछु, उनले भने,‘अहिलेको आवश्यकता भनेको राजनिति स्थितरतालाई चिर्दै प्रकृतिले जे उपलब्ध गराएको छ, त्यसलाई प्रयोग गरेर देशलाई धनी बनाउने, समृद्ध बनाउनेमा अग्रसर हुनु पर्छ ।’
एमसिसि परियोजना अमेरिकन सरकारले दिएको एउटा आर्थिक सहयोगको परियोजना मात्र भएको मन्त्री कार्कीले स्पष्ट पारे । उनले थपे, ‘यो विशुद्ध आर्थिक सहयोग परियोजना हो । यस परियोजनाको रकम देशको भौतिक पुर्वाधार विकास गर्न, देशको गरिबी निवारण र आर्थिक विकास गर्ने लक्ष्य छ । म पत्रकार साथीहरुलाइ अनुरोध गर्न चाहन्छु । यो जनताका लागि किन आवश्यक छ भनेर तपाईहरुले जनतालाई बुझाउनु प¥यो । यसका बारेमा धेरै भ्रमपुर्ण अभिव्यक्तिले यसलाई नकारात्मक रुपमा लिइयो ।’