१ सय बढीको ब्याज अनुदान फिर्ता
Wednesday, March 30th, 2022, 7:28 pm
Kalpristha
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारीमार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीतिअनुरुप ब्याज रकम फिर्ता गरिएको हो ।
युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका एक सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् ।
बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्धेश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्धेश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपौयाँ ब्याज अनुदान वितरण गरीएको हो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारीमार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीतिअनुरुप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्षसमेत रहेका मन्त्री अथकले गृहजिल्ला (बाँके) बाट ब्याज रकम फिर्ता अभियान सुरु गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अथकले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गरे । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करिब ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै मन्त्री अथकले रोजगारसँगै स्वरोजगारको उपाय अवलम्वन गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै उद्यमीहरुले स्वरोजगार कोषले कर्जामा समेत ब्याज अनुदान दिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नसमेत अपिल गरे ।
युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा रहेका ७२ वटा सहकारी र २६ वटा बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा ३६ करोड ५१ लाख बढी रकम लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । कोषले बाँकेका तीन हजार व्यक्तिलाई स्वरोजगार हुन मद्दत गरी रहेको अधिकारीले जानकारी दिए ।