अन्तरघात भुलौं,कांग्रेसलाई नभुलौं : केसी
Sunday, March 13th, 2022, 8:50 pm
Kalpristha
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले पाटीलाई संगठित बनाउँदै आगामी निर्वाचनमा प्रमुख शक्तिका रुपमा स्थापित गर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुले अन्तराघातलाई भुल्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसले सुरु गरेको ‘घर–घर जाउ, कांग्रेस जिताऔ’ अभियान अन्तर्गत नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले आइतवार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य केसीले पार्टीका नेता तथा कार्यकर्ताले अन्तरघातलाई भुल्दै कांग्रेसलाई नभुल्ने दृढ संकल्प गर्नुपर्ने बताए । उनले विगतका निर्वाचनमा गरिएको अन्तरघातको पाप मनदेखि पखालेर अभियानमा जोडिन समेत आग्रह गरे ।
‘पार्टीमा लागेका नेतालाई निर्वाचनमा आकाक्षा हुन स्वाभाविकै हो । तर निर्वाचनमा टिकक पाइन भनेर पार्टी विरुद्ध लाग्नु पाप हो’,कार्यक्रमका प्रमुख अतिथि केसीले भने,‘अव कांग्रेसलाई हराउने पाप कसैले गर्न हुन्न । पार्टीले ढुंगालाई उम्मेदवार बनाएपनि जिताउने दृढ अठोट र संकल्प नेता तथा कार्यकर्ताले गर्नुपर्छ ।’ उनले त्यसका लागि कांग्रेसलाई टोलदेखि नै सवल र सक्षम बनाउन लागि पर्न आग्रह गरे । नेता केसीले कांग्रेसका विरुद्धमा जनतालाई एमसीसीको गलत व्याख्या गरेर भ्रममा पार्ने काम गरिएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको भनाई थियो ।
उनले एमसिसी विकासका लागि परियोजना मात्रै भएको भन्दै कुनै पनि हालतमा अमेरिकी सेना नेपालमा नआउने दावी गरे । ‘एमसीसी नेपालका लागि अमेरिकाले दिएको विकासका लागि सहयोगी परियोजना हो । एमसीसीले अमेरिकी सेना ल्याउँदैन’,नेता केसीले भने,‘ एमसीसीले विकास ल्याउँछ । यसमा ढुक्क हुनुहोस ।’ उनले एमसीसीको भ्रमलाई हटाउँदै जनतालाई बुझाउनका लागि कांग्रेसले अभियान सुरु गरेको भन्दै अभियानका क्रममा वर्तमान सरकारले गरेका राम्रा कामहरुसँगै विगत तीन बर्षमा कम्युनिष्ट सरकारले गरेका नाराम्रा कामहरुका बारेमा जनतालाई जानकारी गराउन ध्यान दिनुपर्ने बताए ।
नेपाली कांग्रेसका लुम्विनी प्रदेश उपसभापति राजु खनालले अभियानलाई जनताको घरघरमा कांग्रेसका कुराहरु लगेर जान नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले विगत तीन बर्षको अवधिमा स्थानीय, प्रदेश र केन्द्रका तीन तहमा कम्युनिष्ट सरकारले गरेका गलत कार्यहरुको भण्डाफोर गर्दै जनतालाई सचेता गराउनुपर्ने बताए । त्यसैगरी नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेयले कांग्रेसलाई संगठित र प्रमुख पार्टी बनाउने जनताको जिम्मा भएकाले जनताकाविचमा गएर कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्नुपर्ने बताए । कम्युनिष्टक कारण जनतामा कांग्रेसको नराम्रो भ्रम सिर्जना गरिएको भन्दै त्यसलाई चिर्ण आवश्यक रहेको बताए । नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य लक्ष्मी चौधरीले कांग्रेसलाई प्रमुख शक्ति बनाउन चोकचोकमा कुरा गर्न छोडेर जनताको घरघरमा नेता तथा कार्यकर्ताहरु पुग्नुपर्ने बताइन ।
उनले निर्वाचनको मिती घोषणासँगै सहरका चोकचोकमा रहेका चिया घरहरुमा बसेर फाल्ने समयलाई जनताको घरमा पुगेर कांग्रेसलाई सशक्त र संगठित बनाउनका लागि लगाउन आग्रह गरिन । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको थियो ।