प्रजातात्रिक योद्धा शर्माको निधन
Thursday, March 31st, 2022, 8:22 pm
Kalpristha
प्रजातान्त्रिक आन्दोलनकी अगुवा महिला सुशीला शर्माको निधन भएको छ । नेपाली काँग्रेस बर्दियाका पूर्वसभापति स्व. ज्ञानराज शर्माकी धर्मपत्नी शर्माको ८३ वर्षको उमेरमा बुधबार राति भेरी अस्पतालमा निधन भएको हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको शर्मा परिवारको जेष्ठ सदस्यको निधनले नेपाली काँङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको भन्दै काँग्रेस नेताहरुले शोक व्यक्त गरे ।
प्रजातान्त्रिक चिकित्सक संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रहेका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा.संकेत कुमार रिसाल, नेपाल विद्युत् प्राधिकरणका वरिष्ठ इन्जिनियर सुबोध शर्मा र मनोज शर्माकी आमा स्व. शर्माको सम्मानमा विहीवारनै कांग्रेसले शोकसभा गर्यो ।
शर्मा निवासमै पुगेका राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पार्टी सभापति नारायण गौडेल, निवर्तमान सभापति किरण कोइराला, पूर्वमन्त्री गजेन्द्र हमाल लगायतले स्व. शर्मालाई पार्टी झण्डा ओडाएर सम्मान गरे ।
श्रीमानलाई आन्दोलनमा सघाएर आफुपनि उत्तिकै सक्रिय स्व. शर्मा महिलालाई राजनीतिक सशक्तिकरणमा होमिएकी थिइन् ।
आगो सल्किएर घाइते भएकी शर्माको दुई सातादेखि भेरी अस्पतालमा उपचार भई रहेको थियो । उनको पार्थीक शरीरलाई बिहीबार अन्त्यष्ठी गरिएको छ ।